फिल्म रिभ्यू

छपाक: मन पनि पोल्छ, तन पनि पोल्छ

उमेरले १५, १६ टेकेपछि यौवनले रुपमा रंग पोतिदिन्छ। मनमा अनेक उमंग आउँछन्। कसैको सामिप्य मन पर्न थाल्छ, अनि भविष्यका सपनाहरु पलाउन थाल्छन्।

यही समयमा हो परिवारले होस्टेमा हैँसे गरिदिने, अनि सुन्दर भविष्यको लागि अगाडि बढेका कदम लम्कँदै जाने।

तर मालती पात्रको यो कदममा एकाएक ब्रेक लाग्छ, जब उनको छिमेकी ‘बब्बु’ले उनको कोमल अनुहारमा एक गिलास एसिड छ्यापिदिन्छन्,

‘छ्याप्प..’

तीन अक्षरको एक शब्द ‘छ्याप्प’ ले एसिड अनुहारमा पर्छ अनि बिस्तारै मनमा। यसको जलन, पीडा अनि यसले छोड्ने छाप चलचित्र ‘छपाक’ले प्रस्तुत गरेको छ।

बलिउडकी सुपरस्टार दीपिका पादुकोणले एसिड प्रभावितको भूमिका निर्वाह गरेकी छन्।

भारतमा एसिड आक्रमणमा परेका महिलाहरुको सङ्ख्या ३ सयभन्दा माथि छ, नेपालमा यो संख्या १८ पुगिसकेको छ। नेपालमा सबैभन्दा पहिलोपल्ट कहिले यो अपराध भयो भन्ने यकिन तथ्यांक त छैन, तर २०६८ सालमा मोरङकी बिमला शाहलाई आफ्नै श्रीमान्‌ले आक्रमण गरेको रेकर्ड छ।

नेपालको लागि सबैभन्दा ताजा घटना मुस्कान खातुनको हो, १५ वर्षीय उनलाई गएको भदौ २६ गते विद्यालय जाने क्रममा एसिड छ्यापिएको थियो।

ठाउँ फरक भएपछि सन्दर्भ खासै फरक छैनन्,

‘प्रेम स्वीकार नगर्नु।’

मुस्कानले प्रेम प्रस्ताव अस्वीकार गर्दा जे भोगिन्- चलचित्रमा पात्र ‘मालती’ को भोगाइ फरक छैन। र, यो वास्तविक घटनामा आधारित छ।

सन् २००५ मा लक्ष्मी अग्रवालमाथि जसरी एसिड आक्रमण भएको थियो, त्यही कथा निर्देशक मेघना गुल्जारले ‘छपाक’ मार्फत प्रस्तुत गरिन्। लक्ष्मीको कथा जगजाहेर छ।

चलचित्रमा कुनै पनि दृश्य नाटकीय लाग्दैन, सबै पात्रले जीवन्त अभिनय गरेका छन्। पीडा, लाचारी सबै ‘रियल’ लाग्छन्।

हिन्दी भाषामा एउटा भनाइ प्रख्यात छ, ‘कल किसने देखा है।’

हो, भोलि साँच्चै अप्रत्याशित नै छ, कतिबेला के हुन्छ भन्न सकिन्न।

घरबाट पढ्न विद्यालय जाँदा मुस्कानले आफूमाथि त्यस्तो बज्रपात आइलाग्छ भन्ने कहिले सोचिन् होला र? यस्तै नियति ‘छपाक’मा मालतीको पनि।

छालामा परेको एसिडले भित्रभित्रै मन डराएको कथा हेर्दा क्रोध, सन्ताप र सहानुभूति एकैसाथ आइपुग्छन्।

हामी चलचित्रको कुरा गर्दैछौँ।

दुई घण्टा तीन मिनेट लामो चलचित्र ‘छपाक’ एसिड पीडितको कथा हो। कथा बोल्ने हैन यसले मन पोल्छ। हुन पनि मन पोल्न, मुटु दुख्न र आँसु झर्न दुर्घटना आफैँमाथि हुनुपर्छ भन्ने छैन।

उसो त चलचित्रकी पात्र मालतीभन्दा अगाडि पनि एसिड आक्रमणका घटना नभएका हैनन्। तर उनको घटनाले भारतमा एसिड पीडितको लागि जुन क्रान्ति गर्‍यो, त्यो उल्लेखनीय रह्यो।

मालतीले पीडकलाई कडा सजाएको माग गर्दै पीआइएल दर्ता गरिन् र आक्रमणको १० वर्षपछि उनको लडाइँले सार्थकता पायो। सन् २०१३ मा एसिडको बिक्री वितरणमा नियमन लगाउने कानुन बन्यो। सन् २०१५ मा एसिड आक्रमण गर्नेलाई १० वर्षको जेल सजाय दिने व्यवस्था भयो।

चलचित्रले हिंसामा परेकाहरुलाई उत्प्रेरणा दिन खोजेको छ, मालतीलाई केन्द्रमा उभ्याएर प्रयासको लडाइँ लड्न सिकाएको छ र यती बिचमा भोगिने मानसिक पीडा अनि सामाजिक दुर्व्यवहारलाई मिहीन ढंगबाट उतारेको छ।

यो चलचित्रले कथामात्र भनेको छैन, समाजको वास्तविकता उतारेको छ।

घटना भएर सक्किँदैन, यसले एकपछि अर्को भयानक नतिजा ल्याउँछ भन्ने कुरा ‘छपाकमा देख्न सकिन्छ,

मालतीको किशोर भाइ सामाजिक लाञ्छनाका कारण कुलतमा फस्नु, मालतीका बाबु रक्सी पिएर हराउनु। भाइको उपचारमा खर्च जुटाउन नसक्नु र धेरै सामाजिक संवेदना हुँदाहुँदै पनि मालतीले जागिर नपाउनु यसका उदाहरण हुन्।

भारतमा सबैभन्दा चलेकी अभिनेत्रीले यस्तो चलचित्रमा काम गर्दा, विश्वविद्यालयमा विद्यार्थीलाई समर्थन गर्दा उनी अलिकति पनि डराएकी छैनन्, यो प्रशंसनीय छ। दीपिकामाथिको यो प्रहार अप्रत्यक्ष रुपमा व्यक्तिको मनोबललाई कमजोर पार्ने युक्ति लाग्छ। उनी अभिनयमा जति गम्भीर छन् यसैगरी समाजप्रति कलाकारको जिम्मेवारीलाई निर्वाह गरेकी छन्। 

भन्न त हाम्रो समाजमा ‘अनुहारमा के छ र !’ भन्छन्, तर जागिरको लागि हातमा सीप हुँदाहुँदै पनि पार्लरको काम नपाउनु, अन्तर्वार्तामा नछानिनुले बाहिरी सुन्दरतालाई समाजले कति प्राथमिकता दिन्छ भन्ने बुझाउँछ।

यसको मलतब उनीहरुप्रति कसैको सहयोग नै छैन भन्ने हैन।

मालतीको उपचारमा पैसा जोहो गर्ने सिलु आन्टी, वकिल अपर्णा, अधिकारकर्मी अमोल जसले मालतीलाई हर कदममा साथ दिइरहेका छन्।

तर एसिड छ्यापिएको अनुहार भएपछि पलपल समाजसँग लड्नुपर्ने लडाइँ चलचित्रले देखाएको छ। खेली‍िरहेको बच्चा मालतीलाई देखेर चिच्याउँछ, मालतीको भाइलाई साथीहरुले ‘चिडियाखानामा लगेर दिदीलाई राख’ भनी गिज्याउँछन्।

सञ्चारमाध्यमसँग अन्तर्वार्ताको क्रममा मालतीले कामको बारेमा सोध्नु उनको बाध्यात्मक परिस्थितिको चित्रण हो जो देखिन्छ तर देखिन्न।

हुन त अहिले मालती पात्र अर्थात् लक्ष्मी उदाहरण बनेकी छन्। तर पीडितलाई अझ बढी हिंसा प्रभावित महिलालाई समाजको गन्यमान्य व्यक्तिले नै स्वीकार गर्दैनन्। अदालत अनि न्यायिक प्रक्रियाले उनीहरुलाई हैरान बनाउँछ। पीडक खुल्ला जीवन बिताइरहेको हुन्छ। यसले पीडितको मनोबल गिराइरहेको हुन्छ।

समाजले केही कुरामा महिलालाई होच्याउने प्रथा अहिलेसम्म गएको छैन, उदाहरण ‘छपाक’ प्रदर्शनको समयमा अभिनेत्री दीपिकाले भोग्नु परेको परिस्थितिहरु हुन्।

समाजमा केही ढिट मानिसहरुको जमात छ जसले आफ्नो दिमागी घेराभन्दा बाहिर गएमा आफ्नो शक्तिको प्रदर्शन गर्छन्।

‘छपाक’ प्रदर्शन अगाडि अभिनेत्री दीपिका पादुकोणले नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा गएर विद्यार्थीको समर्थन गरेकी थिइन्, यो विषयलाई लिएर भारतीय जनता पार्टीका नेता गोपाल भार्गवले आलोचनात्मक टिप्पणी गर्दै लेखेका छन्, ‘हिरोइनहरुले मुम्बईमा डान्स गर्ने हो, जेएनयूमा जान आवश्यक थिएन।’

कसैको काम, रुप र रंगलाई आफ्नो दिमागी दायरामा निश्चित गर्नु दुखद कुरा हो।

उनका चलचित्र केही प्रदेशमा प्रदर्शनमा रोक लगाउने आन्दोलन भए। यस्तै उनीसँग काम गरेका विज्ञापन एजेन्सीहरुले पनि विज्ञापन प्रसारण सङ्ख्या घटाएको छ जसले दीपिकाको करियरमा धक्का लाग्ने अनुमान गरिएको छ। तर दीपिका डराएकी छैनन्।

भारतमा सबैभन्दा चलेकी अभिनेत्रीले यस्तो चलचित्रमा काम गर्दा, विश्वविद्यालयमा विद्यार्थीलाई समर्थन गर्दा उनी अलिकति पनि डराएकी छैनन्, यो प्रशंसनीय छ। दीपिकामाथिको यो प्रहार अप्रत्यक्ष रुपमा व्यक्तिको मनोबललाई कमजोर पार्ने युक्ति लाग्छ। उनी अभिनयमा जति गम्भीर छन् यसैगरी समाजप्रति कलाकारको जिम्मेवारीलाई निर्वाह गरेकी छन्।

र, चलचित्रमा मालती जसरी हार खाँदिनन् र अपराधीलाई कारबाहीको दायरामा ल्याइ छाड्छिन्- यो हेर्न आवश्यक छ।

किनभने ‘कल किस्ने देखा है!’

पुस २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्