बार्सिलोनाले भाल्भेर्देलाई बर्खास्त गरी किकेलाई दियो प्रशिक्षकको जिम्मा

स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्तो भाल्भेर्देलाई बर्खास्त गरेको छ । ५५ वर्षका भाल्भेर्देलाई बर्खास्त गरेर बार्सिलोनाले रियल बेटिसका पूर्व प्रशिक्षक किके शेतिएनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

लगातार दुई सिजन ला लिगाको उपाधि दिलाएका भाल्भेर्देको प्रशिक्षणमा बार्सिलोना यो सिजन गोल अन्तरका आधारमा अघि रहँदै आएको छ ।

तर यो सिजन बार्सिलोनाले लगातार जस्तो अप्रत्यासित हार या बराबरीको नतिजा निकाल्दै आएको छ । भाल्भेर्देको प्रशिक्षणमा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको फाइनलमा भने पुग्न सकेको थिएन ।

६१ वर्षका किके शेतिएनले बार्सिलोनासँग साढे दुई वर्षको सम्झौता गरेका हुन् । उनलाई मंगलबार दिउँसो बार्सिलोनाले सार्वजनिक रुपमा प्रस्तुत गर्ने छ ।

भाल्भेर्देसँग उनको सम्झौता अन्त्य गर्ने सहमति भएको र किकेलाई प्रशिक्षक नियुक्त गरिएको बार्सिलोनाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्