
काठमाडौँ – सर्वोच्च अदालतले भाटभटेनीसहित पाँच कम्पनीले भ्याट छली गरेको ठहर गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाई हुँदै आएको मुद्दामा भाटभटेनी डिपार्टमेन्ट स्टोर, एआईटी इन्टरनेसनल, बीएस बानियाँ स्टोर्स एन्ड फर्म, शंकर अक्सिजन ग्यास र अरुण इन्टरकन्टिनेन्टलले भ्याट छली गरेको ठहर गरेको हो।
विभागले २० अर्ब राजश्व ठगी गरेको अभियोगमा असुल गर्नुपर्ने निर्णय गर्दै राजश्व न्यायाधीकरणमा मुद्दा दायर गरेको थियो। ०६७ साल फागुनमा आन्तरिक राजस्व विभागले भाटभटेनीसहितका कम्पनीहरुमाथि छापा मारेर अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानपछि विभागले राजश्व न्यायाधीकरणमा मुद्दा दायर गरको थियो। न्यायाधीकरणले ती कम्पनीहरुले भ्याट छली गरेको ठहर गरेको थियो। न्यायाधीकरणको फैसलाविरुद्ध भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसहित मालिकहरुले सर्वोच्चमा पुनरावेदन दिएका थिए।
सोमबार सर्वोच्चले न्यायाधीकरणकै आदेशलाई सदर गरेको हो।