पश्चिमका थारु बस्तीमा माघीको रौनक, ‘अब त रमाइलो मात्रै हो’

फाइल तस्बिर

धनगढी– कैलाली कञ्चनपुरका थारु बस्तीमा अहिले माघीको रौनक बढेको छ । गाउँ बस्ती आसपास नदीहरुमा सरसफाई गर्न युवाहरु परिचालित भइसकेका छन् । थारु समुदायले थारु संवत २६४२ को भव्य विदाई गर्ने र २६४३ को स्वागतका लागि गाउँटोललाई सजाएका छन् ।

मघौटा, धमार झुम्रा नाचमा रमाउन थारु समुदाय आतुर छन् । काम विशेषले बाहिर रहेका थारु समुदायका मानिस जन्मथलो पुग्न थालेका छन् । ‘जीता’ (बंगुर) को उचित व्यवस्था घरघरमा भइसकेको छ । बुबा आमाको मायाको प्रतिक निश्राउको मायाले विवाहीत चेली माइतीघर पुगि सकेका छन् ।

अन्य सुमुदायले माघीका रुपमा मनाउने माघे संक्रान्तिलाई थारु समुदायले नयाँ बर्षका रुपमा पनि मनाउने गर्दछन् । समुदायको मौलिक संस्कृति र भेषभुषको आफ्नै विशेषता छ । जसमा उनीहरु भरपुर आनन्द लिने गर्दछन् ।

पर्वको तयारीका लागि खाद्यान्नहरुको जोहो गर्ने, दुना टपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइ लगायतका कामहरु सकिएका छन् । ‘अब त रमाइलो मात्रै हो’ धनगढी उप–महानगरपालिका–१६ भादाका वडा अध्यक्ष लक्ष्मी चौधरीले भने–‘तयारी सवै सकिएको छ, नयाँ बर्ष र माघीमा रमाइलो गर्दै खुशीयाली बाँड्न शुरु भईसकेको छ ।’

माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गेटा लगायत खानाका परिकारहरु खाने चलन रहि आएको छ ।’ यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको उनले बताए ।

माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, रक्सी, ढिक्री, रोटी लगायत खानाका परिकार तयार गर्नमा समुदायकी युवती व्यवस्त हुने गर्दछन् । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको कैलारी गाउँपालिका वडा नं. ५ का रमेश चौधरीले बताए ।

पुसको अन्तिम दिन अर्थात आजलाई थारु समुदायले पुरानो बर्षको अन्तिम दिनका रुपमा मनाउने गर्दछन् । पुरानो वर्षको विदाई स्वरुप पुषको अन्तिम दिन (जीता) बंगुर मार्ने प्रचलन रहेको थारु अगुवा माधब चौधरीले बताए । ‘जीता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । यो नाच दाङबाट कैलाली बसाई सरेका समुदायले नाच्ने गरेको उनले बताए । तर अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्दछन् ।

‘माघे सक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजीकैको नदी, तलाउमा गई नुहाइ आफू भन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ । चौधरीका अनुसार विशेष स्नान पछि विवाहीत छोरी चेलीलाई (निश्राउ) चामल, नून, तेल, बेसार लगायतका खाद्यान्नबाट तयार पारिएको परिकार दिने परम्परा छ । जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ ।

थारू समुदायमा यो पर्वमा विषेश गरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटा लगायतका स्थानीय खानाका परिकारलाई महत्व दिने गर्दछन् । थारू समुदायका विभिन्न लोक संस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । यो प्रक्रिया माघ महिना भर चल्ने भए पनि पछिल्लो समय भने एक÷दुई दिनमा सीमित हुन थालेको छ ।

कामको शिलशिलामा युवाहरुले गाउँ छोड्नु पर्ने बाध्यताका कारण यो पर्व दुईचार दिनमै सीमित हुने गरेको कैलारी गाउँपालिका–५ का चन्द्र बहादुर चौधरीले बताए ।

थारु समुदायमा माघी पर्व र नयाँ बर्षलाई मनाउने शैली फेरिन थालेको छ । माघी सुरु भएदेखि १०/१५ दिनसम्म घरघरमा गएर मघौटा, धमार, झुमा नाच प्रदशीनी गर्ने परम्परा भन्दा अहिले रमाइलो मेलाका माध्यमबाट स्टेज कार्यक्रम युवाको प्राथमिकतामा पर्ने गरेको छ । मघौटा, धमार, झुमा नाचलाई घरघरमा गएर प्रदर्शन गर्ने परम्परा भने बुढापाकामा मात्रै सीमित हुन थालेको छ । यस बर्ष पनि कैलालीका विभिन्न स्थानमा माघीलाई लक्षित गरी महोत्सव रमाइलो मेला आयोजना गरिएका छन् ।

जसमा युवाको आकर्षण समेत राम्रो देखिन्छ । नयाँ वर्ष र माघी पर्वलाई विशेष रुपमा मनाएको दोश्रो दिन अर्थात माघ २ गते गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यसदिन छलफलका माध्यमबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ । जसलाई भलमन्सा र गुरुवा भनिन्छ ।

उनीहरुले गाउँको रक्षा गर्ने, अपठ्याारो परिस्थितीमा उचित निर्णय दिने, न्याय दिने लगायतका कामहरु गर्दछन् । भल्मन्सालाई नेतृत्वका रुमा लिइन्छ भने गुरुवालाई पूजारीका रुपमा लिइन्छ । यती मात्र हैन, राजनीतिमा पनि उनीहरुको महत्वपूर्ण भूमीका हुन्छ । निर्वाचनका क्रममा थारु समुदायका भल्मन्सा र गुरुवाहरुले दिने निर्णय नै आधिकारिक हुने भएका कारण सवै दलले गुरुवा र भल्मन्सालाई विशेष रुपमा हेर्ने गरेका हुन्छन् ।

थारु कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधब चौधरीले युवाहरु व्यस्त हुँदा घरघरमा गएर नाचिने नाच ओझेलमा परेको बताए । ‘पहिले धेरै मानिस कृषिमा निर्भर हुने भएका कारण लामो समय सम्म घरघरमा गएर रमाइलो गर्न सम्भव थियो’ उनले भने–‘तर अहिले त्यो सम्भव छैन, धेरै युवाहरु एक/दुई दिनका लागि मात्रै गाउँ फर्कने गर्दछन्, उनीहरुका लागि स्टेज नै रमाइलो गर्ने माध्यम बन्दछ ।’

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्