बाँके र बर्दियालाई कर्णालीमा प्रदेशमा मिसाउन दबाब दिन्छाैँ: मुख्यमन्त्री शाही

नेपालगञ्ज– कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनका लागि दबाब सिर्जना गर्नुपर्ने बताएका छन्।

आइतबार उपचारको सिलसिलामा नेपालगञ्ज आएका मुख्यमन्त्री शाहीले कर्णालीले बाँके र बर्दियालाई मिसाउन कुनै कसर बाँकी नराख्ने बताउँदै यहाँका जनताले दबाब सिर्जना गर्नुपर्ने बताए।

‘हाम्रो तर्फबाट कुनै कसर बाँकी राख्दैनौँ, तपाईहरुले यताबाट दबाब सिर्जना गर्नुस्’, नेपालगञ्जका व्यापारीहरुसँगको भेटमा मुख्यमन्त्री शाहीले भने, ‘संयुक्त रुपमा दबाब सिर्जना गर्न हामी तयार छौँ।’

मुख्यमन्त्री शाहीले विगतदेखि नै बाँके र बर्दियाको कर्णालीसँग गहिरो साईनो रहेकाले यी दुई जिल्ला कर्णालीबाट अलग हुन नसक्ने बताए। ‘बाँके र बर्दियालाई जोड्दा कर्णाली प्रदेश हिमालदेखि तराईसम्म फैलिन्छ। यसले समृद्ध प्रदेश बनाउन ठूलो सहयोग पुर्‍याउँछ’, मुख्यमन्त्री शाहीले थपे, ‘बाँके र बर्दियाका जनतालाई पनि कर्णालीमा मिसिँदा फाइदा हुन्छ।’

नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनको माहाैल चलिरहेको बेलामा नेपालगञ्ज आइपुगेका कर्णालीका मुख्यमन्त्री शाही दुवै प्यानलको सचिवालयमा पुगेका थिए। नेपालगञ्जका व्यापारीले शाहीलाई सम्मान गरेका थिए।

नेपालगञ्जका मेयर डा. धवल शमशेर राणाले बाँके र बर्दियालाई कर्णालीमा मिसाउने एकसूत्रीय अभियान थालेका छन्। त्यसमा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको साथ रहेको छ। प्रदेश सांसद एवं जडीबुटी व्यवसायी संघका अध्यक्ष मो. याकुव अन्सारीले सार्वजनिक रुपमा बाँके र बर्दियालाई कर्णालीमा मिसाउनु पर्ने आवाज उठाइरहेका छन्।

हाल बाँके र बर्दिया प्रदेश पाँचमा रहेका छन्।

पुस २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्