नाडाका अध्यक्ष कृष्ण दुलालसँग अन्तर्वार्ता

‘मन्त्रीहरुले मात्रै गाडी चढ्ने, जनताले नचढ्ने?’

काठमाडाैँ- नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का नवनिर्वाचित अध्यक्ष कृष्ण दुलालसँग नाडाको भावी योजनाबारे देशसञ्चारकी पूर्णिमा बिकले गरेको कुराकानी

अध्यक्षमा निर्वाचित हुनुभयो । तपाईँका आगामी योजना के–के छन् ?

साधारण गाडी आयात गर्नेदेखि लिएर स्पेयर पार्टस, टायर, लुब्रिकेन्ट, सबै बेच्ने व्यापारीहरुको व्यवसाय बढ्नु पर्ने अवस्थामा घट्ने क्रममा छ। सबैभन्दा पहिले यो शिथिल व्यवसायलाई माथि उकास्ने योजना बनाएर काम गर्नेछु। त्यसका लागि सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरिरहेका छौँ।

यस्तै यसको लगानीको विषयलाई लिएर विवादास्पद कुरा आएका छन्। कुनै पनि सवारी साधन खरिद गर्दा ५० प्रतिशत डाउनपेमेन्ट राख्नु पर्ने अवस्थालाई चिरेर अलिकति कम गर्नु पर्छ भन्ने हाम्रो माग छ।

यसका कारण बैंकले नबुझेर लगानी नगरेको अवस्था, राष्ट्र बैंकका अनुसार कुनै पनि व्यवसायको समग्र नाफा ५० प्रतिशतको छ भने उसले कुनै पनि अटोमोबाइलका साधनहरु खरिद गर्न सक्छ। यी कुरालाई बुझाउँदै कसरी अटोमोबाइलल्स व्यवसायीलाई एक जुट बनाएर अगाडि बढाउन सकिन्छ भन्नेमा मैले ध्यान दिनेछु।

सरकारी निकायसँगै निजी क्षेत्रको पनि देश विकासमा त्यति नै भूमिका छैन र ?

सरकारले लगाएको करलाई एउटा व्यवसायका माध्यमबाट सरकारले तोकेको मापदण्ड अनुसार सामान ल्याएर विक्री गरेर सरकारलाई राजस्व बुझाएर आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्ने हो। सरकारले कर लगाउने भनेको जनतालाई हो।

हामी केवल उठाउने माध्यम मात्र हौँ। अटोमोबाइल्सको व्यापार अगाडि बढाउने हो। देशको विकास गर्न सडक निर्माण हुन जरुरी छ। सडकसँगै देश र यातायातको भविष्य जोडिएको छ।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अगाडि बढाएका बेला त्यसमा अटोमोबाइल्सको पनि त्यति नै भूमिका छ। हरेक क्षेत्रमा सवारी साधनको खाँचो छ। सवारी साधन बिना मानिसहरु एक ठाउँबाट अर्को ठाँउबाट आवतजावत गर्न सक्दैनन्। देश विकासमा पनि यसले त्यति नै प्रभाव पार्छ।

कृषि, पर्यटन, पूर्वाधार, पूनर्निर्माण लगायतका काममा सवारी साधनको नै प्रयोग हुन्छ । तर सरकारले सडकको विकास नगर्दा विकास भइरहेको छैन । सडक सँगै अटोमोबाइल्सको भविष्य पनि जोडिएको छ। सरकारलाई सडक निर्माण गर्न विभिन्न माध्यमबाट घच्घच्याउने हो । हाम्रो काम सुझाव दिने हो । आफैले काम गर्ने होइन । सुधारका लागि सरकारलाई सुझाव दिने हो ।

सडक दुर्घटना कम गर्न नाडाको योजना छैन ?

दैनिक सडक दुर्घटना भइरहेका छन् । नाडाले सडक दुर्घटना कम गर्न उदेश्यले जनचेतनाका काम गरिरहेका छौँ। दसँै तिहारको समयमा ठाँउ ठाँउमा स्टल राखेर दुर्घटना सम्बन्धी जानकारी दिने गरेका हुन्छौँ ।

नाडा अटो शोमा पनि स्टल राखेर दुर्घटना न्यूनिकरणका उपायहरु बताउने गरिन्छ । ट्राफिकसँग मिलेर लाइसन्सको कुरामा सुझाव दिने, कमर्सियल सवारी साधन चलाउने ड्राइभरले कम्तीमा १० कक्षा पास गरेको हुनु पर्ने र ६ महिनासम्म टे«निङ लिएपछि राम्रो चलाएको सिफारिस गरेर मात्र चलाउन दिने व्यवस्था गर्नु पर्नेमा जोड दिनेछौँ ।

तपाईँ बढी कुन क्षेत्रमा केन्द्रीत भएर काम गर्नु हुन्छ ?

लगानीको कुरालाई जोड्ने, व्यवसाय प्रवद्र्धन गर्ने, सडक सुधारका लागि सरकारसँग माग गर्ने र दुई वर्षको अवधिमा सातवटा संस्थागत सदस्यहरु मार्फत ट्रेनिङको कामलाई मैले प्राथमिकता दिनेछु ।

त्यस्तै सवारी साधन आयात गर्दा सडक सम्भारका लागि अटोमोबाइल्स व्यवसायीहरुले ५–६ प्रतिशत भन्सार कर तिरेका हुन्छन् । तर सरकारले सडक निमार्णमा ध्यान दिएको छैन । सरकार र कर्मचारीको बीचमा जुन कुरा हुनुपर्ने हो त्यो हुन सकेको छैन।

दईवर्ष अगाडि ट्राफिकले काठमाडौँ भरीका आधुनिक उपकरणको काम २५ करोड रुपैयाँमा पूरा हुने उल्लेख गरेको थियो । तर अहिलेसम्म भएको छैन । अहिले हातैले रोक्ने अवस्था छ । सरकार समक्ष कुरा राखेको छ । तर कार्यान्वयन भएको छैन । २५ करोडले रोकिएको तर देशको बजेट खर्च नहुन सकेर अलपत्र भएको अवस्था छ।

हामीले व्यवसाय गरेर कर तिरेर नाफा कमाउने हो । यो व्यापारीको कर्तव्य हो । र सरकारलाई राजस्व बुझाएर हाम्रो धर्म पूरा हुन्छ । सम्बन्धीत व्यक्तिले पनि आफ्नो धर्म पूरा गर्नु प¥यो ।

सरकारले काम पूरा गरे विकास हुने हो । सरकार र कर्मचारीको तालमेल नमिलेका कारणले विकास भएको छैन ।

तपाईँहरुले विद्युतीय गाडीको कुरा पनि गरिरहनुभएको छ, नेपालका सडकमा त्यो सम्भव छ?

अहिलेको आवश्यकता भनेको विद्युतीय गाडी नै हो । विद्युतीय सवारी साधन देशमा नै उत्पादन गर्नु पर्ने हाम्रो माग हो । तर विद्युतीय सवारी साधन महंगो भएकाले बाहिरबाट आयात गर्दा धेरै मूल्य विदेशिने अवस्था छ। त्यसैले नेपालको उर्जा प्रयोग गरेर नेपालमा नै सवारी साधन बनाउनु पर्ने हाम्रो माग छ । यसको लागि हामीलाई पूर्वाधारको खाँचो छ ।

सडकको आवश्यक पर्छ । सवारी साधन चल्न सडक नै चाहिन्छ । विद्युतिय गाडीको हाइट सानो हुन्छ । त्यसका लागि राम्रो सडक भयो भने त्यो सम्भव छ । आयात गर्नु भन्दा नेपालमै वर्षको १० हजार जती यातायातका साधन विक्न सक्ने वातावरण बनायो, बजार व्यवस्थापन गर्न सके र ती गाडी कुद्न सक्ने सडक भए त्यो सम्भव छ ।

अन्यथा पेट्रोल डिजेलको गाडी भन्दा चार गुणा बढी तिरेर गाडी कस्ले खरिद गर्छ ? यदि यस्तो अवस्थामा पनि विद्युतिय गाडी आयात गर्ने हो भने सरकारको राजश्व पनि मर्छ । आयात भएका गाडीहरु पनि कसैले खरिद खरिद गर्दैनन् । समग्रमा भन्नुपर्दा अहिले विद्युतिय गाडीको भविष्य अन्यौलमा छ ।

विद्युतीय सवारी साधनको भविष्य राम्रो बनाउन के गर्नु पर्ला ?

विदेशी कम्पनीले लाइसेन्स लिएर लगानी बोर्ड मार्फत काम सुरु गरेको कुरा सुन्नमा आएको छ । कुनै पनि उद्योग आउँछ भने सरकारले स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्ता दुवैलाई राखेर या जति सेवा विदेशी लगानीकर्तालाई दिन्छौँ स्वदेशी लगानीकर्तालाई दिएर काम गर्न आवश्यक छ ।

विदेशी लगानीकर्तालाई कर छुट, जमिन उपलब्ध गराउने तर स्वदेशी लगानीकर्तालाई विभिन्न ठाँउमा दर्ता गर्नु पर्ने लामो समय लाग्ने हुन्छ । यसले गर्दा कर पनि छुट नहुने हुन्छ । यी कुराले बन्धन लगाउने र भइरहेका उद्योगलाई संरक्षणमा पनि नलिने अरु उद्योगको आवश्यकता भएको महसुस गर्ने प्रवृति छ।

यसका लागि सरकारले सुधार गर्नु पर्ने धेरै कुरा छन् । नेपालमा अटोमोबाइल्समा उद्योगहरु सुरु हुदैँ छन् । ती उद्योगको पनि संरक्षण गर्नु पर्छ । स्वदेशी लगानीलाई पनि माया गर्नु पर्छ । उद्योगीहरु आउन सक्ने राम्रो वातावरण बनाएर सम्भव छ। तर हामीले भाषणका लागि भाषण गर्ने र व्यवहारमा लागू नगर्ने हो भने विकास हुन सक्दैन ।

नाडा राजधानी केन्द्रित छ र राजधानी बाहिर पनि केन्द्रित हुन कस्तो योजना छ ?

हामीले नारायणघाटमा ठाँउ हेरेका छाैँ । चितवन अटोमोबाइल्स व्यवसायीहरुसँग पनि कुरा भइरहेको छ । नारायणघाट, चितवन, हेटांैडा र पोखराका अटोमोबाल्इस व्यवसायीहरुसँग छलफल भइरहेको छ । उनीहरुले चासो देखाए हामी हरतर्फबाट अटोमोबाइल्सको प्रवद्र्धन गर्नका लागि सहयोग गर्न तयार छौँ।

सवारी साधनको व्यवसाय कस्तो छ ?

अटोमोबाइल्स व्यवसाय सिथिल छ । यसलाई सिथिलताबाट माथि लान जरुरी छ । यसलाई चलायमान बनाउनु पर्नेछ । अटोमोबाइल्स चलायमान भयो भने देश चलायमान हुने हो । सबैभन्दा ठूलो राजस्व ओगटेको क्षेत्र भनेको अटोमोबाइल्स हो । राजस्वको १५ प्रतिशत अटोमोबाइल्सले ओगटेको छ। रोजगारीका हिसाबले २० लाखले रोजगारी पाएका छन् । यातायातको क्षेत्र हो । यति ठूलो क्षेत्रलाई सरकारले सम्बोधन गरोस् ।

नेपालीहरुले कस्ता गाडीको माग बढी गर्छन ?

नेपालीहरुले कम मूल्यकै गाडी रुचाउँछन् । विक्रि पनि कम मूल्यका नै हुन्छन् । सरकारले कम मूल्यका गाडीलाई नै प्राथमिकता दिन्छ । सरकारले विद्युतिय गाडी ल्याएको छ । तर ती गाडी नेपालको बाटोमा गुड्न सक्छन् कि सक्दैनन् त्यो कुराको अध्ययन गर्न जरुरी छ । सार्वजनिक सवारी साधनको राम्रो व्यवस्थापन गरियो भने निजी सवारी साधनको खासै आश्यकता पर्दैन ।

जाम, पार्किङको अभाव लगायतका समस्याले गर्दा गाडी धेरै भयो भनिन्छन् । तर वास्तवमा त्यसो होइन । फराकिला सडकको निर्माण नभएमा जाम र दुर्घटना बढ्ने हो ।

हरेक नेपालीले निजी सवारी साधनको सपना देख्छ र सरकारले त्यो सपना पूरा गर्छु भनेको छ। तर कहिले त्यो सपना पूरा हुन्छ भन्ने प्रश्न छ।  सपना पूरा पनि हुनुपर्छ । प्रधानमन्त्री, मन्त्री कार्यकर्ता सबैले गाडी चड्ने सर्वसाधारणले किन चढ्न नपाउने ?

सरकारसँग सहकार्य गरेर कसरी अगाडि बढ्नुहुन्छ ?

व्यवसायीहलाई कुनै मर्का नपारी व्यवसाय गर्न पाए सरकारसँग कुनै सरोकार हुँदैन । सरकारलाई सुझाव दिने हो र आफूलाई समस्या परेको कुरा सरकार समक्ष राख्ने हो ।

व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ त्यसमा सरकारसँग सहकार्य गर्ने हो । बजेटको समयमा सरकारलाई सुझाव दिन्छौँ । यातायात क्षेत्रमा कुनै नीतिगत रुपमा अप्ठेरो पर्‍यो भने त्यसको पनि सुझाव दिन्छौँ । सरकारसँग हामी निरन्तर वार्तामा हुन्छौँ । सरकारसँग निरन्तर कार्य गरिरहेका हुन्छौँ । भन्सार सहजिकरणका देखि लिएर आयकर, उद्योग, वाणिज्य, सबै कुराको सजकता अपनाएर सरकारसँग सहकार्य भइरहेको हुन्छ ।

सडक र सवारी अनुपात बराबर गर्न नाडाको भूमिका के छ ?
हामीले सवारी साधनलाई रोक्न सक्दैनौँ । विकास, जनसंख्या, सपना र चाहनालाई रोक्न सकिँदैन । त्यस्तै जनता समृद्धि तिर अगाडी बढेको छ । धेरैको चाहना गाडी चढ्ने छ । तर सरकारले सडक नबनाएर बस्छ भने विद्रोह हुन्छ ।

२० औँ वर्षदेखि राजनीति गर्नु भएको छ। सरकार चलाउनु भएको छ । जुन सुकै पार्टी आए पनि पहिलो काम भनेको नयाँ सडक बनाउने हो । एउटा सरकारले सडकमात्रै राम्रो बनाइदिने हो भने देशको विकास निजी क्षेत्रले आफै गर्छ ।

मात्र सराकरले खोलामा करिडोरहरु, चाइनाका बोर्डर देखि भारतको बोर्डरसम्म ठूला ठूला सडक, पूर्व पश्चिम राजमार्ग बनाइदिने हो भने समृद्धि आउँछ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्