पुस्तक समीक्षा

अध्यात्मवाद र भौतिकवादको सन्तुलन

यो परिवर्तनशील जगतमा केही स्थायी छैन। हाम्रो समाज पनि बदलिइरहेको छ र, फलस्वरूप, हाम्रा सामाजिक सन्दर्भहरू पनि बदलिइरहेका छन्। त्यो निरन्तर चलिरहने बदलावले गर्दा हाम्रो सभ्यताले कुनै कालखण्डको सामाजिक सन्दर्भमा सकारात्मक परिणाम ल्याउन जन्माएका विचार र दर्शन पनि समयानुकूल परिवर्तनको अभावमा असान्दर्भिक जस्ता बन्दै जाने गर्छन्। त्यसैले हामीले मानव समाजको आन्तरिक र बाहिरि स्वरूपलाई प्रभाव पार्ने विचार र दर्शनका नकारात्मक एवं सकारात्मक दुवै पक्षहरूको वैज्ञानिक विवेचना गर्दै, समयानुकूल सुधार गर्दै र उन्नत बनाउँदै लैजानु पर्छ। नेपालमा पनि यसतर्फ प्रयत्न हुनु पर्छ र भइरहेका पनि छन्।

नेपालमा हाम्रा विचार र दर्शनका बारेमा बहुआयामिक विवेचना हुन थालेको मूलतः संवत् २००७ पछि नै हो। यो विवेचनाको चरणमा त हामी पस्यौँ तरअध्यात्मवादी र भौतिकवादीहरूले एक अर्कालाई शत्रु जस्तो ठान्ने स्थिति नै यहाँ लामो समयसम्म बाँच्दै आयो। तर खाँचो भने तटस्थ विवेचनाको थियो। फलस्वरूप, हाम्रो दार्शनिक यात्राले बृहत्, गहन र मिहिन बनेर उल्लेख्य फड्को मार्न सकिरहेको थिएन। लाग्छ, मैले यी दुवै कित्ताका चरित्रहरूको प्रत्यक्ष सहभागी बनेर अनुभव गरेको छु।

मलाई आज तटस्थ विवेचना नै बलियो हुँदै जाओस् भन्ने लाग्दछ। म सोचाइको यस्तो मोडमा आइरहेकै बेलामा मलाई डा. प्रमोद ढकालद्वारा लिखित ‘पूर्वीय दर्शनको पुनर्व्याख्या’ पढ्ने अवसर मिल्यो। मलाई प्राचीन साहित्यको एउटा अध्येता र तीबारे लेख्ने गरेको व्यक्ति मानेर नै लेखकले टिप्पणीको अपेक्षा गर्नु भएको थियो। यसलाई पढ्दा मलाई आनन्द आयो। एउटा सुखद अनुभूति भयो। यस्तो लाग्यो कि हामी त्यो तटस्थ विवेचनाको अभावलाई हटाउने काममा सफल हुँदैछौँ। हामी बहसमा प्रवेश गरेको यति धेरै समय पछि मात्र हामीलाई यस्तो कृति उपलब्ध भयो तर यसलाई मैले हाम्रो सामाजिक चेतको गर्भमा रहेका प्रतिभाहरू हुर्कन लागेको समयका रूपमा लिन्छु।

मानिसले आफ्नो जीवनको यात्राको क्रममा जे अनुभूति गर्छ र जे कुराहरू अध्ययन गर्छ त्यसका आधारमा उसको प्रवृत्ति अध्यात्मवाद वा भौतिकवाद तर्फ ढल्किने गर्छ। मूलतः पैसा कमाऊँ, औद्योगीकरण गरौँ, भौतिक सुख हासिल गरौँ भन्ने प्रवृत्ति जसमा हुन्छ उसको झुकाव भौतिकवादतिर जान्छ। अनि मानव-प्रवृत्ति, चिन्तन, शान्ति, आनन्दजस्ता आत्मिक क्षेत्रमा सोच विचार गर्ने मानिसको झुकाव अध्यात्मवादतिर जान्छ। तर जीवनको समग्रतालाई हेर्ने हो भने हाम्रा लागि भौतिक आवश्यकताको पूर्ति र आध्यात्मिक आवश्यकताको पूर्ति दुवै महत्त्वपूर्ण हुन्। त्यो किनभने अहिले म यहाँ चिन्तन गरिरहेको छु, लेखिरहेको छ, त्यो चिन्तक र लेखक ‘म’ मेरो आध्यात्मिक अंश हो। साथसाथै म यहाँ  खाइरहेको छु, बसिरहेको छु, हिँडिरहेको छु, त्यो शरीर ‘म’मेरो भौतिक अंश हो। यी आध्यात्मिक र भौतिक दुइटै शरीर नभएको भए म मानिस हुने थिइन। एउटा चिन्तनशील र उन्नत प्राणी हुने थिइन।

एउटा उत्कृष्ट दर्शनले त हामीलाई सन्तुलित स्थानमा लैजान सक्नु पर्छ, चिन्तनको अवस्थामा लैजानु पर्छ, आवश्यक कुरालाई लिने र अनावश्यक कुरालाई फ्याँक्ने चेत दिनु पर्छ।

चाहे वशिष्ठको समयको कुरा होस्, चाहे कार्ल मार्क्सको युगको कुरा होस्, दार्शनिक चिन्तकले उसको समय र परिस्थितिले उब्जाएका समस्याको समाधान पस्कन खोजेको हुन्छ। वशिष्ठले रामचन्द्रको युगमा कस्तो राज्यव्यवस्था हुनु पर्छ भनेर सिकाए। मार्क्सले धेरै मानिसले गरिबी र उत्पीडन खेपेको अनि थोरै मानिसले धन र सत्तामा वर्चस्व जमाएको युगमा समताको विचार अघि सारे। यही हो समाजको रीति। अध्यात्मवादी बढी हाबी भएर भौतिकवाद दबिएको समयमा विद्रोहको आवाज भौतिकवादी धारबाट उठ्छ भने भौतिकवाद हाबी भएर अध्यात्मवाद दबिएको बेलामा विद्रोहको आवाज अध्यात्मवादी धारबाट उठ्ने गर्छ। अध्यात्मवाद र भौतिकवादमा एउटा हाबी भएर अर्को दबिन गएमा दबिने पक्ष विद्रोहमा उत्रने हुनाले सन्तुलित र सबैलाई मिलाउने चिन्तन र दर्शनको खाँचो हामीलाई सधैँ परिरहेको हुन्छ। मलाई के कुरामा खुसी लाग्यो भने यो पुस्तकमा त्यस्तो सन्तुलन विद्यमान छ।

जहाँसम्म जीवन र जगतको व्याख्याको सन्दर्भ आउँछ, अध्यात्मवादीले भौतिकवादीको र भौतिकवादीले अध्यात्मवादीको खोइरो खन्ने कुनै नयाँ परम्परा होइन। कुनै समयमा पण्डितले भौतिकवादीलाई समाज भाँड्ने हुन्, नास्तिक हुन्, राक्षस हुन् भनेर खेदो खने तर पछि फेरि समयले कोल्टो फेर्‍यो। नयाँ अवस्थामा भौतिकवादीले पण्डितहरूलाई ढोँगी हुन्, पाखण्डी हुन्, सिदा तान्ने हुन् भन्न थाले। तर यी दुवै प्रवृत्ति गलत हुन्, भद्दा हुन्। त्यस्ता प्रवृत्तिले हाम्रा समस्याको सही समाधान दिँदैनन्। कसैले यज्ञ गरेर चाहेको कुरा दान गर्छ भने त्यसमा अरूको आपत्ति हुनु र कसैले गरिबको पक्षमा, समानताको पक्षमा मार्क्सवादी बनेर हिँड्छ भने पनि त्यसमा अरूको आपत्ति हुनु दुवै गलत हुन्। एउटा उत्कृष्ट दर्शनले त हामीलाई सन्तुलित स्थानमा लैजान सक्नु पर्छ, चिन्तनको अवस्थामा लैजानु पर्छ, आवश्यक कुरालाई लिने र अनावश्यक कुरालाई फ्याँक्ने चेत दिनु पर्छ।

हामीलाई पक्ष र विपक्षमा बाँडिएर मात्र नपुग्ने हुनाले हाम्रो समाजमा एउटा सन्तुलित र सबैलाई मिलाउने चिन्तन र दर्शनको खाँचो भएको छ। भौतिकवाद पनि हामीलाई चाहिएको छ किनकि हामीलाई खान-लाउन परेको छ, अध्यात्मवाद पनि हामीलाई चाहिएको छ किनकी हामीलाई शान्ति चाहिएको छ, आनन्द चाहिएको छ, मृत्यु पछि विद्यमान रहने केही छ भने त्यसबारे पनि हामीलाई चासो छ। हामीले कुनै पनि कुरालाई एक पक्षीय ढङ्गले नहेरेर तिनको धेरै कोणबाट चिरफार गर्न आवश्यक परेको छ। लाग्छ- हामीलाई यो आवश्यकता खड्किरहेकै बेलामा यो पुस्तकले हाम्रो प्राचीन दर्शनका कुराहरूलाई असाध्यै ओजपूर्ण ढङ्गले प्रकाशमा ल्याएको छ। अध्यात्मवाद र भौतिकवादका मिहिन कुराहरू असाध्यै कसिलोसँग प्रस्तुत गरेको छ। यो पुस्तक अध्यात्मवादी र भौतिकवादी दुवै दृष्टिले एकदम सन्तुलित छ।अध्यात्मवादी र भौतिकवादीहरूका बीचको द्वेषलाई साम्य पार्ने प्रकारको शीतलता बोक्नु यो पुस्तकको विशेषता रहेको छ। दर्शनको क्षेत्रमा नेपाली भाषामा यति राम्रो किताब अहिलेसम्म लेखिएको छैन।

मेरो युवा अवस्था “ईश्वर अल्लाह तेरा नाम सबलाई सन्मति दे भगवान्” भनेर तथा “सारा जग तेरा सन्तान” भनेर मानव समानताको आन्दोलन छेड्ने महात्मा गान्धीबाट प्रभावित हुँदै उठ्यो। गान्धीले हामी सबै एउटै ईश्वरका सन्तान हौँ, जातका आधारमा मानिसलाई सानो ठूलो मान्ने संस्कारलाई तोड्नु पर्छ भन्थे। पछि “तिमीसँग बन्धन बाहेक अरू केही गुमाउने कुरै छैनन्” भनेर, अथवा “आवश्यकता प्रतिको सचेतना नै मुक्ति हो” भनेर उत्पीडित मानिसका आवाज उठाउने कार्लमार्क्सबाट पनि मेरो जीवन प्रभावित भयो। त्यस्तो सचेतनाका साथ मैले हाम्रो प्राचीन साहित्य र दर्शन पढेको र तीबारे लेख्दै आएको हुँ। यस पुस्तकले पनि हाम्रो सभ्यतामा रहेका जातीप्रथा, मानव विभेदजस्ता असहज विषयहरूका बारेमा एउटाआलोचनात्मक चेत सहितको बहस अगाडि सारेको पाउँदा म खुशी छु। आज यो पुस्तक पढ्दा हाम्रो सभ्यताले बोकेर ल्याएको वैचारिक भारीबाट जीर्ण भइसकेका कुरालाई फ्याँक्दै सुन्दर पक्षलाई बचाउँदै जानु पर्छ भन्दै आएको मलाई सन्तुष्टि मिलेको छ। हाम्रो नेपाली समाजको जागरणको यात्राले महत्त्वपूर्ण सफलता पाउँदै गएको र एउटा उचाइ चुमिरहेको अनुभूति भएको छ। यो ग्रन्थ नेपाली साहित्यमा भएको एउटा उल्लेख्य उपलब्धि हो भन्ने लागेको छ। यदि यस्तो किताब दशकौँ पहिले आएको भए हाम्रा बहस र खोजहरू थप उन्नत हुन सक्थे होलान् ! लाग्छ, यो पुस्तक हाम्रा आगामी समयमा उठान हुने बहस र खोजहरूमा नयाँपन ल्याउन सहयोगी हुनेछ।

हामीलाई लागेको थियो कि लेखक प्रमोदजी अङ्ग्रेजीपट्टीको विद्यार्थी हुनुहुन्छ, संस्कृतपट्टी उहाँको अध्ययन कति नै होला र ! तर यो किताब पढ्दा थाहा हुन्छ कि उहाँको अध्ययन बृहत् र गहन दुवै छ। यहाँ उहाँले यति शास्त्रीय उदाहरण दिनु भएको छ कि त्यो गर्न जो कोही मानिसलाई सहज छैन। यहाँ सयकडौँ पाद टिप्पणीहरू छन्, जसमा उहाँको अथक प्रयत्न रहेको थाहा हुन्छ। यस्तो रचना लेख्ने उहाँ धेरै धेरै धन्यवादका पात्र हुनुहुन्छ। उहाँको यो कृति नेपाल र नेपाली जनताका लागि असाध्यै महत्त्वपूर्ण छ। नेपाली भाषामा आएको हुनाले हामी नपाली भाषीका लागी अति लाभदायक र गौरवान्वित बनाउने प्रकारको छ।

यसलाई यदि अनुवाद गर्ने हो भने नेपालका विद्वान् पनि यति महान् खालका रहेछन् भन्ने कुराको सन्देश अन्तर्राष्ट्रिय जगतमा लैजाने क्षमता यसले राखेको छ। समयमा हामी लेख्न सक्ने साथीहरूले लेख्दै र समीक्षा गर्दै गरौँला तर आज म यो कृतिका रचनाकारलाई धन्यवाद दिन चाहन्छु, धेरै बधाई दिन चाहन्छु। उहाँको कलम अगाडि बढिरहोस्, उहाँको प्रगति अनवरत रहिरहोस्। यस्ता धेरै कृतिहरू लेख्न सक्नुहोस्। अनि आम नेपाली पाठकलाई मैले यो भन्न चाहन्छु कि हामी सबैले यो पुस्तक पढौँ।

पुस्तक: पूर्वीय दर्शनको पुनर्व्याख्या, मूलपाठ ५०० पृष्ठ, कूल ५५६ पृष्ठ। मुल्य: रू १०००। प्रकाशक: बिग फ्यामिलि भेञ्चर्स, काठमाण्डू।  वितरक: विद्यार्थी पुस्तक भण्डार, रत्न पुस्तक भण्डार र मण्डला बुक प्वाइन्ट। लेखक सम्पर्क: ९८५११३३४४०।

पुस २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्