भारतद्वारा विराटनगरमा आइसिपी निर्माण, माघ पहिलो साता हस्तान्तरण गरिने

काठमाडौं-भारत सरकारद्वारा बिराटनगरमा निर्माण गरिए को एकीकृत जाँच केन्द्र माघको पहिलो साता नेपाललाई हस्तान्तरण गर्ने तय भएको छ।

आयात तथा निर्यात पारवहनमा सहजता ल्याउन बिराटनगर महानगरपालिका १८ मा निर्माण भएको (एकीकृत जाँच केन्द्र) आइसिपी पूर्णरुपमा तयार भएको शहरी विकास तथा भवन निर्माण विभागका राजु शर्माले जानकारी दिए।

शर्माका अनुसार माघ ७ गते आइसिपी हस्तान्तरणको मौखिक सहमति भएको छ। दुवै राष्ट्रका उच्चतहका पदाधिकारीको उपस्थितिमा संभवत स्वीच अन गर्दै आइसिपी सञ्चालन हुने बताइएको छ।

सन् २०१७ मा भारतको गुजरातस्थित दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिले जाँच केन्द्रको निर्माण सुरु गरेको हो। १ सय १४ करोड भारतीय रुपैयामा भारत सरकारले सन् २०१७ मार्चमा दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिसंग निमार्ण सम्झौता गरेको हो।

सन् २०१८ भित्रै यसको निर्माण कार्य सम्पन्न गरिसक्नु सम्झौता भएपनि प्राकृतिक विपद् बाढीका कारण केहीसमय ढिलो भएको बताइएको छ। यद्धपी, सन् २०१९ को सेप्टेम्बरमै सञ्चालनको तयारी अवस्थामा रहेपनि करिब तीनमहिना ढिलो गरि जाँच केन्द्र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हो।

कस्तो छ संरचना ?


वडा नम्बर १८ स्थित भेडियारीमा निर्माण गरिएको आइसिपी १ सय २९ विगाह क्षेत्रफलमा फैलिएको छ। त्यसैगरि भवन निर्माण भएको स्थलबाहिर पनि जाँच केन्द्रको ४० बिगाह क्षेत्रफल जमिन छ। जसबाट सडक निकालिएको छ।

हाल दुइ लेनको सडक र पछि आवश्यक्ता अनुसार ६ लेनसम्मको हुने बताइएको छ। भारतको सीमाक्षेत्र र नेपालको सीमा क्षेत्र १० गजालाई सीमा बनाएर जाँच केन्द्र निर्माण गरिएको छ।

यसबीच, आयात तथा निर्यातमा एकद्धार लागु गर्ने हकमा भारततर्फको आइसिपी र नेपाल आइसिपीबीचको दुरी बढीमा ३ सय मिटरको रहेको छ। नेपाली भित्रने पयर्टकीय सवारी, मालवहाक सवारी भारततर्फको जाँच केन्द्र हुदै नेपालीतर्फको जाँच केन्द्रमा प्रवेश गर्नेछ।

सोही सवारीलाई धर्मकाटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी ब्यवस्थापन गरिन्छ। सोही क्षेत्रमा भन्सार राखिने भएकाले त्यहीबाट उद्योगीहरुले सवारीसाधन आफु अनुकुल बाहिर निकाल्न सक्नेछन्।

आइसिपी भित्र


जाँच केन्द्रभित्र सुरक्षाका लागि क्षेत्रफलको चौतर्फी सुरक्षागार्ड टावर राखिएको छ। त्यसैगरि सो क्षेत्रका लागि ३० हजार लिटरको खानेपानी ट्याङकी राखिएको छ। त्यसैगरि, जाँच केन्द्रमा संकलन हुने फोहर तथा ढलका लागि प्रशोधन कक्ष समेत राखिएकोछ।

केन्द्रभित्र विभिन्न कार्यालयका लागि फरक फरक भवन निर्माण गरिएको छ। मुख्य प्रशासनिक भवनसंगै मालसमान राख्न गोदाम घर, पशु तथा कृषि क्वारेन्टाइन जाँचकेन्द्र, बैकिङ भवल, सुरक्षा ब्लक, विद्युत गृह, चमेना गृह रहेकाछन्।

 

निर्माण गरिएको पार्किङस्थलमा एकैपटक १ सय ३० वटा मालवहाक सवारी राख्न सकिने केन्द्रमा सवारी चालकलाई रिफ्रेसमेन्टका लागि अलग भवन निर्माण गरिएको छ। तेश्रो मुलुकबाट आउने पर्यटकको स्वास्थ्य अवस्था गम्भीर प्रकृतिका रोगब्याध जाँचका लागि प्राथमिक उपचार केन्द्रको पनि ब्यवस्था गरिएको छ।

के भन्छन् उद्योगी ?


मोरङ ब्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले जाँच केन्द्र सञ्चालन भएपछि ब्यापारीहरुलाई केहीहदसम्म सहजता हुने प्रस्टाए। तथापी मिरगञ्जको पुल निर्माण कार्य पूर्ण नहुन्जेल भने उद्योगीहरुलाई सकसनै रहेको उनको भनाइ छ।

उनी भन्छन, ‘जाँच केन्द्र सञ्चालनमा आइसकेपछि अब ट्रान्स्पोर्टको डिटेन्स चार्जबाट छुटकारा मिल्ने र भारततर्फ सडकमा ढुवानी राख्दा चोरी, स्थानीयको समस्यामा कमी आउँने छ।’

उद्योग संगठन मोरङका कार्यकारिणी सदस्य सुवोध कोइरालाले जाँच केन्द्र सुरु भएपनि मालसमान हराउने तथा अतिरिक्त शुल्क, तिर्नुपर्ने अवस्था नआउने बताए।

मोरङ ब्यापार संघका पूर्व पदाधिकारी एवं उद्योगी अरुण राठीले यसको सञ्चालनले नेपाल सरकारलाई नै फाइदा हुने बताँउछन्। यस केन्द्रको सरुआतसंगै रेल्वे ट्रयाकबाट मालसमान नेपालसम्म भित्रिदाँ हाल खर्च हुदै आएको रकममा आधा कम हुने बताए।

‘ठूलो परिमाणमा मालसमान भित्राउने उद्योगीले हाल कलकत्ताबाट नेपाल भन्सारसम्म आइपुग्दा ४० हजार भारतीय रुपैया लाग्ने गरेकोमा यसको सञ्चालनले सो रकम आधा हुनेछ,’ उनले प्रस्टाए। यससंगै जाँच केन्द्र सञ्चालनमा आएसंगै हाल प्रयोग हुदै आएको विराटनगर रानी जोगबनीको सडकमा सवारी जाम कम हुनेछ।

पुस २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्