लक्ष्मीनारायण मन्दिरकाे धनुर्मास उत्सवमा डेढ क्वीन्टल खिरको प्रसाद

धनगढी– सुदूरपश्चिम प्रदेशको हाल राजधानी रहेको धनगढीमा अवस्थित लक्ष्मीनारायण मन्दिरमा अहिले धनुर्मास उत्सव चलिरहेको छ। हरेक वर्ष पुस १ गते शुरु हुने धनुर्मास उत्सव पुस महिनाभरि सञ्चालन हुन्छ।

खासगरी यस उत्सवमा हरेक बिहान आरतीसँगै दिनभर प्रवचन हुने गर्दछ। उत्सवमा पुस १६ गते र २७ गते विशेष दिनका रुपमा मनाइन्छ। यी दिनमा मन्दिरमा सयौं भक्तको सहभागितामा विशेष पूजा र प्रवचन हुने गर्दछ।

सोही क्रममा आइतबार उत्सवको विशेष दिनको रुपमा मनाइएको छ। आइतबार डेढ क्वीन्टल खिरको प्रसाद भक्तजनहरुलाई वितरण गरिएको मन्दिरका व्यवस्थापक हरिप्रपन्न न्यौपानेले जानकारी दिए। यस वाहेक मन्दिरमा वर्षभरी वार्षिकोत्सव, कृष्ण जन्माष्टमी लगायतका ४० वटा पर्वहरु मनाउने गरिएको छ। धनगढीमा लगभग तीन विघा जति जमीन लिएर लक्ष्मीनारायण मन्दिरको स्थापना गरिएको थियो।

श्री १००८ स्वामी देवराज आचार्य यस मन्दिरको महन्त भएपछि मन्दिरको विकासले तिब्रता लिएको बताइएकाे छ। मन्दिरका व्यवस्थापक न्यौपानेका अनुसार मन्दिरको गरिमा बढाउन र सनातन धर्मालम्बीहरुको सर्वस्व वेद–धर्मशास्त्र,पुराण,इतिहास,रामायण, महाभारत आगमशास्त्रको प्रचार–प्रसार गरेर सनातन वैदिक धर्मलाई सुरक्षा दिन २०४० सालमा ‘रघुनाथ वेद विद्याश्रम’ समेत यहाँ संचालन गरिएको छ। यहाँ बस्ने विद्यार्थीहरुलाई निःशुल्क भोजन,आवास,औषधी–उपचारसहित अध्यापन हुने गरेको छ। यहाँ नियमित २५ देखि ३० जना विद्यार्थीहरु आवासीय रुपमा बस्ने गरेका छन्।

स्वामी देवराज आचार्यका अनुसार पहिले मन्दिरको चारैतर्फ घेर–वार नभएको मन्दिरको उत्तरभागमा तलाउ बनेको पानी भरिरहने, माछा भ्यागुत्तासमेत बाह्रै महिना भइरहने थियो। तर हाल यस मन्दिरका अतिथि निवास, मन्दिरमा रहनेहरुको निवास, पसलका कोठासमेत गरेर १ सय भन्दा बढी कोठाहरु निर्माण गरिएका छन्।

स्वामी आचार्यले भने, ‘विभिन्न उत्सव पर्वमा आएका अतिथि तथा भक्तजनलाई निःशुल्क भोजन,आवास दिइन्छ। मन्दिरमा समय अनुसार उत्सव, पर्व, कथा–प्रवचन, भजन कीर्तन, अथिति सेवा, बृद्वहरुको सेवा, अन्य मठमन्दिर, विद्यालयलाई आर्थिक सहयोग गर्ने गरिएको छ।’ हाल यस मन्दिरमा गौशाला पनि रहेको छ। जसमा ४० वटा गाई राखिएका छन्।

यस मन्दिरबाट स्वामी आचार्यले आयुर्वेदिक उपचार सेवा पनि निःशुल्क प्रदान गरिरहेका छन्।

पुस २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्