अछाममा १ हजार ७ सय छाउ गोठ भत्काइयो

धनगढी– छाउपडी गोठमा एक महिलाको मृत्युपछि अछाममा छाउ गोठ भत्काउने अभियानमा प्रहरीले सक्रियता देखाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पुस ९ गतेदेखि सुरु भएको अभियान अन्तर्गत अहिलेसम्म १ हजार ७ सय ३६ छाउ गोठ भत्काइएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाउ गोठ भत्काउन सुरु गरिएको बताए। उनले भने,‘यस अभियान अन्तर्गत अहिलेसम्म १ हजार ७ सय ३६ छाउगोठ भत्काएका छौँ, अभियान जारी छ।’

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाईहरुबाट छाउपडी प्रथा न्यूनिकरण गर्न छाउपडी गोठ भत्काउने अभियान थालिएको उनले बताए। प्रहरी, स्थानीय तहका जनप्रतिनिधि, समाजसेवी, महिला, पत्रकार, महिला समूह, आमा समूहहरुको सहभागितामा उक्त अभियान थालिएको उनले बताए।

१९ दिनको अवधिमा साँफेबगर नगरपालिकामा ३ सय ७१, पञ्चदेवल विनायक नगरपालिकामा १ सय ५१, रामारोशन गाउँपालिकामा एक सय १९, ढकारी गाउँपालिकामा ३ सय ३७, मेल्लेख गाउँपालिकामा २ सय ५४, तुर्माखाद गाउँपालिकामा ३ सय ३१, चौरपाटी गाउँपालिकामा ६५, मंगलसेन नगरपालिकामा १२, कमलवजार नगरपालिकामा ६३, बान्नीगढी जयगढी गाउँपालिकामा २७ गरि १७ सय ३६ वटा छाउपडी गोठहरु भत्काइएको प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए।

प्रहरी निरिक्षक अवस्थीले गोठ भत्काउनुका साथै सचेतना र छाउपडी सम्बन्धी कानुनी प्रावधानबारे समेत जानकारी गराइरहेको बताए। यस्तै सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरामा पनि प्रहरीले छाउगोठ भत्काउने अभियानलाई तिब्रता दिएको छ। ति जिल्लाहरुमा पनि अभियान अघि बढाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लामा पनि प्रहरीले छाउगोठ भत्काउने अभियान शुरु गरेको छ। खासगरी कैलालीको गोदावरी नगरपालिकामा यो अभियानले तिब्रता पाएको छ। गोदावरी नगरपालिकामा पनि अहिलेसम्म १ सय भन्दा बढी छाउगोठ भत्काएको मालाखेती इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए।

उनले भने, ‘कैलाली सुगम जिल्ला भए पनि गोदावरी नगरपालिका क्षेत्रमा धेरै छाउगोठ रहेकाले स्थानीयको सहभागितामा छाउगोठ भत्काईरहेका छाैँ।’

पुस २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्