असाधारण नेतृत्व क्षमताका राजा पृथ्वीनारायण शाह

इशापूर्व ३२१-१८५ मा भारतमा मौर्यहरुको विशाल साम्राज्य थियो। उक्त साम्राज्यको सीमा नेपालको तराईसम्म आइपुगेको बारे विख्यात भारतीय इतिहासकार रोमिला थापरले उल्लेख गरेकी छन्। चक्रवर्ती सम्राट अशोक (इशापूर्व  ३०४- २३३) ले आफ्नी एउटी छोरी नेपालका एक भारदारलाई विवाह गरिदिएको सन्दर्भलाई पनि थापरले लेखेकी छन्। ()

उक्त सन्दर्भलाई मध्यनजर गर्दा तत्कालीन नेपाल सानो र काठमाडौँ उपत्यकामा नै खुम्चिएको थिएन। यसको प्रभाव र प्रसिद्धि सबैतिर फैलिएको थियो र नै अशोक जस्ता सम्राट आफ्नी छोरी दिन नेपाल आइपुगेका थिए । इतिहासकार ज्ञानमणि नेपालले सम्राट समुद्र गुप्त ( सन् ३३५-३८०) को हरीषेण लिखित स्तम्भलेखमा पूर्वमा आसाम र पश्चिममा कुमाउँवीच नेपाल अवस्थित थियो भनी  उल्लेख गरेको (सन्दर्भलाई समेत विचार गर्दा तत्कालीन नेपाल राज्यको  आकार बुझ्न सकिन्छ।

पछिका वर्षहरुमा नेपाल ससाना विभिन्न  राजा रजौटाहरुमा विभाजित  हुँदै गयो र चन्द्रागिरी र साँगा भन्ज्याङ वीचको भूभागले मात्र  नेपालको परिचय बोक्न थाल्यो।

लमजुङ्गका राजकुमार द्रव्य शाहले सन् १५५९मा सल्यान, प्युठान,अर्घा, इस्मा  लगायतका विभिन्न राज्यबाट बसाइँ सरेर आएका अर्जेल, पांडे, पन्त, राना, बोहरा, खनाल थरका युवा ब्राह्मण, क्षत्रिय र मगर जातका व्यक्तिहरूको मद्दतबाट करीव दुइ हजार वर्गकिलोमिटर क्षेत्रमा गोर्खा राज्य स्थापना गरेका थिए।

नवस्थापित राज्यमा  गणेश पाँडे – काजी, नारायण अर्जेल – राजगुरु, सर्वेश्वर खनाल – राजपुरोहित, भगिरथ पन्त – सेनापति, केशव बोहरा – भूमि व्यवस्था  र गंगाराम राना – न्याय प्रशासन प्रमुख थिए। राज्यको स्थापना र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उपरोक्त व्यक्तिका थर  छ थर-घर भनेर पछिसम्म गोर्खा र नेपाल दरबारमा  प्रसिद्ध थिए।

द्रव्य शाहका २० वर्षको उमेरमा राजा भएका नाति राम शाहको राज्य गण्डकी क्षेत्रमा विस्तारित थियो र उनको राज्यको  उत्तरी सीमा केरुङ्गसम्म पुगेको थियो।

सबै प्राचीन धर्म ग्रन्थ  र स्थापित सामाजिक परम्पराहरु समेतलाई अद्यावधिक गरी धर्म-कर्म, सामाजिक तथा  आर्थिक व्यवहार, उद्योग-धन्दा, न्याय व्यवस्था  जस्ता नागरिक र राज्य जीवनका सबै पक्षलाई समेट्ने नियम बनाई जारी गरेका कारण राम शाह नेपालको इतिहासका एक प्रमुख सुधारकमा गणना हुन्छन्।

यस सम्वन्धमा एउटा अत्यन्त महत्वपूर्ण  कुरा के रहेको छ भने यस्तो नियम जारीगर्दा तत्कालिन नेपालका शक्तिशाली गलकोटे राजा नर मल्लको सह आयोजकत्वमा  वरिपरीका सबै राज्यहरुको एउटा सम्मेलन आयोजना गरेर रामशाहले ती नियमहरू घोषणा गरेका थिए।

डा. डिल्लीरमण रेग्मीका अनुसार सबै राज्यहरुका लागि महत्वपूर्ण विषयहरू उपर छलफल गर्न राजा रामशाहले समय समयमा त्यस्ता शिखर बैठकहरू आयोजना गर्ने गर्थे। ()

जनवरी १७२३ मा द्रव्य शाहका नवौं पुस्ता र  रामशाहका सातौं पुस्तामा पृथ्वीनारायण  शाह जन्मिए।

ललितपुरको राजमुकुट   मिरकासिमको सेनासँग युद्ध 

ललितपुरमा त्यहाँका भारदार तथा काजीहरुको विगविगी लामो समयदेखि  चलिरहेको थियो। राजकाज उनीहरू आफैं चलाउँथे  तर जनताको लगाव र निष्ठाको कारण धार्मिक  र सांस्कृतिक कार्य गर्न र टकमा नाउँ राख्न भने राजा नै चाहिने परम्परा कायम  थियो। यसैक्रममा उनीहरुले कहिले काठमाडौँका राजा जयप्रकाश मल्ल र कहिले भक्तपुरका राजा रणजित मल्ललाई राजा बनाउने गर्थे।

सम्वत १८१७ असोजमा  ललितपुरका राजा विश्वजित मल्लको हत्यापछि ललितपुरका प्रधानहरुले पृथ्वीनारायण शाहलाई ललितपुरको राजा हुन आमन्त्रण गरे।

त्यतिखेर पृथ्वीनारायण शाह उपत्यका विजयको अभियानमा थिए। उनको सेना उपत्यका घेरेर बसेको थियो। यो प्रस्ताव उनको लागि चुनौती थियो तर पनि  ‘असली हिन्दुस्तान’ निर्माण गर्ने  महान  लक्षमा लागिपरेका उनका लागि उपत्यकाको एउटा प्रमुख राज्यको राजमुकुटको प्रस्ताव पन्छाउनु  उचित लागेन‍।

ललितपुरका काजीहरुको राज्य अराजकतालाई नियन्त्रण गर्न सकिन्छ कि भन्ने पनि उनलाई लागेको थियो। त्यसैले उनले पाटनको राजा हुन स्वीकार गरे र आफ्ना प्रतिनिधिको रुपमा भाइ दलमर्दन शाहलाई पठाए।

ललितपुरका राजा भएपछि ललितपुरमा  यिनको नाउँमा निकालिएको  सिक्कामा गोर्खाका राजाहरुले परम्परादेखि नै अङ्कन गर्दै आएको  आफ्ना  इष्टदेव गोरखनाथको नाउँको ठाउँमा ललितपुर राज्यको इष्ट देवता मच्छिन्द्रनाथको अर्को नाउँ लोकनाथ नाउँ अङ्कित गराएको  उल्लेख इतिहास शिरोमणि बाबुराम आचार्यले गरेका छन् ।

विजित प्रदेशहरु र अन्य राज्यका जनताको भावना प्रति पृथ्वीनारायण शाहको गहिरो सम्मानको यो एउटा उदाहरण हो ।

रोमीला थापरका अनुसार सन् ८७८ सम्ममा नेपाल एउटा स्वतन्त्र र सम्वृद्ध राष्ट्रको रुपमा स्थापित भइसकेको थियो। भारत र तिब्बतको वीचको व्यापारको मुख्य मार्ग भएकोले  नेपाललाई यो  सम्वृद्धि प्राप्त भएको थापरको भनाइ छ। एघारौं शताव्दीमा राजा गुणकामदेवले व्यापारबाट प्राप्त विराट आयको बलमा काठमाडौँ उपत्यका लगायत वरिपरि अन्य नगरहरू बसाएका थिए। नेपालको यो सम्वृद्धिको खवर देश-देसाबरसम्म फैलिएको थियो । त्यसैले सन् १३४५मा बङ्गालका राजा  बनेका शमसुद्दीन इलियासले  १३४९ मा तिरहुत हुँदै नेपाल पसेर लुटपाट मच्चाए।

शमसुद्दीनले  श्री पशुपतिनाथ सहित पाटनको अशोक चैत्य र श्रीस्वयम्भुनाथलाई ध्वस्त पारेको र तीनै शहरमा आगो लगाएको उल्लेख  सूर्यविक्रम ज्ञवाली र डा. डिल्लीरमण रेग्मीले गरेका छन्। ()

शमसुद्दीनको आक्रमणको करीव ४०० वर्ष पछि पृथ्वीनारायण शाहको विजय अभियान चलिरहेको बेलामा  बङ्गाल र विहारका नवाव मिर कासिमले  नेपालमाथि आक्रमण गरे। मिर कासिमको नेपालमाथिको आक्रमण मूलत: तीन उद्देश्यले भएको बुझ्न सकिन्छ–

एक, बङ्गाल र विहारमा अंग्रेजहरुको दवाव बढ्दैगएको अवस्थामा आफ्नो परिवार र सेनाको  सुरक्षाको लागि नेपालको पहाडी भूभाग उपयुक्त स्थान हुन सक्थ्यो। विगतमा भारतमाथि मुसलमानहरुको प्रभुत्व बढ्दै जाँदा कतिपय राजपुत र ब्राह्मणहरू शरणको लागि नेपाल पसेको उनको जानकारीमा रहेको हुनु पर्दछ।

दोस्रो, मकवानपुर सहित चौविसी राज्यहरूमाथि मिर कासिमको प्रभाव थियो । त्यो प्रभाव र प्रभुत्वको रक्षाका लागि पनि गोर्खाको विजय अभियानलाई रोक्नु उनकालागि जरूरी थियो।

तेस्रो, नेपालको सम्वृद्धि बारे पनि सुनेका र भारतका हिन्दु मन्दिरहरू जस्तै नेपालका पशुपतिनाथ जस्ता मन्दिरहरूमा संचित रहेका सुन चाँदी लगायतकाधन  सम्पत्तिको विशाल भण्डार  बारे पनि शमसुद्दीनकै पालादेखि भारतीय मुस्लिम शासक जानकार थिए।

रोमिला थापरले पनि उल्लेख गरेकी छन् – मन्दिरहरू आफैं ठूला भूस्वामी हुने, मन्दीरको आफ्नै अर्थतन्त्र हुने, कवि, कलाकार शिल्पकार लगायत असंख्य व्यक्तिहरुको रोजगारदाता पनि मन्दिरहरू हुने भएकाले त्यस्ता मन्दिरहरू आफैंमा शक्ति र सत्ताका केन्द्र बनेका हुन्छन्।

चौथो, हिन्दु मन्दिरहरू धार्मिक पूजाआजाका स्थल मात्रै नभएर  ती हिन्दु समाज व्यवस्थाका केन्द्रीय सुषुम्ना पनि हुन्। प्रवल जनआस्थाका केन्द्र हुने गरेका, धार्मिक र सामाजिक समागमको महत्वपूर्ण स्थल रहने गरेकाले त्यस्ता मन्दिरहरू सत्ताको विरोध गर्ने स्थल पनि हुनसक्ने हुँदा त्यस्ता मन्दिरहरुको विकास, संरक्षण, सम्वर्द्धन र गतिविधिमा शासकहरुको रुचि र सरोकार निर्माण हुने हुनाले हिन्दु  राष्ट्र र समाजलाई ध्वस्त पार्न मुसलमानहरुले मन्दिरहरुलाई लक्ष बनाएका देखिन्छन । यो कुरालाई राम्रोसँग बुझेका पृथ्वीनारायण शाहले मिरकासिमको  आक्रमणलाई निस्तेज गराएर नेपालको हिन्दु समाजको सुरक्षा गरे।

सैन्य रणनीति  कूटनीतिका महानायक  

पृथ्वीनारायण शाहले खास शिक्षा प्राप्त गरेका थिएनन्। उनलाई दरवारमै शिक्षा दिने शिक्षकहरू पनि  विशिष्ट विद्वान थिएनन्।

नरभूपाल शाहको राज्य संचालनलाई नजिकबाट देखेर-सुनेर जानेको अनुभव साथै  जेठी आमा चन्द्रप्रभावती र गोर्खा दरवारका गुरु –पुरोहितहरुबाट सामान्य शिक्षा पाएका उनी २० वर्षकै उमेरमा राजा भए।

त्यो उमेरमा राजा भएका पृथ्वीनारायण शाहले आफ्ना सहयोगी र सल्लाहकारहरूको  चयनमा देखाएको  विलक्षण  राजनीतिक क्षमता र दूरदृष्टिले नै उनलाई आफ्नो लक्षमा सफल बनाएको बुझ्न सकिन्छ।

लुडविग स्टिलर अनुसार पृथ्वीनारायण शाह  आफ्ना  सुयोग्य सहयोगीहरूको  परामर्श र सल्लाहहरूलाई सम्मान गर्न जान्दथे ।  फ्रान्सिस हेमिल्टनलाई  उद्धृत गर्दै स्टिलरले उल्लेख गरे अनुसार आफ्ना विराट महत्वाकांक्षा, उत्कृष्ट निर्णय क्षमता, अविराम सक्रियता र महान साहशका स्वामी पृथ्वीनारायण शाह आफ्ना सहयोगी र आफूमा आश्रित व्यक्तिहरूमाथि भर पर्थे र उनीहरूप्रति  अत्यन्त दयालु  पनि रहने गर्दथे ()

पृथ्वीनारायण शाह  कूटनीति र धर्म शास्त्रका सवालमा मात्रै नभएर प्रजातान्त्रिक आचरणमा पनि अब्बल थिए भन्ने कुराको उदाहरण देहाय अनुसार बुझ्न सकिन्छ।

राजा हुने वित्तिकै तीर्थ यात्रामा जाने परम्परा  अनुसार पृथ्वीनारायण काशी गए। तर उनको काशी यात्रा धार्मिक उद्देश्य मात्र थिएन। यो भ्रमणमा उनले  महत्वपूर्ण रणनीतिक लक्ष पनि तय गरेका थिए।

त्यतिखेर बनारस धर्म र ज्ञानको केन्द्र मात्र थिएन, बिहार र बङ्गाल  तथा अवध राज्यसहित तत्कालीन भारत र नेपालका शासक र भाइभारदारको बाक्लो जमघटको  केन्द्र पनि थियो।

काशीमा पृथ्वीनारायणले तत्कालीन भारतीय र नेपाली  राजनीतिको गम्भीर समीक्षा गरे , केही बन्दुक तथा हातहतियारहरू समेत खरिद गरी विभिन्न  भारतीय सुरक्षा चौकीहरूबाट ती हतियार जोगाउँदै  त्यस्ता हतियार बनाउने केही कालिगढहरू समेत लिएर उनी सुरक्षित गोर्खा फर्किए।

फर्किनु अघि  उनले काशी भ्रमणमा  रहेका  जाजरकोटका राजा  हरि शाहसँग शान्ति  र मैत्री सन्धि गरे – जसमा एक  देशको  शत्रु र मित्रुलाई अर्को देशले पनि समान व्यवहार गर्ने प्रतिवद्धता  उल्लेखित थियो।

गोर्खा फर्किएपछि विभिन्न राज्य पदाधिकारीहरुको नियुक्तिको क्रममा काशी यात्रामा आफ्नो साथमा रहेका विराज बखेतीले प्रदर्शन गरेको   क्षमता र प्रतिभाबाट पृथ्वीनारायण औधी प्रभावित थिए । त्यसैले बखेतीलाई नै काजी बनाउने  उनको भित्री चाहना थियो । तर राजा राम शाहको पालादेखि नै  जसलाई प्रजाले रुचाएका हुन्छन उसैलाई काजी बनाउने परम्परा रहेकोले उनले गोर्खाका १२ हजार घरधुरीमा नै जनमत बुझ्न दूत खटाए । जनमत बुझेपछिको सन्दर्भलाई उनले यसरी उल्लेख गरेका छन् –

“ मलाई ता  रिझायो दुनिया जस् देषी राजि रहन्छन उसैलाई कजाई दिनु भन्ने शास्त्रमा पनि कहेको छ  दुनियाँमा बुझिहेरुं भनी बुझी हेर्दा दुनियाँबाट पनि कालु पांडेको चाहा रहेछ र कालु पांडेलाई कजाई दिनु  भया हामी दुनियादारमा  छहारी रहँदो भन्या सल्लाह दिया”।

राष्ट्रको एकीकरण अभियान संचालन गर्नु साथै अन्य राष्ट्रहरुसँगको सम्वन्ध मित्रतापूर्ण पनि बनाउनु पर्ने चुनौती पनि उनी सामू थियो। त्यसैले काजी चयन गर्दा विदेश नीति संचालनमा कुशलता र  कूटनीतिक दक्षता पनि हेरिनु पर्दछ भन्ने कुरो  त्यो उमेरमै  पृथ्वीनारायण शाहले बुझेका थिए।

यसै वीच परस्पर मित्रताको उद्देस्यले उनी लमजुङ्गका राजा रिपूमर्दन शाहलाई भेट्न गए। दुवै देशको सीमाको चेपे नदीमा राजा रिपुमर्दनसँग भेट भयो। त्यहाँ लमजुङगे राजासँग जे कुरा गरेर मित्रता बाँध्नु पर्ला भन्ने सोच उनको मनमा थियो, त्यही कुरा कालु पांडेले गरेर लमजुङ्गसँग मित्रता कसे। यसले आफूलाई “आसर्जे” लागेको उनले बताएका  छन्।

काजी  बनाइँदा बाइसी-चौबिसी राज्यसँग  मित्रता बलियो पार्नसक्ने व्यक्ति हुनु पर्दछ भन्ने विचारले उनीहरुको मत बुझ्दा “ बाइसी-चौविसीबाट पनि कालु पांडेकै चाहा रहेछ र कालु पांडेलाई कजायी भया घाहा घराइस बलियो राषन्यैछ भन्या सल्लाह दिया  . . .  ज्याधा बुद्धी कालु पांडेकै ठहर्यो र कालु पांडेलाई कजायी भयाको हो”।

राज्य दायित्वका लागि व्यक्तिको चयन गर्ने नीति र सिद्धान्तको उनको  मानदण्डको उदाहरण हो यो।

भारत र चीन जस्ता मुलुकसँग मित्रता र सम्बन्ध कायमगर्ने सवालमा योग्यता, क्षमता र सम्पर्कको महत्व बुझेका उनले दक्षिणको मुलुकसँगको मित्रताको लागि शिवराम बस्नेतका सन्तान र तिब्बतसँगको सम्वन्ध मित्रता बलियो बनाउन कालु पाँडेका सन्तानलाई नछुटाउनु भनेर निधन पूर्व आफ्ना भारदारहरूलाई भनेका थिए।

निसन्देह: पृथ्वीनारायण शाहको धर्मप्रति अगाध आस्था थियो ।

भारतमाथि मुसलमान र अंग्रेजहरूको आधिपत्य उनका लागि पीडादायी थियो। विधर्मीहरू आए र नेपालमा उनीहरुको शक्ति र प्रभाव स्थापना भयो भने यहाँको  धर्म, समाज र संस्कृति प्रदुषित हुन्छ भन्ने विश्वासले उनी नेपाली भूभागमा  उनीहरुको प्रवेश र प्रभाव रोक्न चाहन्थे। त्यसैले अंग्रेज र मिरकासिमको फौजसँगको  युद्ध उनको लागि धर्म, संस्कृति र राष्ट्रिय सम्मान तथा स्वाभिमानको युद्ध थियो।

त्यति मात्र होइन लिओ ई रोजका अनुसार तिब्बतका दलाईलामा र पंचेन लामाका नाममा पठाएको एक पत्रमा पृथ्वीनारायण शाहले  कुती, केरुंग लगायतका सीमा क्षेत्रमा कारखानाहरू स्थापना गरेर तिब्बत लगायत  बिहार र बङ्गालका ब्यापारीहरुका लागि बजार उपलव्ध गराउने लक्ष अन्तर्गत आफूले काम गरिरहेको बताएका थिए। ()

रोजका अनुसार उक्त पत्रमा उनले मुसलमान र अंग्रेजहरुसँग सम्वन्ध नबढाउन र आफ्ना परम्परा र संस्कृतिको रक्षामा प्रतिवद्ध रहन आग्रह गरेका छन्।

केही फिरिंगीहरू नेपालमा आएर आफूसँग व्यापारको लागि आग्रह गरिरहेका तर आफूले उनीहरुलाई चाँडै नै देश निकाला गर्ने विचार गरिरहेकोले तिब्बतलाई पनि त्यसै गर्न उनले आग्रह गरेका थिए।

आन्तरिक एकतान्याय  समावेशी समाज  पृथ्वीनारायण  

राष्ट्रको एकता र सम्वृद्धिका लागि भाइभारदारहरू वीचको आन्तरिक एकता र विश्वासको महत्व बुझेका पृथ्वीनारायणले पाण्डे  र बस्नेत परिवारमा स्थायी एकता र मेलमिलाप भएमा राज्य बलियो हुने कुरालाई दृष्टिगत गरी दुवै परिवार वीच विवाह उमेरका केटा-केटी वीच आफैँ ने प्रस्ताव गरी विवाह गराइदिएका थिए। दुवै परिवारको यो सम्वन्धलाई उनले  “पांडेको ढाल बस्न्यातको तरबार” भनेका छन् र त्यसैको बलमा  “नेपाल चढाइ गर्याको”  बताएका छन्।

राज्यको जिम्मेवारी  दिँदा पांडे, बस्नेत, पन्त र मगरहरू सबैलाई मिलाएर दिनु, आफ्ना भाइभारदार हरुले  मृत्युदण्ड पाउने  अपराध गरे भने पनि आफैँले  मृत्युदण्ड नदिनु, बरु युद्धमा पठाइदिनु, युद्धबाट बाँचेर आए भने ठिकै भयो, मरे भने पनि अर्कैको हातबाट मरुन् भन्ने उनको नीति  राजनीति कुशलता र मानवीय कोमलताको बेजोड उदाहरण हो।

मुलुकमा अन्याय हुन नदिनु, न्याय निसाफमा  अत्यन्त विचार पुर्‍याउनु, घुस दिने र घुस लिने दुवै राज्यका महाशत्रु भएकाले यिनीहरुको धन वा जीवन हरण गरे पनि पाप लाग्दैन भन्ने उनको नीति-कथन  थियो।

‘सिपाहीहरुलाई युद्धमा वा  ढोकामा जहाँ रहँदा पनि ढुक्कले छाती बलियो पारेर आफ्नो कर्तब्य पालनगर्न सक्ने बनाउन उनीहरुलाई घर खेतको राम्रो व्यवस्था गरिदिनु, युद्धमा सिपाहीको मृत्यु भए उनीहरुका सन्तान ठूला नहुन्जेल भरणपोषण गर्नु, छोरा रहेछन् भने उमेर पुगेपछि सेनामा भर्ना गरिदिनू’ जस्ता कुरा पनि उनले भनेका  छन्।

‘युद्ध लड्ने र युद्धमा  सहयोग गर्ने दुबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकोले अवशर दिंदा दुबैलाई बराबरी गर्नु ।

सेनामा खस, मगर, गुरुङ , ठकुरी सबैलाई मिलाएर राख्नु , लडाईमा खटाउँदा पनि छयासमिस पारेर मिलाएर पठाउनु, यी चारै जातलाई मिलाएर युद्धमा पठाउने हो भने यिनले  अरुको कुरै छोडौं स्वयम् इन्द्राशन पनि डगाउने सामर्थ्य राख्दछन’ भन्ने आफ्नो विश्वास उनले आफ्ना भारदारहरू समक्ष व्यक्तगरेका थिए।

अदालतहरुमा पनि राम्रोसँग  जाँचेर – ठहर्याएर ठकुरीलाई डिठ्ठा, मगरलाई विचारी र शास्त्र तथा  न्याय जानेका पण्डितलाई न्याय निर्णयका लागि खटाउनु पर्ने विचार व्यक्त गरेर समावेशी आधारमा न्याय र दण्ड व्यवस्थापन  बारे उनले अत्यन्त गम्भीर परामर्श  दिएका छन्।

ब्यापार, उद्योग व्यवशाय, खेतीपाती सबै विषयमा पृथ्वीनारायणका विचार  अत्यन्त वैज्ञानिक थिए। पानीको मुहान, खेतीयोग्य जमिन, खानी भएको ठाउँको व्यवस्थापन बारे उनका शिक्षा र अनुभव आजका समयमा पनि उत्तिकै सान्दर्भिक र महत्वका छन्।

‘प्रजा मोटा भया दरवार बलियो रहन्छ, राजाका भण्डार भन्याका रैतानहरु हुन्’ भन्ने पृथ्वीनारायण  शाहको शासनमा सर्वसाधारण जनतालाई सम्पत्ति कमाउन र भोग चलन गर्न कुनै सीमा थिएन,  तर ‘सिपाही र भारदारहरूलाई निर्वाहगर्न र परिवारको  भरण पोषणगर्न पुग्ने धन दौलत दिनु, तर अन्य माध्यमबाट धन आर्जन गर्न नदिनु’ भन्ने उनको सन्देश थियो। अन्य उपायबाट धन  कमाउन दिइयो भने राज्य दायित्व निर्वाहमा भन्दा कमाइमै उनीहरुको ध्यान जाने र सिपाही तथा  भारदारहरुमा विकास हुने धनमोह मार्फत शत्रु पक्ष र शत्रु देशले  राज्य मामिलामा हस्तक्षेप  गर्न थाल्दछ भन्ने उनको निष्कर्ष  थियो।

राजाका सार भनेकै  सिपाही र रैती हुन्  र राजा इमान्दार र  चतुर भएमात्र सिपाही र रैतीलाई आफ्ना विश्वासमा लिन सक्छ र  मुलुकमा शान्ति व्यवस्था हुन्छ भन्ने उनको मत थियो।

मुलुकको नाका  र गौँडाको सुरक्षाको जिम्मेवारी सुम्पने आधार सहित बाहिरी मानिसलाई मुख्य जिम्मेवारी दिँदा दरवार भाँडिने कुरा पनि उनले बताएका छन्।

जयन्त  रानालाई दिइएको कठोर दण्डलाई लिएर पृथ्वीनारायण शाहको आलोचना गरिन्छ तर आलोचना गर्नेहरुले के कुरामा ध्यान दिएको देखिंदैन भने राना पहिला गोर्खाका काजी थिए। मुलुकको सबै गुह्य बुझेको त्यति ठूलो जिम्मेवारीमा पुगिसकेको व्यक्ति जयप्रकाश मल्लको  पक्षमा लागेर  नुवाकोट युद्धमा गोर्खा विरुद्धको युद्धमा समेत लड्ने जस्तो कुरालाई कुनै पनि राज्यले क्षमा गर्न सक्दैन।

के पनि स्मरणीय छ भने, जयन्त रानाको नेतृत्वको जयप्रकाश मल्लको  सेनाले पृथ्वीनारायण शाहलाई  झन्डै घेरामा पारिसकेको  थियो , तर कालु पांडेले समय मै खवर पाई पृथ्वीनारायण शाहलाई मद्दत गर्न आइपुगेकोले पृथ्वीनारायणशाहको प्राण रक्षा र नुवाकोट विजय सम्भव भएको थियो।

यसै क्रममा देशद्रोहीलाई दिइने स्थापित  दण्ड विधान अनुरुप जयन्त रानाले अत्यन्त कठोर दण्ड भोगेका   थिए। तर देशद्रोहको अभियोगमा दण्डित जयन्त रानाका परिवारको भरण पोषणको लागि पनि पृथ्वीनारायण  शाहले पर्याप्त जग्गा जमिनको व्यवस्था गरिदिएको उल्लेख इतिहास शिरोमणीले गरेका छन् ।

आफ्नो जीवनको अन्त्यकालमा आफूले गरेको सङ्घर्ष  र सफलताको समीक्षा गर्दै पृथ्वीनारायण  शाहले “मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबै जातको फुलबारी हो” भनेर आफ्नो राज्यमा सबैको समान र बराबरी हक बताएका त छन् नै, सँगै उनले  – “ पुरुब पश्चिमका दुनियाँ हात गरी नेपाल लियाँ थ्याँ ” भनेर नेपालको एकीकरणमा मुलुकका सबै जनताको योगदान रहेको कुरालाई स्वीकार र सम्मान गरेका छन्।

पृथ्वीनारायण शाह  तराई एकीकरण 

उपत्यकाको सम्वृद्धि र तिब्बतसँगको  व्यापारको लागि अत्यन्त उपयुक्त केरुंग नाकाको मार्ग काठमाडौँ राज्य अन्तर्गत थियो। तर कुती नाकाको मार्ग  भक्तपुरको नियन्त्रणमा रहेपनि भारत र तिब्बतको व्यापारको लागि काठमाडौँ भएर मात्र जान सकिने भएकोले काठमाडौँ उक्त मार्गलाई  रणनीतिकरुपमा  नियन्त्रण गर्ने हैसियतमा थियो । त्यसैले  गोर्खा विरुद्ध जयप्रकाश मल्लको मागअनुसार सैनिक सहयोग गर्नु अंग्रेज सरकारको प्रमुख रणनीतिक सरोकार थियो ।

पृथ्वीनारायण शाह जस्ता अदम्य उत्साहका धनी, असाधारण  नेतृत्व क्षमता र कुशल सैन्य रणनीतिका प्रयोक्ताको शक्ति र प्रभाव बढ्दै गएमा भारतमा इस्ट इन्डिया कम्पनीको लक्षमा वाधा पुग्ने देखेर  अंग्रेज सरकारले जयप्रकाश मल्लको अनुरोधमा पृथ्वीनारायण विरुद्धको युद्धको लागि क्याप्टेन किनलोकको नेतृत्वमा आधुनिक हातहतियार सहितको एउटा सशक्त सैन्य दल पठायो।

सिन्धुली गढीको युद्धमा भएको पराजयपछि क्याप्टेन किनलोक बिहारको बेतिया जिल्लासँग सीमा जोरिएको बारा, पर्सा र रौतहट जिल्लाका तराइका भूभागमा गएर बसेका थिए।

मकवानपुरको पराजय पछि सो  राज्य अन्तर्गतका पहाडी भूभागहरू गोर्खाको नियन्त्रणमा  आएका भए पनि कमला नदी पश्चिम  पर्सासम्मका तराइका भूभागहरुलाई अधिनस्थ गर्न आवश्यक सैन्य शक्तिको अभावको कारण उक्त भूभाग एक किसिमले अशाषित क्षेत्र बनेको थियो। त्यस अवस्थामा गोर्खाली विरुद्धको अर्को युद्धको लागि अंग्रेज सरकारबाट थप  सैनिक र हतियारको प्रतीक्षा गर्दै क्याप्टेन किनलोक उक्त नेपाली भूभागमा बसेका थिए।

पछि अंग्रेज सरकारले गोर्खाली विरुद्ध युद्ध नलड्ने निर्णय गर्नुका साथै  सिन्धुलीमा भएको हारको लागि गठित  जाँच  आयोगमा प्रस्तुत हुन किनलोकलाई आदेश दिएको  उल्लेख डा. डिल्लीरमण रेग्मीले गरेका छन्। ()

यसै वीच काठमाडौँ उपत्यका पनि पृथ्वीनारायण  शाहको नियन्त्रणमा आइसकेकोले  कम्पनी सरकारले फेब्रुअरी १६ १७६८ मा गोर्खाली विरुद्ध कुनै पनि सैन्य गतिविधि नगर्ने निर्णय गर्नुका साथै पृथ्वीनारायण शाहको प्रशंसामा पत्राचार समेत गरेको थियो। ()

सो क्रममा मकवानपुरका राजाको भूमि प्रशासनमा श्रेस्तेदारको काम गरेका  झाँगाझोली परेवाडाँडा,सिन्धुलीका सत्यधर उपाध्याय दाहालका छोरा दिनानाथ उपाध्यायले दरभंगाका अंग्रेज अधिकारी मेजर केलीसँग वार्तागरी सो बेहोरा इस्ट इन्डिया कम्पनीका गभर्नर जोन कार्टियार समक्ष पठाएपछि कम्पनीको बोर्डको बैठकले कमला नदीदेखि पर्सासम्मको मकवानपुर राज्य अन्तर्गतको तराईको भूभागमाथि  गोर्खाको स्वामित्वलाई स्वीकार गरेको थियो। बदलामा नेपालले कोसेलीको रुपमा हरेक वर्ष दुईवटा ठूला हात्ती अंग्रेज सरकारलाई पठाउने सहमति भएको देखिन्छ।

भक्तपुर विजयपछि दुधकोशीसम्मको पहाडी भूभाग सजिलै गोर्खाको नियन्त्रणमा आयो। तर दुध कोशीदेखि अरुणसम्मको भूभागलाई गोर्खामा मिलाउने क्रममा रामकृष्ण कुवर र अमरसिंह थापाको नेतृत्वको फौजले खम्बु र लिम्बु समुदायको  कडा प्रतिरोधको सामना गर्नु परेको थियो।

सो अघि सन् १७७३मा पृथ्वीनारायण  शाहले त्यस क्षेत्रका किराँत र लिम्बु  मुखियाहरुलाई पत्र लेखी हालसम्म मकवानपुरका प्रजा रहेका उनीहरु अव गोर्खा राज्यका प्रजा भएका र मकवानपुर अन्तर्गत हुँदा उनीहरुलाई प्राप्त किपट लगायतका सबै  विशेषाधिकारहरू यथावत रहने आश्वासन दिएका थिए। उनको शर्त मानेर गोर्खाको प्रजा हुन स्वीकार गरेमा विगतमा उनीहरुबाट भए-गरेका सबै अपराधहरुका लागि क्षमादान दिइने वचन पनि पृथ्वीनारायणले  दिएका थिए।

त्यसपछि गोर्खाली फौजले जुलाई १७७४ मा अरुण तरेर चौदण्डी कव्जा गर्‍यो। धनकुटा, ताप्लेजुङ र  इलाम पनि गोर्खाको अधिनमा आयो। अघिल्लो वर्ष उदयपुरदेखि चौदण्डीसम्मको पहाड र तराई गोर्खाको नियन्त्रणमा  आएको थियो।

मकवानपुर राज्यकै मातहत चौदण्डी र  विजयपुर राज्यले  कमलादेखि मेचीसम्मको तराईको भूभाग र माथिका पहाडी भूभागमा नियन्त्रण स्थापना गरेका थिए।

त्यसताका त्यहाँका सेन राजाहरू र वंशानुगत राई मन्त्रीहरूवीच सत्ता सङ्घर्षको क्रममा एक अर्कालाई विस्थापित गर्दै आफ्नो राज्याधिकारलाई अनुमोदन गराउन कम्पनी सरकारसमक्ष जाने क्रम चलिरहेको थियो। यसै वीच राजा कामदत्त सेन र मन्त्री बुद्धिकर्ण राई दुवैले  अंग्रेज सरकार समक्ष आफ्नो राज्याधिकार दावी गरिरहँदा राईले विजयपुर र मोरंग राज्यलाई नियन्त्रणमा लिन अंग्रेज सरकारले  सहयोग गरेमा  त्यहाँबाट उठ्ने कुतको ६० प्रतिशतसम्म अंग्रेज सरकारलाई बुझाउने प्रस्ताव राखेको डा. रेग्मीले लेखेका छन्।

पूर्वी नेपाल भएर तिब्बतसँग व्यापार गर्न छोटो पर्ने भएकोले मोरंगमाथि अंग्रेजहरुको विशेष अभिरुचि थियो। तर यसै वीच बुद्धिकर्ण राईका मानिसहरुले कामदत्त सेनको हत्या गरेपछि मोरंग र विजयपुरमा  गोर्खालीहरुको आधिपत्य भयो । गोर्खा राज्य  मेची नदीसम्म विस्तारित भयो। त्यसको विरोधमा अगस्त १७७४मा ब्रिटिस गभर्नरले पृथ्वीनारायण शाहलाई पत्र लेखी उक्त भूभाग बङ्गालको अङ्ग भएको उल्लेख गरेका थिए। तर पृथ्वीनारायण शाहले उक्त भूभागहरू मकवानपुर राज्य अन्तर्गत रहेका, कामदत्त सेन त्यसको वैधानिक उत्तराधिकारी रहेका र हाल मकवानपुर गोर्खाको आधिपत्यमा आइसकेको र कामदत्त सेनको पनि मृत्यु भइसकेकोले विजयपुर र मोरंग स्वत गोर्खाको अधिनमा आएको उत्तर पठाएका थिए। उक्त जवाफसँगै काठमाडौँ उपत्यकादेखि मेची नदी र इलामसम्मको पहाड र तराईको भूभागमाथिको नेपाली स्वामित्वलाई स्वीकार गराउन  पृथ्वीनारायण शाहले सुब्बा दिनानाथ उपाध्यायलाई कलकत्ता पठाएक थिए र उपाध्याय उक्त कार्यमा सफल भएका थिए।

समीक्षा  निष्कर्ष


पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजा भए र ५३ वर्षको उमेरमा उनको निधन  भयो। तीन दशक भन्दा लामो समयसम्म निरन्तर युद्धरत रहनु र आफू  राजा भएदेखिका कतिपय भारदार र सेनानायकहरुलाई  मृत्यु पर्यन्त आफ्नो साथमा उत्तिकै निष्ठाका साथ राखिरहन सक्नु  उनको असाधारण नेतृत्व क्षमताको परिचय हो।

पृथ्वीनारायण शाहको समीक्षा गर्दै लुडविग एफ स्टिलर लेख्छन – गोर्खासँगको युद्धमा उपत्यकाका राज्यहरुको पराजयमा उनीहरुको आन्तरिक इर्ष्या र  द्वन्द्व मूख्य कारण थिएन। गोर्खाको तुलनामा  उपत्यकाका राज्यहरू आर्थिकरुपमा अत्यन्त सवल र सम्वृद्ध थिए । पेशेवर सेनाको संगठन र विकास गर्न प्रशस्त सम्पत्ति पनि  उनीहरूसँग थियो । तर पृथ्वीनारायण शाहसँग जस्तो  असाधारण नेतृत्व क्षमता र दूरदृष्टि उनीहरूमा थिएन ।  गोर्खाले लडेका हरेक युद्ध उत्तिकै योजनावद्ध हुने गर्दथे । युद्धमा पराजय हुन्थ्यो, तर ती पराजयहरु महान लक्षमा आइपर्ने सामान्य घटनाको रुपमा उनले लिए । मूख्य  कुरो आफ्ना लक्ष र सरोकारलाई पृथ्वीनारायणले  सबै जनता, सेना र भारदारहरुको साझा बनाएका थिए।

उनी महान युद्ध नीति र रणनीतिकार थिए । महा योद्धा थिए । दक्ष र अदम्य साहश भएका सेनापति थिए । महान सैनिक थिए । हेमिल्टन अनुसार  पृथ्वीनारायण शाह अत्यन्त महत्वाकांक्षी  थिए । निर्णय क्षमतामा, साहशमा र निरन्तरको क्रियाशीलतामा उनी असाधारण  थिए । उनी उदार, दयालु र आफ्ना भाइ-भारदार  र आफूमा आश्रितहरुका प्रति अत्यन्त इमान्दार थिए । आफ्ना विचारमा विमति राख्ने  र शत्रुहरुका प्रति पनि उनी उदार र मानवीय थिए । नेपाली सेनामा आधुनिक हातहतियार  र युरोपीय अनुशासन उनैले  प्रवेश गराए  तर युरोपियनहरू प्रति अविश्वासको कारण समकालीन अन्य राजाहरुले जस्तो उनले उनीहरुलाई आफ्नो सेवामा भने लिएनन्। (

आफ्ना रैती र सहयोगीहरूप्रति अत्यन्त उदार, दयालु र प्रतिवद्ध पृथ्वीनारायण शाह इतिहास शिरोमणि बाबुराम आचार्य अनुसार पनि राज्यका शत्रुहरूप्रति उनी अत्यन्त कठोर थिए । विरोधीहरुको निर्दयता पूर्वक दमन गर्दथे। विदेशीहरूकाप्रति उनको विश्वास छँदै थिएन। (१०)

एउटा विष्मयकारी सत्य के पनि रहेको छ भने पृथ्वीनारायण शाह आफैं शक्तिको उपासक थिए।  गोरखनाथका परम भक्त थिए तर उनमा कुनै धर्मका प्रति कठोर आग्रह थिएन। सबै धर्मका प्रति उनी सहिष्णु थिए।  उनी बुद्ध धर्म प्रति उत्तिकै सम्मान गर्थे  र विभिन्न बौद्ध मठ र गुम्बा निर्माणकालागि उनले प्रशस्त जमिन  उपलव्ध गराएका थिए। (११)

पृथ्वीनारायण शाहको निधन भएको दुई दशक भन्दा लामो अवधि पछि कर्नेल किर्कप्याट्रिकका नेपाल आएका थिए। उनले  पृथ्वीनारायण शाहको व्यक्तित्वमा विरोधाभासहरू भएको उल्लेख गरेका छन्।

पृथ्वीनारायण शाहको बारेमा आफ्ना अपूर्ण जानकारीहरुको आधारमा ती विरोधाभासहरूबारे स्पष्ट हुन नसकेको उनले स्वीकार गरेका छन्। कीर्तिपुरका प्रजा,पाटनका काजीहरू र गोर्खाको पक्ष छोडेर शत्रु राज्यमा मिलन जानेहरूप्रतिको क्रूर र अमानवीय व्यवहारको सन्दर्भलाई किर्कप्याट्रिकले उठाएका छन्।

तर स्वयम किर्कप्याट्रिकले पनि पृथ्वीनारायणका बारे  आफ्नो जानकारी अपूर्णरहेको  स्वीकार गरेको (१२) र पाटने काजीहरूको अराजक शासन, युद्धको समयमा  आफ्नो राष्ट्रको पक्ष छोडी शत्रु राज्यको पक्षमा लाग्ने र युद्धको समयमा कीर्तिपुरमा लुटपाट मच्चाउनेहरुकाप्रति पृथ्वीनारायण शाहले दिएको कठोर दण्डलाई किर्कप्याट्रिकले सोही सन्दर्भमा बुझ्न नसकेको यहाँ बुझ्न सकिन्छ।

उनले नेपाल राज्यको एकीकरण मात्रै गरेनन सामाजिक र आर्थिक विकासको आधार पनि निर्माण गरेका थिए भन्ने कुरा उनका दिव्य उपदेशबाट बुझ्न सकिन्छ । उनले आफ्ना प्रजामा भेदभाव र पक्षपात गरेनन्। सबैले निर्भयतापूर्वक  सुरक्षित रहेर आफ्नो सामाजिक र आर्थिक व्यवहार गर्न पाउनु पर्नेमा उनी प्रतिवद्ध थिए ।

विदेशीहरूप्रतिको उनको त्यस्तो धारणाको प्रतिशोध  विदेशी इतिहासकारले   आफ्ना पुस्तकहरू मार्फत लिए र तिनै विदेशी इतिहासकारहरूद्वारा लिखित  इतिहास पढेर  इतिहासकार भएकाहरूले तिनै विदेशीका शव्द सापट लिएर पृथ्वीनारायण शाहको विरोध गर्नु लाई अस्वाभाविक मान्न सकिन्न।

उनको चरित्रको विलक्षण पाटो  हो – उनले जे जे भनेका थिए  – युद्धमा  र राज्य संचालनमा त्यही त्यही गरेका थिए।

“एक्काइसौँ सताव्दीमा आएर शासन व्यवस्थाको परिवर्तनकोलागि मात्रै पनि  विरोधी र असहमत पक्षलाई  मध्ययुगीन बर्बर शैली अवलम्बन गरेर हजारौंको हत्यामा संलग्नहरू वर्तमान नेपाल सरकार र सत्ताको केन्द्रमा छन् ।

तर तिनै व्यक्ति र तिनको स्कूलिंगका राजनीतिक नेता कार्यकर्ता र कथित वुद्धिजीवी  भनिनेहरू आज भन्दा तीन सय वर्ष अघि जन्मिएका राजले मुलुकको एकीकरण अभियानमा लाग्दा त्यसको विरूद्ध  उभिएका र गोर्खाका महत्वपूर्ण हैसियतमा रहिसकेकाहरू शत्रु पक्षमा लागेर पृथ्वीनारायण  शाह र उनको  सेनामाथि आक्रमणगर्ने  केही प्रमुख व्यक्तिहरू  विरूद्ध पृथ्वीनारायण शाहको  स्वाभाविक आक्रोश र त्यो समयको स्थापित मान्यता र परम्परा  अनुसारको. कठोर दण्ड व्यवस्थालाई लिएर उनको दानवीकरण र खलनायकीकरण  गरिरहेका छन् ।

हो, अपवादको रूपमा केहीको हकमा पृथ्वीनारायण शाह आवश्यकता भन्दा बढी कठोर र क्रूर  देखिन्छन् ।

दण्ड व्यवहारमा  केही गलत अभ्यास पनि भएकै हुन् , तर त्यसकै  कारण उनको महत्तालाई  अस्विकार गर्नु  राजनीतिक, वौद्धिक  र नैतिक  इमान्दारिता भने  होइन ।

अर्को कुरा , अमेरिका स्वतन्त्र नहुँदै , फ्रान्समा  राज्यक्रान्ति भएर विश्व इतिहासको आधुनिक युग  आरम्भ नहुँदै र वेलायतमा प्रजातन्त्रको  प्रष्ट  स्वरूप नै विकास नभइरहेको  समयमा राजा भएका  पृथ्वीनारायण शाहको शासन व्यवस्थालाई त्यही अमेरिका, बेलायत र फ्रान्सको आजको शासन व्यवस्थासँग तुलना गरेर उनको  शासनलाई लोकतान्त्रिक मूल्यको कसीमा हेर्ने अर्को  राजनीतिक, वौद्धिक  र नैतिक चिन्तनको दरिद्रता पनि देखिएको छ।

तर पनि पृथ्वीनारायण शाहको शासन  प्रजातन्त्रको मूल मर्म विपरित थिएन।

उनको समयको कसीमा मात्रै होइन वर्तमानको मापदण्डमा पनि उनी महान हुन् !

आधुनिक नेपाल राष्ट्रका निर्माता उनै हुन् !”

सन्दर्भ सूची –


(१)रोमिला थापर , अ हिस्टोरी अफ इन्डिया, भोल्युम वन, पेङ्गुइन बुक्स, १९९०, पृष्ठ ७४

(२) ज्ञानमणि नेपाल , नेपाल निरूपण , नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५, पृष्ठ ३७

(३) डिल्ली रमण रेग्मी , मोडर्न नेपाल, भोल्युम वन एण्ड टु , रूपा एण्ड को. इन असोसिएसन विथ डिल्ली रमण रेग्मी

मेमोरियल लाइब्रेरी,२००७,  पृष्ठ ३६.

(४) सूर्य विक्रम ज्ञवाली, नेपाल उपत्यका को मध्यकालीन इतिहास, रोयल नेपाल एकेडेमी,२०१९, पृष्ठ २०५.

डिल्ली रमण रेग्मी, मिडिभल नेपाल, भोल्युम वन, ऐजन , पृष्ठ ३१५-३१७

(५) लुडविग  एफ़. स्टिलर ,दी राइज अफ दी हाउस अफ गोर्खा, एचआरडी – रिसर्च सेन्टर ,१९९५, पृष्ठ ८०.

(६) लिओ  ई. रोज,  नेपाल स्ट्रेटेजी फर सर्भाइभल, अक्सफोर्ड युनिभर्सिटी प्रेस,१९७३, पृष्ठ ३१

(७) डिल्ली रमण रेग्मी , मोडर्न नेपाल, भोल्युम वन एण्ड टु—– पृष्ठ १९३-१९५

(८) ऐजन

(९) फ्रान्सिस बुचानन हेमिल्टन, एन एकाउन्ट अफ दी किङ्डम अफ नेपाल, रूपा एण्ड को ,२००७, पृष्ठ २३१

(१०) बाबुराम आचार्य, श्री ५ बदमाहाराजा धिराज पृथ्वीनारायण   शाहको संक्षिप्त जीवनी, श्री ५ महाराजा धिराजका संवाद सचिवालय, राजदरवार, २०६१, पृष्ठ ५५४

(११) तुलसी राम वैद्य, पृथ्वीनारायण शाह – दी फाउन्डर अफ मोडर्न नेपाल,एडुकेसनल पब्लिसिङ् हाउस,संसोधित संस्करण २०१८,पृष्ठ ३४७

(१२ ) कोलोनेल किर्कप्याट्रिक , एन एकाउन्ट अफ दी किङ्डम  अफ नेपाल, रूपा एण्ड को. , २००७, पृष्ठ  २७१ २७१

(२०७२ साल  पुस  २१  र २२ गते अन्नपूर्ण  पोस्टमा प्रकाशित  लेखलाई परिमार्जन र अद्द्यावधिक गरिएको)  

 

पुस २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्