
काठमाडौँ– उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाेले नेपाल आयल निगमकाे निजीकरण गर्न नसकिने बताएका छन्।
काठमाडौँस्थित सोल्टी होटलमा शनिबारबाट सुरु भएकाे ‘नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो–२०२०’ उद्घाटन गर्दै मन्त्री भट्टले यस्ताे बताएका हुन्। उनले आयल निगम निजि क्षेत्रलाई दिनुपर्छ भन्ने कुरा आफूले कुनै हालतमा स्वीकार नगर्ने बताए।
नेपाल रत्न तथा आभुषण संघले आयोजना गरेको तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो पुस २७ गतेसम्म सञ्चालन हुनेछ। मन्त्री भट्टले सुन सजिलै आयात गर्ने वातावरण मिलाउन नसक्ने बताए।
उनले सरकारको नीति तथा सुरक्षाको कारण देखाउँदै सुनकाे सजिलै आयात गर्न नसकिने बताएका हुन्। उनले भने, ‘फलाम गरिब जनताको घरमा पनि हुन्छ। तर सुन सबैले राख्न सक्दैनन्। त्यही भएर राष्ट्र बैंकले राखेको होला।’
यस्तै मन्त्री भट्टले नेपाली युवाहरुको सपना स्वदेशमै नै पूरा गर्न सकिन्छ भन्ने विश्वास दिलाउन नसकेको स्वीकारे। ‘नेपालको कुल ग्राहस्थ उत्पादनको २९ प्रतिशत रेमिटेन्सले चलेको छ’ , उनले भने, ‘तर हामीले नेपाली र युवालाई नेपालमा नै केही गर्न सकिन्छ भन्ने वातावरणको सिर्जना गर्न सकेका छैनौँ।’
यस्तै उक्त कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले सरकारले गहनालाई निकासीका रुपमा राखेको तर पूर्णरुपमा कार्यान्वयन नभएको बताए। उनले गहनाको कच्चा प्रदार्थमा लाग्ने भन्सार फिर्ता गर्न मन्त्रीलाई आग्रह गरे।
एक्स्पोमा नेपालका ४० वटा ज्वेलर्स कम्पनीहरुको सहभागिता रहेको छ। १० हजार अवलोकनकर्ताले मेलाकाे अवलोकन गर्ने आयोजकले दावी छ।