दिलीप महतो हत्यापछिको माैनता र उदासीनता

अवैध र अवान्छित प्रकृति दोहनको विरुद्ध एक्लै उभिएका जनकपुरका युवा दिलीप महतोको हत्या त्यही अवान्छित व्यापारको प्रवर्द्धनको सिलसिलामा भएको छ। बालुवा, गिट्टी र माटोको अवैध व्यापारले एक जना या एउटा समूहलाई धनी बनाउँछ, तर त्यसले प्रकृतिलाई कमजोर, असन्तुलित र सृष्टिका लागि विघ्नकर्ताका रुपमा प्रस्तुत पनि गर्दछ। विदेह भूमिमा एउटा चेतनशील युवाले त्यो विकृतिबारे आवाज उठाउनु आश्चर्यको कुरा हैन, तर आश्चर्यको कुरा हो- यो जघन्य अपराधमा सभ्यता निवास गरेको त्यो क्षेत्रको मौनता र उदासीनता।

दिलीप महतो हत्या प्रकरणमा प्रहरीले टिपर मालिक, ड्राइभरसँगै अन्य केही व्यक्तिहरुलाई गिरफ्तार गरेको छ। तर, अहिले जनकपुर या प्रदेश २ मात्र होइन समग्र मुलुकमा टिपर लबी र प्रकृति दोहनका अपराधीहरुको राज्य सञ्चालकसँगको साँठगाँठबाट आतंकको स्थिति व्याप्त छ। दिलीप महतोका हत्यारालाई दण्ड मिल्ला भन्ने आशा झिनो मात्र छ।

नेपालका पहिलो राष्ट्रपति रामवरण यादव निकै संवेदनशील देखिन्थे चुरे संरक्षणका लागि कुनै समय। सरकारले करोडौँको लागतमा चुरे संरक्षण परियोजना निर्माण गर्‍यो। तर, सरकारी खर्चसँगै काठमाडौं, खासगरी ललितपुर नख्खु-टीका भैरव ढुंगाखानीमा देखिनेगरी माओवादी नेता, तिनका आफन्त र परिवारका सदस्यहरुले अवैध नियन्त्रण जमाएका छन्। राज्यको जानकारीमा र स्वभाविक रुपमा प्रहरी तथा स्थानीय प्रशासनको सहयोगमा ती नेता तथा तिनका आफन्तहरु प्रकृति दोहनको अवैध धन्दा र कुनाफा कमाउन व्यस्त छन्।

भारतको नेपालसँग जोडिएको विहार राज्यमा केही वर्षअघि भौतिक पूर्वाधार तथा सडक निर्माणको महाअभियानले गति लिँदा नेपालबाट ढुंगा, माटो र गिट्टी अवैध रुपमा ओसारिन्थ्यो। नेपालले त्यसबाट कुनै फाइदा पाएन, राजश्व कमाउन सकेन।। तर प्रकृति दोहनमा पल्केकाहरु रातारात धनी भए यो तस्करीबाट। टिपर उद्योग फस्टायो। काठमाडौं, पाटनमात्र हैन- मुलुकका विभिन्न जिल्लाका डाँडाकाँडा नांगिए, नदीहरुका किनारमा बालुवाका ‘पहाड’ निर्माण गरिए, अवैध उत्खननमार्फत। त्यो सिलसिला जारी छ, अन्यत्रका दिलीप महतोहरुले आवाज नउठाएका हैनन् तर सहादतको हदसम्म उनीहरु पुगेनन्।

रामवरण यादव र उनका उत्तराधिकारी विद्यादेवी भण्डारीले पनि प्रकृति विनाशको यो नियोजित शृंखलाप्रति कुनै चासो देखाएनन्। सरकारले काठमाडौं र नख्खु-टीका भैरव प्रकृति तस्करी तथा टिपर आतंकलाई कुनै अपराधका रुपमा लिएन। किनकि सत्ताका नेताहरु त्यसमा सामेल छन् र प्रतिपक्ष प्रतिरोध गर्न सफल भएन, भयका कारण या केही कुनाफाका कारण, भन्न कठिन छ। जनता टिपर सञ्जालबाट आजित छन्, निन्द्राबाट वन्चित छन्। तर सरकार उदासीन छ या निन्द्रामा नै छ।

दिलीप महतोको हत्याबारे प्रदेश दुई र मुलुकको नागरिक समाज चिन्तित देखिँदैन। तर चिन्ता लिन र प्रकृति दोहनको यो अपराध अनि त्यसका सञ्चालकहरुलाई कानुनको घेरामा ल्याउनु पर्ने बेला आइसकेको छ। अन्यथा मुलुक अपराधीहरुको पेवा बन्नेछ।

पुस २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्