शून्य समय

पृथ्वीनारायण शाहको खलनायकीकरण: एउटा बृहत् षड्यन्त्र

विगत १३ वर्षयता नेपालको राजनीतिमा पुस २७ गतेले नेपाली राष्ट्रियतामा यो दिनको महत्व तथा सान्दर्भिकताबारे बहस चलाउने अवसर प्रदान गर्दै आएको छ।

त्यो बहसको केन्द्रमा नेपाल राष्ट्र एकीकरण अभियानका सूत्रधार तथा नायक पृथ्वीनारायण शाह रहिआएका छन्। उनको २९८ औँ जयन्ती अर्थात यो पुस २७ गतेले त्यो बहसलाई राष्ट्रव्यापी स्वरुप त दिएकै छ, तर यसपल्ट यसले थप अर्थ राखेको छ। नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापाले बडामहाराजाधिराज शाहलाई औपचारिकतावश पुस २७ गते मात्र सम्मान गरिनु पर्ने व्यक्तिका रुपमा हैन, नेपाली राष्ट्रियताका प्रेरणा स्रोतका रुपमा हरेक दिन स्मरण गर्नु पर्ने महान राजनेताका रुपमा लिनुपर्ने बताएका छन्।

त्यत्तिमात्र हैन, नेपाली सेनाले राष्ट्रका संस्थापकको गोर्खाबाट सुरु भएको राष्ट्रिय एकताको उनको अभियान र यात्रालाई जनता र सेनाबीचको साझा राष्ट्रिय विरासतका रुपमा चित्रित गर्ने उद्देश्यका साथ उनको यात्रामार्ग हुँदै मार्च गरेको छ, पुस २७ मा राजधानी काठमाडौँमा उक्त यात्रा विसर्जन हुनेगरी।

राजाका रुपमा, नेपाल एकीकरणका रचनाकारका रुपमा, सेनापतिका रुपमा पृथ्वीनारायण शाह आलोचित नरहेका हैनन्। राज्य निर्माण र त्यसका नायकका रुपमा उनले देखाएका कौशल, उनले रचेका आर्थिक तथा औद्योगिक, गृह नीति, युद्ध तथा शान्ति नीति (छिमेकी र फिरंगी), सार्वजनिक जीवनका शुद्धताका उनका नीति, घुस लिन्या र दिन्या दुवै देशका दुश्मन हुन् जस्ता मान्यताले उनलाई समकालीन परिवेशमा मात्र हैन, आजको सन्दर्भमा पनि नेपालले गर्व गर्नुपर्ने एक राजनेताका रुपमा स्थापित गर्छ।

नेपाल एकीकरणको पाँच वर्षमै उनको देहान्त भयो, तर उनलाई नश्लवादका पोषकका रुपमा प्रस्तुत गर्ने केही आलोचक वास्तवमा नश्लवादमै आधारित घृणाका आधारमा आज पनि उनलाई मुलुकलाई भावनात्मक रुपमा एकीकरण गर्न नसकेको आरोप लगाइरहेका छन्। अर्को, कपुचिन पादरीहरुलाई मुलुक निकाला गरेका र इस्लामिक तथा इशाई फौजलाई युद्ध मैदानमा पराजित गरी नेपाललाई फरक प्रसंगमा ‘असली हिन्दोस्तान’ घोषणा गर्नु पछाडि यो मुलुकलाई सताइएकाहरुको (पर्सिक्युटेड) सुरक्षित थलोको रुपमा प्रस्तुत गरेको नर्कलाई त्यो बेलाको यथार्थसँग जोडेर नहेरेको देखिन्छ।

पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरण अभियानको नायकका रुपमा मान्यता दिएर पनि यो सरकारले र वर्तमान राजनीतिक संस्थापनालाई प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसलगायतका दलहरुले राष्ट्रघातप्रति पर्याप्त प्रायश्चित गरेको मानिँदैन। वर्तमान संस्थापनका प्रेरक श्याम सरण र युरोपेली संघ, चर्च र अमेरिकी दाता हुन्। उनीहरुको एकीकृत र परिचालित शक्ति पृथ्वीनारायण शाह र उनले बोकेका मूल्यहरुबिरुद्ध खनिन्छ नै।

इतिहासका परिवेश र विविध तथ्यका आधारमा त्यस बारे फरक–फरक व्याख्या हुन सक्छन्। तर विदेशी मन्त्र, मन र धनबाट दीक्षितहरुले इतिहासको व्याख्यामा वौद्धिक तटस्थता अपनाउन सक्दैनन्। २०६३ वैशाखमा गिरिजाप्रसाद कोइरालाको सरकारले किन पृथ्वीनारायण शाहलाई एकीकरणका नायकको हैसियतबाट वञ्चित गर्‍यो? त्यसलाई यही प्रसंगमा बुझ्नुपर्छ।

नेपालको तत्कालीन परिवेशमा प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन चलिरहेको थियो र राजा ज्ञानेन्द्रप्रति मुलुकका रानीतिक शक्तिहरुमा क्रोध थियो। त्यो क्रोधलाई उनीहरुले ‘प्रजातन्त्र’ सँग बाँधे या जोडे, तर राष्ट्रियताविरुद्ध प्रयोग पनि गरे। लर्ड मेकाले शैलीमा आफूलाई प्रस्तुत गर्दै आएको एक भारतीय प्रशासकले नेपालका सान ‘प्रजातान्त्रिक’ दलहरु र भारत सरकार र चर्चको समर्थन प्राप्त माओवादीहरुलाई एक सुत्रमा बाँध्यो।

भारत र अमेरिका तथा यूरोपेली संघबीच एक समीकरण बन्यो, गणतन्त्र र धर्म निरपेक्ष नेपालको स्थापनाको पक्षमा। अर्थात पृथ्वीनारायण शाहले त्यसबेला जुन बाह्य शक्तिहरुलाई परास्त गरेका थिए, तिनै शक्तिहरुसँगको सहकार्यमा सरकार गठन र भावी राजनीतिक एजेण्डा तय भएपछि पृथ्वीनारायण शाहको अपमान त्यो सत्ताको पहिलो दायित्व बन्नु अस्वभाविक थिएन।

राजतन्त्रको निलम्बन र खारेजी, खेदिएकाहरुको संरक्षणको मर्मसहित घोषित असली ‘हिन्दोस्तान’ को अवधारणाको हत्या र धर्म परिर्वतनको अधिकारसहितको धर्म निरपेक्ष राज्य, त्यो घोषण पछाडिको अपारदर्शी षड्यन्त्रकारी शैली अनि पृथ्वीनारायण शाहको अपमान नयाँ विदेशी मालिक रिझाउने र अघोषित बाह्य हस्तक्षेप स्वीकार्ने चाल थियो, खासगरी गिरिजाप्रसाद कोइराला र केपी सिटौला, एमाले–खासगरी सुवास नेम्वाङ र बाह्य परिचालित माओवादीको। त्यो उनीहरुको बाध्यता थियो ।

२०६३ पछिको राजनीतिक परिवर्तनमा विदेशी साथ र हातको निर्णायक वर्चस्व, नेपालका केही अनुसन्धान र शोधका नाममा इतिहास पुनर्लेखनका सशर्त आएका आर्थिक सहयोग र अनुदान अनि सञ्चार र नागरिक समाजले त्यसपछिका सत्ताप्रति देखिएको संलग्नतापूर्ण चरित्रले पृथ्वीनारायण शाहको खलनायकीकरण सहज बनाएको हो।

वास्तवमा, २०६३ को परिवर्तनको केन्द्रीय एजेण्डा माओवादीको उद्देश्यबाट निर्मित भएको थियो भने मेलमिलापको घोषित नीति मार्फत संवैधानिक राजतन्त्र र बहुलवादमा आधारित संसदीय प्रजातन्त्रको हिमायती नेपाली कांग्रस भारतीय उक्साहटमा माओवादीको राजनीतिक भरिया बन्न पुगेको थियो। माओवादीको राजनीतिक दर्शन र चरित्र, असहिष्णुता र फरकमत अनि राजनीतिक उदारवादको निषेधमा आधारित भएकाले पृथ्वीनारायण शाहसँगै भानुभक्त, बीपी कोइराला, त्रिभुवन, महेन्द्र र वीरेन्द्रको शालिक भत्काउने काम संस्थागत रुपमा जारी रह्यो।

परिवर्तनका शक्तिहरु भविष्य निर्माणमा भन्दा इतिहास आफू अनुरुप बनाउने षड्यन्त्रमा लागे। जानेर या नजानेर या नियतवश, परिवर्तनपछिको सत्ताको कोपभाजनमा परेको नेपाली सेना पनि केही समयका लागि इतिहास विरुद्ध पुग्यो। यो त्यही समय थियो जब भारतीय विदेश सचिवले नेपाली सेनाले भारतको चेतावनीका कारण २०६३ को आन्दोलनमा नेपाली जनता विरुद्ध नखनिएको दाबी गरेको थियो।

प्रधानसेनापति निवास शशी भवनमा राखिँदै आएका शाही नेपाली सेनाका परमाधपति र सबै शाह राजाका तस्बिरहरु हटाइए, राण श्री ३ हरुको तस्बिरहरु यथावत राखियो। राष्ट्र र समाजका अग्रणीहरु प्रति कृतध्न पुस्ताले मुलुकको नैतिक र संस्कारगत अवमूल्यनमा सहयोग पुर्‍याउँछ।

इतिहासको मनोगत व्यवस्था मार्फत आफूलाई प्रगतिशील र अग्रगामी घोषणा गर्ने होडबाजीसँगै विदेशीसँग आफूलाई निकट देखाउने प्रवृति बढ्न जान्छ। विगत १३ वर्षमा यी प्रवृतिहरु नेपालमा बढ्नुको कारण बुझ्न आवश्यक छ। पृथ्वीनारायण शाहको सान्दर्भिकता, नेपाली जनमानसमा राष्ट्रियताको मियोका रुपमा उनको उपस्थितिलाई तत्कालीन एमालेले नबुझेको हैन।

त्यसैले पटक–पटक हाल राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट तत्कालीन माओवादी नेता पुष्पकमल दाहालको आलोचना गरेका छन्, पृथ्वीनारायण शाहलाई अवमूल्यन गरेकोमा। तर, सम्भवतः त्यो राजनीतिक रुपमा आफू कमजोर हुँदा रणनीतिक राष्ट्रियताको पक्षपोषण मात्र थियो त्यो। त्यसैले आफू पदमा पुगेपछि पनि पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरण अभियानका नायकका रुपमा उनीहरुले मान्यता दिएनन्। बरु राष्ट्र विखण्डनसँग जोडिएका व्यक्ति र शक्तिहरुसँग पूर्व एमालेले साँठगाँठ जारी रह्यो।

अहिले मिलेनिएम च्यालेन्ज कर्पोरेशन सम्झौता अनुमोदन तथा त्यसको इन्डोप्यासेफिक स्ट्रयाटेजीसँगको सम्बन्धबारे सत्तात्धारी नेकपाभित्रको बहसले सत्ताधारी पार्टीभित्र राष्ट्रियताबारे देखा परेको असफलताको वृहत आकार देखाउँछ। धर्मनिरपेक्षको घोषणा अपारदर्शी र रहस्यमयी तरिकाले गर्ने सुवास नेम्वाङलाई नै फेरि सभामुख बनाउने प्रधानमन्त्री ओलीको चाहनाले नेपाली सत्ताको बाध्यता पनि प्रदर्शित गर्छ।

पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरण अभियानको नायकका रुपमा मान्यता दिएर पनि यो सरकारले र वर्तमान राजनीतिक संस्थापनालाई प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसलगायतका दलहरुले राष्ट्रघातप्रति पर्याप्त प्रायश्चित गरेको मानिँदैन। वर्तमान संस्थापनका प्रेरक श्याम सरण र युरोपेली संघ, चर्च र अमेरिकी दाता हुन्। उनीहरुको एकीकृत र परिचालित शक्ति पृथ्वीनारायण शाह र उनले बोकेका मूल्यहरुबिरुद्ध खनिन्छ नै।

तर हिजो अर्थात २०६३ मा राजाले राजनीतिक दलहरुलाई सत्ता सुम्पनुपर्छ भन्ने प्रतिबद्धतामा आधारित मान्यताका साथ आन्दोलनमा लागेका शक्तिहरुले समेत आज पृथ्वीनारायण शाहलाई आफ्नो राष्ट्रिय हिरो स्वीकार गरेका छन् र गर्ने क्रम बढ्दो छ। त्यसले नेपाली राष्ट्रियता र नेपालको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेपको वर्तमान श्रृंखलालाई रोक्न प्रतिकार गर्न शासक मोटा भया जनता बलिया हुन्या छन् भन्ने वर्तमान ओली प्रवृत्ति बिरुद्ध जनतालाई गोलबन्द गर्नेछ।

पुस २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्