प्रवासदेखि स्वदेशसम्म सल्केको अष्ट्रेलियाको आगो

यो वर्ष अस्ट्रेलियामा आगोको राप निकै बढ्याे । अस्ट्रेलियामा डढेलो लाग्नु नौलो पटक्कै होइन । यहाँको प्राकृतिक प्रणालीमा डढेलोको महत्वपूर्ण भूमिका रहँदै आएको छ । कतिपय वनस्पति त डढेलो लागेपछि मात्रै नयाँ उम्रने गरी यो महादेशमा परिमार्जित भइसकेका पनि छन् ।

यहाँका आदिवासीहरू हजारौँ वर्षदेखि डढेलोसँग साइनो गाँसेर यसलाई तह लगाउँदै बाँच्न सफल छन् । तर यसपटकको डढेलोले धनजनको क्षति भने ठूलै मात्रामा गरेर छाड्यो ।

केही मानिसहरू हताहात भए । सयौँ घरहरू नष्ट भए । लाखौंको सङ्ख्यामा जीवजन्तुहरू मारिए । अर्बौंको सम्पत्ति नष्ट भयो ।

यत्रो भयङ्कर प्राकृतिक विपत्तिका बेला यहाँका प्रधानमन्त्री भने सुटुक्क सपरिवार छुट्टी मनाउन हवाइ पुगेको खबर बाहिरियो । धन्य ! मान्छेका तिर्सना । ऊवेला पनि रोम जलिरहँदा निरो गीत सुनेर लट्ठ परेर बसिरहेको इतिहास झल्यास्स सम्झन पुगेँ ।

शायद ‘यो त सधैँ लागिरहने प्रक्रिया न हो, यो वर्ष पनि आउँछ, जान्छ केको ठस्ठस् ?’ भन्ने पो लाग्यो कि तिनको मनमा । खैर, उनका भित्री मनका कुरा उनै जानुन् ।

कुरो थाहा पाउँदावित्तिकै जनताले प्रमको खेदो खन्न सुरू गरिहाले । जनदबाबलाई बेवास्ता गर्ने पद्दति भने यो राष्ट्रमा त्यति छैन । यस्तै कुराहरूले यहाँ तुलनात्मक रूपमा सबल लोकतन्त्र छ भन्ने कुरा पुष्टि पनि गर्दछ । समाचार बाहिरिनासाथ हवाइबाट अस्ट्रेलिया फर्केर गल्ती भएको स्वीकार गरेर माफी माग्दै पीडितहरूलाई सहानुभूति दिन ठाउँठाउँमा प्रधानमन्त्री पुग्न थाले ।

तर आशा गरेविपरीत कतिपय जनताले खुल्लम्खुल्ला चुनौती दिँदै ‘हामीलाई तिम्रो साथ चाहिँदैन’ भनेर प्रमलाई फर्काइदिए भने कतिपय डढेलोपीडितले त मुखै छाडेर गाली गर्दै उनलाई आफ्नै निवासमा फिर्ता हुन चुनौती समेत दिए । यस्ता चुनौतीलाई सामान्य रूपमा ग्रहण गरेर आत्मालोचना गर्न सक्नुले पनि यहाँको लोकतन्त्रको बलियो पक्षलाई उजागर गरेको छ ।

कोम खत्री

डढेलोमा देश जलिरहँदा सिड्नीको हार्बर ब्रिजमा आतिशबाजी गर्ने कि नगर्ने द्विविधामाझ आतिशबाजी गरियो । लाखौँ डलर तथा लामो तयारी भइसकेको सन्दर्भमा राज्यले आतिशबाजी रोक्न नमिल्ने भन्दै सम्पन्न गर्‍यो । गर्ने र नगर्नेको पक्ष र विपक्षमा लामै बहस पनि गरिए ।

लाखौं मानिसहरू अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न सिड्नीको ओपेरा हाउस लगायतको क्षेत्र वरपर एकत्रित भए । त्यसैबखत् दूरदराजका इलाकामा अग्निनियन्त्रकहरू गाउँ र बस्तीहरू आगोबाट जोगाउनका खातिर दिनरात नभनी आगोसँग जुधिरहेका थिए । शायद, संसारको नियम विचित्रको छ भन्ने उदाहरण यी दुई परस्पर विरोधी कार्यले पुष्टि गरिरहेका थिए ।

हार्बर ब्रिजको आतिशबाजीबाटै हौसिएर हुन सक्छ नेपालका पर्यटनमन्त्रीले जलिरहेको देशमा अन्तर्राष्ट्रिय भ्रमण वर्ष उद्घाटन गर्ने कार्यक्रमलाई स्थगित गर्न उचित ठानेनन् । उनी भिजिट नेपाल उद्घाटन गर्नका लागि सिड्नी आए र उद्घाटन गरेरै फर्किए । उद्घाटनका दौरान उनी केही विवादमा पनि तानिए ।

ओपेरा हाउसका सामान्य सुरक्षाकर्मीले मन्त्री सहभागी टोलीलाई रोक्ने हिम्मत ग¥यो अनि मन्त्रीको अपमान गरियो भन्ने अभिप्रायका समाचार बाहिरिए । नेपालमा मन्त्री भनेको सामान्यभन्दा विशिष्ट, सामान्य व्यक्तिले छुन नसक्ने विशेष खालको मानिस हो भन्ने बुझिन्छ । तर यहाँ सबै समान हुन्छन्, नियमले काम गर्छ, कानुनभन्दा माथि कोही हुँदैन । यहाँ त्यो घटना सामान्य मात्रै थियो । मन्त्रीलाई देवत्वकरण गर्ने प्रवृत्ति रहेको देशमा यसले ठूलो हलचल पैदा गर्नुलाई हाम्रो समाजको वर्गीय तथा सामन्ती सोंच र चेतनाको स्तरलाई पनि उजागर गरिदियो त्यो घटनाले ।

जब मान्छेले कुनै पनि घटनालाई तटस्थ दृष्टिकोणले हेर्ने क्षमता राख्न सक्दैन तब उसले त्यसको सही मूल्यांकन पनि गर्न सक्दैन । केही क्षणको वाहवाहीमा रमाउनका लागि समाज र राष्ट्रप्रतिको उत्तरदायित्व बिर्सेर एउटा मात्र पक्षको अवधारणा अघि सार्न खोज्नु ‘मूतको न्यानो’मा रमाउन खोज्नुजस्तै हो । यसतर्फ सम्बन्धित सबै पक्ष सजग हुनुपर्छ भन्ने उदाहरण त्यस घटनाले पुष्टि गरेको छ । कतिपय मामिलामा सत्यको घेरालाई दृष्टिकोणले फरक पार्न सक्ला तर जब राष्ट्रको गरीमा र छविको प्रश्न उठ्छ त्यतिखेर देशप्रेमीहरूका कलमले देशको छविलाई धूलिसात् पार्ने दृष्टिविन्दुमा पक्कै सजगताका साथ प्रस्तुत हुन्छन् र हुनुपर्दछ ।

यो घटनालगत्तै प्रवासी नेपालीहरू पार्टीगत रूपमा पक्ष र विपक्षमा विभाजित भए । कोही क्षेत्रीय हिसाबले घटनालाई व्याख्या गर्नतिर लागे भने कतिपयले व्यक्तिगत रिसइबीलाई पनि यसै मेसोमा सञ्जालका भित्तामा रङ्ग्याएर विपक्षीलाई कटाक्ष गर्दै सत्तोसराप गर्न पनि पछि परेनन् । प्रवासमा बसेर यहाँको नियम र पद्दति देखेर पनि हाम्रो प्रवृत्तिमा केही परिवर्तन हुन नसक्नु समग्र नेपालीका लागि दुःखको कुरा हो ।

दुई दिनको जिन्दगीमा आफ्नो परिवारको उज्वल भविष्यको महत्वकांक्षा लिएर कंगारूको देशमा भासिएका अधिकांश प्रवासी नेपालीहरू पार्टी, जात, क्षेत्र वा वर्गका हिसाबले कित्ताकाट भएर पौंठेजोरी खेलिरहनुले नेपालीको शाख यो भूमिमा गिराउने काम गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको भ्रमणले दुई देशबीचको सम्बन्धमा उचाइ थप्नुका साथै धेरैभन्दा धेर्रै अस्ट्रेलियाली पर्यटकलाई नेपाल लैजाने सन्दर्भमा निकै फलदायी भएको सरकारी पक्षको उद्घोष रहि आए पनि उनी आफ्नो पार्टीका कार्यकर्ताको सीमित घेराभन्दा बाहिर उठ्न सकेको कमसेकम यो भ्रमणका वेला देखिएन ।

यो राजनैतिक संस्कार र चरित्रले हाम्रो देशको राजनीतिक शक्तिको सञ्जाल आआफ्ना गुट, उपगुट तथा मनपर्ने कार्यकर्ताको जालोभित्र मात्रै रहेको स्पष्टसँग प्रवासमा पनि देखिएको छ । यो समग्र देशका लागि दुःखद् मात्रै होइन घातक कुरा पनि हो । यसतर्फ पनि सम्पूर्ण नेपालीहरू वेलैमा सचेत हुन जरूरी छ ।

पुस २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्