हृदय जलेको त्यो दिन- ५

‘एसिडले जलेको मेरो अनुहार हेरेरै काममा राख्दैनन्’

सुन्निएका आँखा चिम्रा पार्दै उनले बाथरुमको ऐनामा आफ्नो अनुहार हेरिन्। प्रष्ट देख्न सकिनन्। बाहिर आइन् र बुवालाई बाथरुमको ऐना हटाइदिन आग्रह गरिन्।

त्यस दिनदेखि उनलाई लामो समयसम्म ऐना हेर्न दिइएन। छर्लैङ्ग अनुहार देखिने कुनै पनि चिज वरपर राख्न निषेध गरिएको थियो।

सुन्निएका उनका आँखा विस्तारै उघारिँदै गए। त्यसपछि उनलाई आफ्नाे अनुहार हेर्ने उत्सुक्ता जाग्न थाल्यो। तर परिवारले ऐना हेर्न दिएनन्।

अनुहार कसरी हेर्ने ? उनले जुक्ति निकाल्न थालिन्।

अन्ततः बुवासँग मोबाइल मागिन्। मोबाइलको स्क्रिनमा आफ्नो अनुहार हेरिन्।

आफ्नाे अनुहार हेर्दा उनी आफैँ तर्सिइन्। आफैलाई स्वीकार्न सकिनन्। यस्तो अनुहार लिएर कसरी बाँचुला भन्ने कुराले पिरोल्न थाल्यो। शरीरको पीडाले भन्दा पनि मनको पीडाले भत्भति पोल्न थाल्यो।

जलेको अनुहार। घमिलो देखिने आँखा। गुमेको सुन्दर अनुहारको सम्झनाले बर्रबर्र आँखाबाट आसु झर्न थाले। तर जति आँसु झरे पनि सहनुको विकल्प थिएन। लामो समयसम्मको अस्पताल बसाईपछि डिस्चार्ज भइन्, हेटौंडाकी बिन्दवासिनी कंसाकार।

शरीरको घाउ सुक्दै गएपनि मनको घाउ भने बल्झिरह्यो। उनका आफन्तले कठै ! भनेर दया देखाउन थाले। उनलाई सहानुभूतिभन्दा हिम्मतको खाँचो थियो त्यो बेला। जसका कारण उनी मानिसहरुबाट तर्केर बस्न खोज्थिन्।

कसैको नजिक पर्न चाहिनन्।

गल्ती बिनै यति ठूलो सजाय भोग्नु पर्‍याे बिन्दवासिनीले। गल्ती थियो त उनको ‘प्रेम प्रस्ताव’ अस्वकार गर्नु।

के भएको थियो त्यसदिन?


२०७० साल वैशाख ९ गते बिहान ११ बजेतिर उनी पसलमा बसिरहेकी थिइन्। करिब ३७ वर्षका दिलीप राज केशरी नाम गरेका पुरुष पसलमा आए। उनी चिनजानकै व्यक्ति थिए। उनले हातमा महको बट्टा समातेका थिए। हात बिन्दवासिनीतर्फ लम्काउँदै महको बट्टा दिन खोजे। र भने,‘यो मह तिम्रो हजुरआमालाई दिनु।’

हजुरआमालाई दिनु भनेपछि बिन्दवासिनीले बट्टा तान्न हात अगाडि बढाउँदै थिइन्। बट्टा दिनुको सटो केशरीले बिर्को खोल्न थोले।

बिन्दवासिनीलाई लागेको थियो– बट्टाको मह नै हो।

उनका अगाडि बढेका हात रोकिए। उनको अनुहार एकाएक पोल्न थाल्यो। छ्पटाउन थालिन्।

असह्यय पीडा भयो।

महको बट्टा समात्न अगाडि बढेका हातले अनुहारमा फ्याकिएको तरल पदार्थ रोक्न सकेनन्। उनले तातो पानी अनुहारमा छ्यापेको भन्ने सोचिन्। अनुहारमा एसिड परुन्जेलसम्म उनलाई थाहा थिएन, एसिड भनेको के हो? एसिडको पोलाइले कस्तो हुन्छ?

उनकाे चिच्याहट सुनेर बुबा, आमा आत्तिँदै आए। छोरीको अनुहारमा एसिड खन्याइदिएको थाहा पाए। शरीरमा पानी खन्याउन थाले। अस्पताल नपुगन्जेलसम्म उनकाे शरीरमा पानी खन्याइरहे।

एसिड उनको अनुहारमा सिधै छ्यापे पनि चस्मा लगाएकाले आँखा पूरै जल्न पाएनन्। तर गहिरो असर भने पर्‍याे।

उनलाई नजिकैको हेटौंडा सामुदायिक अस्पताल पुर्‍याइयाे। सामुदायिक अस्पतालले नजिकैको आँखा अस्पताल रिफर गर्‍याे। प्राथामिक उपचारपछि उनलाई काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुर्‍याइयाे। उनको अनुहार सुन्निँदै गयो र आँखा बन्द भए। आँखाको उपचारका लागि फेरि उनलाई तिलगंगा आँखा अस्पतालमा पुर्‍याइयाे।

आँखाको उपचारपछि फेरि उनलाई भोलिपल्ट थप उचारका लागि मेडिकल कलेज पुर्‍याइयाे। उपचार सुरु भयाे। चिकित्सकहरुले उनको उपचारका सक्दो कोशिस गरिरहे। उपचारपछि विन्दवासिनीका आँखा अलिकति निको भए।

उनको शरीरको घाउ ओभाउने कुनै छाँटकाँट थिएन। चिकित्सकले बिन्दवासिनीको तिघ्राको छाला काटेर अनुहारको जलेको भाग सर्जरी गरे।

तीन वर्ष नेपाल तथा भारतका विभिन्न अस्पतालहरूमा बित्यो।

एसिड छ्याप्नुको कारण के थियो?


१९ वर्षकी बिन्दवासिनी कक्षा १२ मा पढ्दै थिइन्।

फुपूको छोराको विवाहमा केशरीसँग विन्दवासिनीको पहिलो पटक भेट भयो। फुपूको छोराको साथी भनेपछि उनी केशरीलाई दाइ भनेर सम्बोधन गर्थिन्।

विस्तारै बिन्दवासिनीको पसलमा केशरी आउन थाले। उनलाई पछ्याउन थाले। एकदिन केशरीले उनलाई बिहेको प्रस्ताव राखे। उनले, ‘यस्तो कुरामा मलाई वास्ता छैन। मेरो परिवारसँग कुरा गर’ भन्दै पन्छिन खोजिन्।

केशरीको हर्कतकाे बारेमा घरमा जानकारी गराइन्, ‘मलाई दिलिपराज केशरीले बिहे गरम् भनेर ‘टर्चर’ गरिरहेको छ।’

अर्को दिन केशरी फेरि पसलमा आए। त्यसबेला भने बिन्दवासिनीका बुवा पसलमै थिए। बुवाले उनलाई साेधे। तर केशरीले ‘केही होइन अङ्कल म यत्तिकै भेट्न मात्रै आ’को’ भन्दै तर्किन खोजे। बिन्दवासिनीका बुवाले उनलाई अबदेखि यता नआउनु भन्दै सम्झाए।

‘ल, ल ठिक छ’, भन्दै केशरी पसलबाट हिँडे।

तर १०/१५ दिनपछि उनी फेरि देखा परे र बिन्दवासिनीमाथि एसिड आक्रमण गरे।

कस्तो छ अहिले बिन्दवासिनीकाे अवस्था ?


पछिल्लो समय उनी खुलेर हिड्न थालेकी छन्। उसो त उनी चाहेर पनि सामान्य मानिसहरु जसरी बाहिर हिड्न सक्दिनन्। किनकी उनलाई धूलो, धूवाँ र घामबाट जोगिनुपर्छ। अन्यथा एलर्जी हुन्छ। आँखाको सुरक्षाका निम्ति चस्मा नलगाई हिँड्ने अवस्था छैन।

अहिलेसम्म उनको २० पटक सर्जरी भइसकेको छ।

तर तुलनात्मक रुपमा बिन्दवासिनी निको हुने क्रममै छिन्। उनी आफूले आफैलाई दिन प्रतिदिन बलियो बनाइरहेकी छन्। उनको जीवनमा घटेको अप्रत्यासित घटनालाई पछाडि छोड्दै अगाडि बढ्ने कोशिस गरिरहेकेकी छन्। टुटेको मनलाई एक–एक गर्दै जोडिरहेकी छन्।

‘समाजमा खुलेर हिड्न गाह्रो छ। हामीलाई हेर्ने समाजकाे नजर अझै फेरिएकाे छैन’,भावुक हुँदै  उनले भनिन्,‘सोचाई त कत्ति पनि परिर्वतन हुनै सकेको छैन। उल्टै हामीलाई दोष लगाउँछ समाज।’

यस्ता कुराले कहिलेकाहीँ आफूलाई निराश बनाउने गरेको उनले बताइन्।

उनले थपिन्,‘तर पनि मैले हार मानेकी छैन।’

थपिएको आँट…


२०७१ साल फागुन १० गते बिहान वसन्तपुरमा रहेको एक ट्यूसन सेन्टरमा संगिता मगर र सिमा बस्नेतमाथि भएकाे एसिड आक्रमणको घटनाले उनलाई एकाएक झस्कायाे। उनलाई लाग्याे– अब पनि नबाेल्ने हाे भने समाजले हामीलाई बाँच्न दिँदैन।

नजिकिँदै गरेको एसएलसीको तयारीमा जुटिरहेका दुई किशाेरीमाथि भएकाे उक्त एसिड आक्रमण भएको खबर सुन्दा उनलाई चुपचाप सहेर बस्न मन लागेन।

उनको घाउ ताजै थियो। तर पनि उनी अनुहारमा पट्टी बाँधेर हेटौँडाबाट काठमाडौँ आइन्।

एसिड आक्रमणविरुद्ध आवाज उठाइन्।

उनलाई लाग्यो– आफूमाथि जे भयो त्यो अरु कसैले पनि भोग्नु नपरोस्। पछिल्लो समय उनी एसिड आक्रमणका घटना सुन्ने वित्तिकै उक्त ठाउँमा पुग्ने गर्छिन् र पीडित र उनीहरुको परिवारलाई परामर्श दिने गर्छिन्।

‘म र मेरो परिवार जुन पीडाबाट गुज्रियौँ। त्यो समय हामीलाई यसका बारेमा सम्झाउने बुझाउने कोही थिएन’, उनले भनिन्।

उनका लागि सुन्दरताको अर्थ के ?


उनी आफू जे छन्, त्यसैलाई स्वकारेकी छन्। परिवर्तन भएको आफ्नो स्वरुपलाई माया गर्छिन्।

उनी आफूले आफैलाई स्वकारे पनि पहिले र अहिले धेरै फरक भएको बताउँछिन्। आक्रमण हुनुभन्दा पहिले उनलाई देख्ने जो कोहीको मुखबाट फ्याट्ट निस्किहाल्ने शब्द थियो, ‘कति राम्री !’

उनी मुसुक्क मुस्कुराइन्, अनि भनिन्,‘मेरो रिलेटिभ्स मा सबैभन्दा मिलेको फेस र राम्री म नै थिए रे !’

तर उनको सुन्दरतामा आँखा लाग्यो।

युवा अवस्थामा प्रवेश गर्दै गरेकी उनी मेकअपको शाेखिन थिइन्। राम्रो लुगा लगाउनु, राम्रो मेकअप गरेर राम्री हुन उनलाई असाध्यै मन पर्थ्याे।

तर पछिल्ला ६ वर्षयता उनले आफूले चाहे जसरी मेकअप गर्न पाएकी छैनन्। अनुहार सर्जरी गरिएका कारण कस्मेटीकको प्रयोग गर्न नमिल्ने भएको छ।

अरु बेलाभन्दा पनि उनलाई आफू बिहे, पार्टी जस्तो सामाजिक समाराेहमा सामेलमा जाँदा अनुहारमा समस्या भएको कुराले धेरै पिरोल्ने गर्छ।

उनले भनिन्,‘अरुले मेकअप गरेको देख्दा मलाई पनि गर्न मन लाग्छ तर मलाई मेकअप गर्न डाक्टरहरुले अनुमति दिएका छैनन्।’

यद्यपि उनको अनुहार ठिक हुन अझै कति समय लाग्छ, चिकित्सले अहिलेसम्म भन्न सकेका छैनन्।

एसिड आक्रमणपछि फेरिएको उनको दैनिकी…


आक्रमण हुनभन्दा अगाडि उनको दैनिकी सामान्य थियो। पढाइ–लेखाइ, क्याम्पस–घर, घरपरिवार–साथीभाइ यही थियो, उनको दैनिकी। अनि कहिलेकाहीँ बिदा हुँदा पसलमा बसेर बुवालाई सघाउनु।

पछिल्ला दिनहरुमा पनि उनी यस्तै कुरा गर्छिन्। तर उनी अन्य कुराभन्दा पनि आफ्नो अनुहारको स्याहारमा धेरै लाग्छिन्। ताकी उनको सानो लापरवाहीका  कारण अनुहारमा ‘एलर्जि’ नहोस्। कुनै प्रकारको समस्या खेप्नु नपरोस्।

धुवाँ, धुलो अनि घामबाट बचेर हिड्छिन्।

सर्जरी गरेको अनुहार संवेदनशील हुने भएकाले यसको धेरै ख्याल राख्नु पर्ने उनी बताउँछिन्।

भोगिरहेको नमिठो अनुभव…


उनी बीबीएस चौथो वर्षमा अध्यनरत छिन्।

चौथौ वर्षमा पुगेपछि बीबीएसका विद्यार्थीलाई क्याम्पसले बैंकमा इन्टर्न गर्न पठाउँछ। बिन्दवासिनी पनि इन्टर्नका लागि धेरै बैंकमा पुगिन्। तर उनले कतै पनि सम्भावना देखिनन्।

उनी सँगै पढ्ने साथीहरुले काम सुरु गरिसकेका छन्। तर उनको भने अत्तोपत्तो छैन।

उनले हिम्मत हारेकी छैनन्। प्रत्येक बैंकहरुमा आफ्नो सिभी छोड्दै आएकी छन्। जहाँ पनि उनले एउटै उत्तर पाउँछिन्,‘हामी तपाईलाई खबर गर्छौँ।’

उनले भनिन्,‘म सँगै पढिरहेका साथीलाई खबर आउँछ तर मलाई आउँदैन।’

यस्तो बेला न त उनी बैंकमा पुगेर सोध्ने हिम्मत गर्छिन् न त उनी चुपचाप सहेर बस्न सक्छिन्।

यस्तै विभेदका कारण आफूभित्रको आँट डग्मगाउने गरेको उनी बताउँछिन्।

उनले फेरि थपिन्,‘इन्टर्नका लागि त यति भौतारिनु पर्छ झन् जागिरकै लागि के होला ?’

‘भ्याकेन्सि’ खुलेको ठाउँमा उनले निवेदन दिन भने छाडेकी छैनन्।

‘अहिलेसम्म सिधै हुन्न भनेर भन्नुभएको छैन। तर उहाँहरुले भन्न खाेजेको कुरा म बुझिहाल्छु। कसैले ‘क्वालिफिकेशन’ पुगेन भन्नुहुन्छ। कसैले काममा अनुभव नभएको भन्दै अस्वीकार गर्नु भएको छ’, उनी भन्छिन्,‘एउटा न एउटा बाहाना बनाएर रिजेक्ट गरिहाल्नुहुन्छ। काम नै गर्न नदिएर हामी कसरी अनुभव बनाउन सक्छौँ र?’

आफू कामका लागि योग्य हुँदाहुँदै पनि आफ्नो अनुहार हेरेर वा एसिड आक्रमणको घटनाले गर्दा काम नदिने गरेको बिन्दवासिनीको गुनासाे छ।

नफेरिएको उनको सपना…


पहिला पनि उनी ‘विजनेस वुमेन’ बन्न चाहन्थिन्। एसिड आक्रमणले उनको सपना फेरिएको छैन।

उनलाई लाग्छ– एसिडले उनको स्वरुप फेरिएको हो, सपना होइन।

‘जस्तोसुकै परिस्थिति किन नआओस्, म आफ्नो सपना परिर्वतन गर्न सक्दिन’ उनले भनिन्।

हराएको बेचैनी…


दिलिप राज केशरीलाई मकवानपुर र बारा प्रहरीको संयुक्त टोलीले साढे ६ वर्षपछि प्रकाउ गरेको छ।

यो अवधिभर आफू र आफ्ना परिवारले भोग्नु परेको पीडा शब्दमा वर्णन गर्न नसकिने उनले बताइन्। ६ वर्षपछि उनलाई फेरि न्याय पाउने आशा पलाएकाे छ। उनी भन्छिन्, ‘प्रहरीले पीडकलाई पक्राउ गरेको छ। आश मारिसकेको कुरा पूरा हुँदा खुसी लाग्दोरहेछ।’

एसिड आक्रमण गर्ने केशरीलाई मृत्यु दण्ड वा जन्मकैदको फैसला हुनु पर्ने उनकाे माग छ। ‘८/१० वर्ष सजाय दिएर मेरो वा हामी जस्ता कुनै पनि पीडितको पीडा कम हुनै सक्दैन’, उनले भनिन्।

थुनछेक बहसपछि जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले एसिड प्रहार गर्ने मुख्य अभियुक्त भारतीय नागरिक दिलिपराज केशरीका साथै उनलाई भगाउने तथा एसिड किन्न सहयोग गरेको आरोप लागेका सञ्जय मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए।

आदेशसँगै दुवै जना अभियुक्तलाई गत मंसिर १० गते भीमफेदी कारागार चलान गरिएको छ।

के छ मुलुकी ऐनमा ?


मुलुकी अपराध संहिता ऐनको दफा १९३ मा कसैले तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ।

कसुर गरेको हकमा सजायः

– कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना।

– शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना।

बिन्दवासिनीले नेपालमा कानुनी व्यवस्था फितलो हुँदा यस्ता आपराधिक घटनाहरु दोहोरिरहेको दावी गरेकी छन्।


(यो शृंखलाको भिडियो तथा तस्बिर देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेकी हुन्।)

पुस २७, २०७६ मा प्रकाशित