संस्कृतिको आधुनिक हत्या

आदि

लर्ड म्याकालेको एउटा सिद्धान्त बहुप्रचलित छ, ‘कुनै पनि देशमा शासन सत्ता विस्तार गर्नुछ भने त्यहाँको मूल्य, प्रणाली, भाषा र धर्मप्रतिको आस्था खण्डित गर्नु र नयाँ मूल्य प्रणाली लागु गर्नु।’ पश्चिमा समाजले म्याकालेलाई लर्ड पदवी दिएर उनको यो सिद्धान्तलाई प्रमुख मानेर ठूलै जत्था नेपालको मौलिकता मास्न लागिपरेको छ र यसले धेरै कुराहरुमा नेपालीलाई दिग्भ्रमित, खण्डित र विद्रोही बनाएको पनि छ। कसरी गरिन्छ त मौलिकताको हत्या?

राष्ट्रिय चिह्नमा लालिगुराँसयुक्त मालाको बीचमा महिला र पुरुषले हात मिलाएको चिह्न तर्जुमा गरेर सनातन नमस्कार संस्कृतिको हत्या गरिएको छ, जब कि वैज्ञानिक अनुसन्धानले पनि हात मिलाउनु हानिकारक मान्छ। ताण्डव मूलको पाङ्दुरे नाचको हत्या खयालीले गरेको छ। परम्परागत नृत्यहरुको फ्युजन हाइब्रिड हुन सक्थ्यो तर तथाकथित पश्चिमा कोरियोग्राफीले यसको हत्या गरेको छ। अलिया युरोपियाको अत्यधिक प्रचारले रैथाने अलिया नेपालेन्सिस जिब्राडको हत्या भएको छ, जसरी भारतीय मसलाले नेवारी मसलाको हत्या गरेको छ। शासकको कुबुद्धिले गर्दा विमान पण्डित अच्युतानन्द खरेलको विमान आविष्कारक पदको हत्या भएको छ र त्यसका मालिक राइट दाजुभाइ भएका छन्। हिलेमाछा खाएर रातोमाछा जोगाउने नेवारले आफ्नै संस्कृति खाइरहेका छन्।

बाघचाल र गाईचालको हत्या चेसले गरेको छ। मासुकै परिकार सयौँ भएको उपत्यकाको रेसिपीको हत्या केएफसीले खुलेआम गरिरहेको छ। छ्याङ् र मौलिक सिस्नोको वाइनलाई कोरियाली छ्याङ्ले मारिएको छ। थ्याङ्क्सगिभिङको टर्की सभ्यताले गढीमाईको हत्या गर्न ठूलो प्रयास गरेको छ र केही हदसम्म सफल भैसकेको छ।

ताल, पोखरी, मन्दिर र बगैँचाले सुशोभित काठमाडौँको हत्या कमलपोखरीहरुमाथि ठडिएका छायाँ सेन्टरले गरेका छन्। पशुपतिको मौलिक शैव सनातन परम्परालाई छ्यास्मिसे वैष्णव परम्पराले थिचेको छ भने सतपथ ब्राह्मणका सप्तर्षीलाई महाभारतका सप्तर्षीले थिचेका छन्। नेपालको झण्डाको पुरातनतालाई रामानन्द सागर र बिआर चोपडाका अनलाइन अनुसन्धानकर्ताले हनुमानध्वजको ओझेजमा पारेका छन् जुन नेपालको झण्डाको मौलिक स्वरुपको चोरी हो।

चोर्ने क्रम यति मै सीमित भने छैन। पेगनहरुबाट क्रिसमस ट्री र इस्टर एग चोरेको इसाई धर्मले जनैपूर्णिमा, दशैं, तिहार, फागु, ल्होसार, ल्होछार सबै–सबैको हत्या गर्दै योग विपश्यना र लामाफेरा र नृत्यहरुको चोरी गरिरहेको छ। विकासे धानले जेठो बुढो र मार्सीको हत्या मात्रै होइन हाम्रो जमिनको उर्वरताको समेत हत्या गरेको छ। सिउँडीलाई विस्थापित गर्‍याे शारङ्गधरको बेलले। थोरको परिकल्पनालाई पश्चिमले खायो। दोष यहाँको अज्ञानी मनोविज्ञान बाहेक अरु कसलाई दिने?

ज्योतिषको अपभ्रंसबाट जुडाइक बनेको पश्चिमले ज्योतिषको होरा चक्रमा स्कोप थपेर होरोस्कोप बनायो, यहाँसम्म कि जुडाइक साइनसमेत चोरेको छ नजानेरै भएपनि। बुरुन्डी र रुवान्डादेखि अफगानिस्तानसम्मको मौलिक संस्कृतिको हत्या भयो। दक्षिण अफ्रिका हातमा लिन त्यहाँका मौलिक संस्कृतिको हत्या पश्चिमले गर्‍याे। तास्मानियामा अबोरिजिन र अमेरिकामा रेड इन्डियनको जातीय हत्या भयो।

७ हजार वर्षभन्दा पुरानो सालभञ्जिकाको हत्या गर्‍याे मैदानको होलीले। थ्याङ्क्स गिभिङ र हलोइनको वास्तविक रुप नै थाहा नभएको अनुसरण गर्ने साइबर किरो नेपाली नवपुस्ताले सबै संस्कृतिको हत्या गर्छ। तीजको हत्या गर्न त को–को लागिपरेका छन् प्रष्टै देखिन्छ। योगनिद्राको हत्या लुसिड ड्रिमिङ्ले, विपश्यनाको हत्या माइन्डफूलनेस मेडिटेशनले तथा योगको हत्या रिल्याक्सेसन रेस्पोन्सले गरिएको छ। संस्कृतको हत्या अंग्रेजीले गरेको छ। पाउलो कोयलोको अल्केमिस्टको मौलिक ज्ञान र परिकल्पना नै पश्चिमको होइन। कर्णाली वास्तविक गङ्गा हो भने भारतीय गङ्गाले कर्णालीको महानताको हत्या गरेको छ। मकरधाराको आविष्कारक त नेपाल हो नै।

ढुङ्गेधाराको वैज्ञानिक मौलिकताको हत्या पानी किन्ने एटिएमले गरिएको छ। शिवजीलाई रातो चढ्दैन भन्ने थाहा हुँदाहुँदै पनि कमल चढ्ने विधि बनाएर शैव परम्परामाथि लात हानिएको छ। हुन त मूर्तिपूजक पुराणवादी भारतीयहरुले शिष्नेदेवाः त पहिल्यै भनेकै हुन्। दक्ष प्रजापतिको टाउको हेरेर बन्छ बोक्सेरो देव। डायनबाट बन्छ रोमनकी बनदेवी डायना।

नेवारले नै बनाएका अग्ला–अग्ला घर र व्यापारिक भवनहरुले तलेजु आस्थाको हत्या गरेका छन्। ससेज खाने जमातलाई थाहा छ कि छैन यो पूर्वी पहाडको देन हो ? स्किइङले खायो रडीलाई। हकीले खायो गमेगीर, टुमेगीरलाई। टाइ–कोटले खायो दौरा–सुरुवाल लाई। होली वाइनले खायो सनातन धर्मलाई।

अरुका संस्कृतिलाई राजनितिक अनर्थ र कुव्यवस्थाको सुकुल ओढाएर आफू अनुकुलको आम मनोविज्ञान सिर्जना गर्ने प्रवृत्ति नवऔपनिवेशिक हो।

एनाटमीको अध्ययन नेपालको हो। फरेन्सिक मेडिसिनबाट मृतक पहिचान गर्ने विधि तराइबाट सुरु भएको हो। तर म्याकालेको सिद्धान्तबाट दिक्षित नवपुस्तालाई यो जान्नु नै छैन र बन्नुछ उत्तरआधुनिक र अनादिकालदेखि पेलिँदै आएको यो स्थान पेलिनै चाहन्छ।

मध्य

ऋग्वेदमै नेपाल उल्लेख भएको देश हो। चाणक्यले लेखेको नीतिको हिन्दी अनुवाद पढ्नेले ऋग्वेद पढ्न नजाने केही भन्न सकिन्न बिचरा बाहेक। यजुर्वेदले उल्लेख गरेका ९० प्रतिशत जडिबुटी नै गण्डकी कास्की क्षेत्रमा पाइन्छन्, तर दक्षिणले लालिगुराँस समेतलाई हेप्छ। वैष्णवमतले मुसुरो खानहुन्न भन्ला तर वेदले भन्दैन।

भारतीय मैदानका विद्वानहरुमा आफूकहाँ नहुने बरु हिमाली र अन्य क्षेत्रमा हुने वनस्पतिका बोट र रुपरंगलाई समेत होच्याउने खसाल्ने र निन्दा गर्ने लामो परम्परा छ। स्कन्द पुराणको हिमवत्खण्ड पत्ता लगाउँदा नरहरिनाथले पिटाइ नै खानुपर्‍याे र आजसम्म पनि भारतले स्कन्द पुराण प्रकाशित गर्दा हिमवत्खण्ड प्रकाशित गर्दैन नै।

अरुका संस्कृतिलाई राजनितिक अनर्थ र कुव्यवस्थाको सुकुल ओढाएर आफू अनुकुलको आम मनोविज्ञान सिर्जना गर्ने प्रवृत्ति नवऔपनिवेशिक हो।

दक्षिण कोरिया, ताइबान, हङकङ, फिलिपिन्स र पूर्वी टिमोरसम्मले आफ्नो सांस्कृतिक पहिचान गुमाइसकेका छन्, र भारतले नेपालमा पश्चिमको सांस्कृतिक औपनिवेशिकता लाद्दै गएको छ। भारतमा नौ दिनसम्म पूजा गरेर नवरात्र मनाइन्छ भने नेपालमा जमरा राखेर, कोटमा हतियार पूजा गरेर, अक्षता लगाएर मनाइन्छ तर ‘राम ले रावण मारेकाले दशैं मनाइन्छ’ भन्ने आम मनोविज्ञान बनाउन भारत सफल भएको छ। टिभि सिरियल सम्मका रंगोली र मेहन्दीहरुको सिको नेपालीहरुले आफ्ना संस्कृतिमा गरेका छन्, नेपालको सांस्कृतिक पहिचान गुम्ने निश्चित छ।

देशका ९९ प्रतिशत बलि दिने मन्दिहरुमा जनजाति पूजारी छन् तर यसलाई बाहुनबादको नाम दिएर सनातन परम्पराकै जरो उखेल्न लागिएको छ भने आदिवासी जनजातिले नै सुरु गरेका चाडलाई जनजाति विरोधि लेप लगाएर बहिष्कारका लागि उक्साइएको छ। किनभने सनातन धर्मको बलियो पर्खाल भएर ब्राह्मणहरु उभिएका छन् र यिनीहरुलाई ढालेमा सनातन धर्म स्वतः ढल्नेछ।

उप–अन्त्य

मौलिक संस्कृति मास्न उक्साउनेमा पश्चिम एक नम्बरमा छ। डान चर्च, मेरि स्टोप्स सेन्टर, डिफिन, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायत, नेपाल बाइबल सोसाइटी, टिच नेपाल, हिमालयन बाइबल अध्ययन प्रतिष्ठान, नेपाल क्रिश्चियन बाल शिक्षा संगीत संस्था, एमनेष्टि इन्टरनेशनल, एक्सन एड, सेभ द चिल्ड्रेन जस्ता गैरसरकारी संस्थाहरु गाउँ गाउँमा पठाएर खानासँग धर्म साटिन्छ । बहुसङ्ख्यकका विरुद्ध अल्पसंख्यकलाई संगठित गरेर, मानव अधिकार र ट्रेड युनियन अधिकारका नाममा आफ्ना एजेन्डा बोकाइन्छ र अस्थिरता जन्माइन्छ।

कतै नेपाली टोपी बर्जित गरिन्छ भने कतै चुच्चो नाक र थेप्चो नाकको लडाईँ सिर्जना गरिन्छ। कतै गान्धीको पूजा चल्छ भने कतै पृथ्वीनारायण शाहको शालिक उखेल्न र थुक्न लगाइन्छ। रसियन भाषाको एकता तोडिदिँदा सन् १९८६ मा १५ टुक्रामा जसरी रसिया टुक्रियो त्यसरी नै भाषाको एकता टुटाइन्छ र हिन्दीमा अभ्यस्त बनाइन्छ। उनान्नब्बे र त्रियान्नब्बे भन्ने अंकसमेत नबुझ्ने गरी अंग्रेजी घुसाइन्छ। दशैंमा कालो टिका लगाएर विरोध जनाउन स्वयं जनजाति अगाडि सारिन्छ।

स्वस्थानीका किताबमा बाइबल बेचिन्छ। हिन्दु धर्मका त्रिदेवलाई त्रिनिटिको तुच्छ घटिया रुप बताइन्छ, अनुवाद नै गर्न नमिल्ने पूजालाई वर्सिप, गुरुलाई सेन्ट, साधनालाई प्रेयर, आत्मालाई सोल, ईश्वरलाई गड, धर्मलाई रिलिजन, यज्ञलाई सेक्रिफाइज, असुरलाई डेमन र शिवलाई डिस्ट्रोयर बनाइन्छ। योग योगा बन्छ, आसन आसना बन्छ, निर्वाण निरभाना बन्छ, मण्डल मण्डला बन्छ।

काला र गहुँगोराहरु हाम जातिका असभ्य हुन्, हामी सभ्य हौं भन्ने मानसिकता बोकेको गोरो छालाले असभ्यहरुलाई सभ्यता सिकाउने नाममा नयाँ रुपरङ्गका दासको खोजी गरिहिँड्छ, दास बनाएपछि त्यहाँका सम्पदा र स्रोत साधन आफ्नो बनाउने लक्ष्य त छँदैछ।

अर्कोतिर मिडियाबाट हमला गरिन्छ । बलात्कारको स्रोत हिन्दू धर्म हो भन्न लगाइन्छ र ठूला ठूला बहस गरिन्छ। राममाथि दूर्वाच्यसहितका लेख लेखिन्छ र इन्द्रमाथि विभिन्न आक्षेप लगाइन्छ। साना–साना नानीलाई ‘बुबा र दाई घर भएको बेलामा घर नबस बलात्कार गर्छन्’ भनेर सिकाइन्छ जबकि दाजुबहिनीको जस्तो पवित्र सम्बन्ध हाम्रोमा जति अन्त कतै छैन।

अन्त्य

माओवादीको मुखुन्डो लगाएर सिआइएबाट विखण्डनको खेल खेलिन्छ। १२ वर्षीया बालिकाको बलात्कारमा सजाय पाएका व्यक्तिको पक्षमा जर्मनीबाट चर्चित पत्रिकामा लेखिन्छ ‘क्रिश्चियन भएकै कारण गोविन्द ढकाललाई बलात्कारमा कठोर सजाय दिइयो’। बलात्कारीलाई पूजा गरेर राख्ने ? मनुस्मृति मानेर गएका भए त्यस्तालाई मारिदिनुपर्थ्याे।

जातिवादको नारा मनुस्मृतिलाई केन्द्रमा राखेर नेपालभरि चर्काइएको छ। भारतमा यसरी नै अभ्यास गरिएको थियो तर मोदी सरकारले हजारौं गैससलाई प्रतिबन्ध लगाएपछि केही कम देखिएको छ तर कन्हैयाहरु जन्मिइरहन्छन्। गुठी विधेयक होस् या शहरी व्यवस्थापन विधेयक ल्याउँदा होस् यहाँका विशिष्टतम संस्कृतिमाथिको प्रहार रोकिँदैन। गुठी जस्तो मौलिक र संसारकै नमुना प्रयोगलाई चोरी गरेर ट्रस्टबाट डलरखेती गरिन्छ र गुठीलाई धुलिसात पार्ने षड्यन्त्र रचिन्छ। प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान जस्ता संस्थाहरुबाट संस्कार अवधि घटाउने जस्ता कार्यक्रम र गोष्ठीको आयोजना गरिन्छ र प्रश्रित जस्ताबाट बोलिन्छ ‘समय सापेक्ष हिसाबले घटाउनुपर्छ।’

१३ दिने संस्कारका विकार जस्ता आधारहीन लेख लेखिन्छ र भनिन्छ ‘आफन्तको मृत्युमा सबैसँग बसेर रुनुपर्छ धेरै रोयो भने पीडा आँशुबाट बग्छ र मन हल्का हुन्छ, लगत्तै अर्को अनुच्छेदमा लेखिन्छ यो संस्कारले गर्दा धेरै रुनुपर्छ र शक्तिको नाश हुन्छ’ त्यसैले यो संस्कार ठिक छैन। शीर्षक देखेर नपढी सामाजिक सञ्जालमा शेयर गर्नेहरु ७८ प्रतिशत रहेको अनुसन्धानले देखाउँछ, यो शीर्षक मात्रै विष फैलाउन काफी हुने जमानामा विषाक्त शीर्षकहरुको बाढी सामाजिक सञ्जालका जञ्जालमा बाह्रै मास उर्लिन्छन् र लेखिन्छ ‘असोज महिनालाई चाडपर्व मिलाउको लागि पात्रोबाट हटाउनु पर्छ।’ उद्देश्य छर्लङ्ग छ।

दलितले आफ्नो थर गोत्र नै हराए बिर्सिए भनेर लेख्ने लेखकले नै थर लेख्दैन र भन्छ दलितहरुलाई ब्राह्मणवादी सामन्त वर्गले हेपेर राखेर थर लेख्न दिएन, श्राद्धमै तीन पुस्ते दोहोरो नाता खोज्नेले ? सामन्तले थिचेर राखे जग्गा छैन भन्दै गर्दा जगमान् गुरुङ्ग सप्रमाण हाजिर हुन्छन् बाहुनको जात खस्दा सुँगुर खाने राईले सुनपानी छर्केर बाहुनको जात उकासिदिएको कुरा लिएर। कुनैपनि नेपाली जग्गाविहीन छैन।

हामीलाई लाग्छ अमेरिकामा त जातिप्रथा नै छैन। तर अझैपनि काला खेलाडीसँग चर्चीत क्लबबाट खेल्ने चर्चित खेलाडीले नै हात मिलाउँदैनन्। वर्ग नै जातिवादमा खडा हुने हो। अमेरिकाको राष्ट्रपति नै फलानो पन्थको अनुयायी हुनुपर्ने तर नेपालमा दुहाई भने धर्म निरपेक्षताको ? अम्बेडकरको पुस्तक जातिको उन्मुलन नपढे जातिप्रथा बुझिँदैन लेख्नेले कति बुझ्यो होला जाति प्रथा ? पूर्वप्रधानमन्त्री भैसकेको र अब कसैले नामै लिन नचाहने र थाहा पनि नपाउने एउटा बाहुन ‘दलितले बाहुनलाई सिध्यानुपर्छ’ भनेर फुकिहिँड्छ।

कसैले लामो अवधि नाचेर रेकर्ड राख्दा रातभर बालन खेल्ने कता गए ? कसैले लामो समयसम्म गाएर रेकर्ड राख्दा रातभर गाएर पिचम्मालाई खुशी बनाउनेहरु कता गए ? हुन त नर्वेको इतिहास सिध्याउन १५० वर्ष लाग्यो (सन् १००० देखि ११५०) तर नेपालको त १५ वर्षमै आधाउधी सकिइसकेको छ र विखण्डनको राजनीति चरमतामा पुगिसकेको छ। कसले भन्न सक्दैन अबको २० वर्षमा ३ लाख नेपाली पनि यो भूमिमा भेटिँदैनन् भन्नलाई?

स्यामुअल हन्टिङटनले क्ल्यास अफ सिभिलाइजेसनमा ‘ठूला संस्कृतिले सानालाई खान्छ’ भन्ने तर्क राखेका थिए। सयौँ वर्षसम्म यहाँ साना ठूला संस्कृतिहरु पल्लवित भए, एक अर्कालाई खाएनन्, बरु सघाए। कसैले उँभौली उँधौली मनाउँदा कसैले भँयर पूजे, माघे संक्रान्ति होस् या अरु चाड, एउटाको चाडमा अर्को बेखुश कहिल्यै भएन तर विगत १५ वर्षमा छिरेको नव औपनिवेशिक प्रवृत्तिले सारा धर्महरु निल्दै गैरहेको छ।

दृष्टिकोणको अर्थ हो सात किसिमले हेर्नु। उत्तरआधुनिकहरुलाई अपाच्य लागे पनि भन्न विवश छु कि नेपाली समाज अन्धो छ। सात किसिमले हेर्ने कुरा त परै जाओस्। मनोविज्ञान नै पराधीन निर्माण गरिएको छ। सौरभ भन्छन्:  ‘ज्ञानको पूर्ण औपनिवेशिकरणले दबिएको आम मनोविज्ञान पराधीन नै हो। आफ्नो अस्तित्वलाई नचिन्नेले आफ्नो कदर गर्दैन। बाल मस्तिष्कबाटै हिनताबोध सिकाइएको नेपाली समाज पराधीन स्वतन्त्र हुन स्वयं अभिशप्त छ।

जतिसुकै हामीले क्रान्तिको कुरा गरेपनि हाम्रो परम्पराभित्र हामी सम्मिलित भएनौँ र त्यो परम्परालाई नयाँपन दिन सकेनौँ भने हाम्रो नयाँपनको लागि आग्रह फजुल भएर जान्छ। माछा गहिरो पानीमै जान्छ। पूर्वीबाट पश्चिम पहाड, पश्चिम पहाडबाट उपत्यका र तराई त्यसपछि मध्यपश्चिमदेखि पश्चिमा संसारसम्मको बसाईसराइलाई उचित ठहर्याउन यो पानी र माछाको तर्क अगाडि सार्ने गरिन्छ। त्यो क्रममा तिनले पश्चिम नेपालमा झण्डै दुई हजार वर्ष लगाएर खडा गरेका भव्य स्थापत्य, तिनका कला संस्कृति, व्यवस्था र अनेकौँ मूल्यमान्यताहरुलाई पनि तिनले त्यागे निरन्तर। जमेको पानीमा भन्दा बहेको पानीमा स्वच्छता निश्चय नै हुन्छ तर बारम्बार अनेक संस्कृति स्थापत्य र धरोहरहरुसँग घस्रिँदै जाँदा ती बाफ भएर उडे र उडिरहने छन्।

हिन्दु धर्मले भूमध्य सागरको किनारबाटै कुमुदिनी कुवलय (निम्फिया लोटस) बुद्ध धर्मले लाहोरबाट पुण्डरिक (निम्फिया अल्वा) त्यसैको हाँगो बज्रयानले नीरकमल (निम्फिया स्टेलाटा) र मुन्धुमले बाबरी फूल/आन्दाङ्फुङ् (एनिसोमेलस मलबारिका) समातेको थियो र ती सबै एकाएक चुँडिए धर्मनिरपेक्षता सँगै।

मन्दिरमा चर्च , फाल्गुनन्दको आश्रम होस् या मेन्छायम धाप, या साल्पा पोखरी र रानी पोखरी या गोरख पादुकास्थान केही बाँकी रहने छैनन्। आतंकवादले प्रवेश गरिसकेको छ र दुई भिन्न समाज प्रष्टसँग देखिइसकेको छ। अब २० वर्षमा नेपालीको जनसंख्या  २० प्रतिशत पनि रहला कि नरहला, जनमत गराइएला देश गाभ्ने विषयमा र नेपाली ल्याएर देश बचाउँछु भन्दा कति नेपाली भेटिएलान् ? आफ्नो संस्कृति गलत भए सच्याउने हो नयाँ अपनाउने होइन भन्ने थाहा नहुनेलाई जंगलतिर फर्किन मन लाग्छ भने जाओस् जंगलतिरै।

सन्दर्भ स्रोत:

असंगति – सौरभ

असहमति – सौरभ

सौरभका पच्चिस वर्ष – सौरभ

बडादशैँ कसको बाहुनको रु – अनलाइनखबर डट कम।

१३ दिने संस्कारका विकार – किरण विक

गुठीबारे भ्रम र यथार्थ – केदारभक्त माथेमा – नागरिक न्यूज

गुठी जग्गा होइन सम्पदा हो – संस्कृतिविद् डा. गोविन्द टण्डन। हिमालखबर

धेरै दलितले आफ्नो थर र गोात्र नै बिर्सिसके – आहुति। उज्यालो अनलाइन जुन ६, २०१९

जग्गा हडप्ने र जागिर दिने दाउ: गुठी कानुन संशोधन विधेयकमा सरोकारवालाको आपत्ति । जेष्ठ २२, २०७६ । दामोदर न्यौपाने

समाजमा वर्ग र वर्ण – नयाँ पत्रिका दैनिक । मे १०, २०१९

हिन्दु समाजमा वर्ण व्यवस्था – विन्देश्वर गोइत । नयाँ पत्रिका दैनिक । फेब्रुअरी १३, २०१९

श्रीलंकाको समुदायमा कट्टरता कसरी पस्यो ? – अमिना हुसेन, मे ६

धर्म प्रचारमा आइएनजिओ – अन्नपूर्ण पोष्ट । गोविन्द लुइँटेल । ०७ वैशाख २०७६

मुन्धुम, दर्शन र हाक्पारे – वैरागी काइँला । नयाँपत्रिका जनवरी ११

नेपाल मेट्न यतिसम्म हुँदा पनि नेपाली मौन ? – देवप्रकाश त्रिपाठी । घटना र विचार, नोभेम्बर १८, २०१८

विदेशी संस्थाहरुले नेपालमा गरेका अत्याचारका केही झलक – राजकुमार रेग्मी । सरलपत्रिका । नोभेम्बर १३, २०१८ ।

हिन्दुका बिदा किन काटिए ? – शान्तिकृष्ण अधिकारी । नेपालसमय

दशैंमा रातो टिका लगाउने सभ्यता पहाडी जनजातिले सुरु गरेका हुन् – जगमान गुरुङ्ग । चक्रपथ डट कम

आइएनजिओ नियन्त्रण गर्न ढिला नगर, सरकारले कठोर कदम चाल – राजकुमार रेग्मी । सरलपत्रिका डट कम, सेप्टेम्बर १८, २०१८ ।

माक्र्स र क्राइस्टबाट मुक्ति – सौरभ । नयाँ पत्रिका । सेप्टेम्बर १३, २०१८

बलात्कार बहस : दोष धर्मग्रन्थमा कि विषाक्त ग्रन्थिमा रु – मात्रिका पौडेल । अनलाइन खबर २०७५ भदौ १५ ।

अब मृत्यु संस्कार तीन दिनमै, १३ दिने संस्कार हट्दै – दैनिकनेपाल डट कम ।

नदेखिने शत्रु – युवराज गौतम । नागरिक न्यूज ।

पूर्वीय दर्शनविरुद्धका चलखेल – अन्नपूर्ण पोष्ट ।

कमलपोखरी हडप्ने ११७ वर्षे तिगडम – जेवी पुन मगर । फ्रि प्रेस नेपाल डट कम । फेब्रुअरी १, २०१९ ।

आधुनिकीकरण पश्चिमीकरण होइन – टिकाराम यात्री । अन्नपूर्ण पोष्ट । जुलाई १४, २०१७

नेपलामा पैसाले इसाइ धर्माबलम्बी बढाइँदैछ – द गार्जीयन । बाह्रखरी डट कम ।

सांस्कृतिक आक्रमणका औजार – मोहन बञ्जाडे । नागरिक न्यूज

होमो डियस – युवल नोहा हरारी ।

नेपालमा डलरवाद: समाज र संस्कृतिको फ्रि फल – तीर्थ प्रसाईं । लोकसंवाद डट कम । डिसेम्बर ८, २०१९

सौन्दर्यचेत –सौरभ । झन् नयाँ, नयाँ पत्रिका दैनिक । नोभेम्बर ९, २०१९ ।

साइन्स एण्ड रिलिजन – युवल नोहा हरारी । वाइहरारी डट कम ।

तीज बहिष्कार – सौरभ । कान्तिपुर

४० भन्दा बढी मन्दिरै गायब – अन्नपूर्ण पोष्ट

मष्टा देवताको ऐतिहासिकता र बझाङ्ग जिल्ला – सेतोपाटी ।

उद्यमिको भेषमा धर्मप्रचारदेखि जासूसीसम्म – हिमालखबर डट कम ।

यौन हिंसा पुराणकालदेखि आजसम्म – कान्तिपुर ।

एकनाथ ढकालको धर्मशास्त्र : महिला जोडले हाँस्नुहुँदैन –अनलाइनखबर ।

मलाइ रामजस्ता भगवान् सँग बिहे गर्न डर लाग्छ – नयाँपत्रिका दैनिक

पुस २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्