बलिउड बक्स अफिस: अजय देवगनको ‘तान्हाजी’को तुलनामा ‘छपाक’को व्यापार कमजोर

एजेन्सी– दीपिका पादुकोणको मुख्य अभिनय रहेको बलिउड चलचित्र ‘छपाक’ले बक्सअफिसमा अजय देवगनको ‘तान्हाजीः द अनसुङ वारियर’ को तुलनामा कमजोर  व्यापार गरेको छ। दुबै चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएका हुन्।

अजयको ‘तान्हाजी’ले चार दिनमा ७५ करोडको व्यापार गर्दा दीपिकाको ‘छपाक’ले केवल २१ करोड मात्रै कमाइ गरेको छ।

बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार अजयको ‘तान्हाजी’ले पहिलो दिन शुक्रबार १५.१० करोड, दोस्रो दिन शनिबार २०.५७ करोड, तेस्रो दिन आइतबार २६.२६ करोड र चौथो दिन साेमबार १३.७५ करोडसहित कुल ७५.६८ करोडको व्यापार गरेको छ।

यस्तै दीपिकाको ‘छपाक’ले पहिलो दिन शुक्रबार ४.७७ करोड, दाेस्रो दिन ६.९० करोड, तेस्रो दिन ७.३५ करोड र चौथो दिन सोमबार २.३५ करोडको व्यापार गरेको तरण आर्दशले ट्वीट गरेर जानकारी दिएका छन्।

दीपिका जेएनयु गएको विषयलाई भाजपाका नेता कार्यकर्ताले प्रतिष्ठाको विषय बनाएर ‘छपाक’ बहिस्कारका लागि आह्वान गरेपछि बक्सअफिसमा त्यसको असर देखिएको बताइएको छ।

केही दिनअघि दीपिका जवाहरलाल नेहरु विश्वविद्यालय पुगेर भाजपा समार्थित नकाबधारीहरुको आक्रमणमा परेर घाइते भएका विद्यार्थीहरुसँग भेट गरेपछि भाजपा कार्यकताले सामाजिक सञ्जालमा ‘बायकट छपाक’ ह्यासट्याग चलाएका थिए।

उक्त बहिष्कारका कारण ‘छपाक’को व्यापार सोचेअनुरुप नभएको बताइएको छ।

यद्यपि अजयको ‘तान्हाजी’को तुलनामा ‘छपाक’ झण्डै आधाभन्दा कम स्क्रीनमा मात्रै रिलिज भएको थियो।

बलिउड विश्लेषक तरण आदर्शका अनुसार भारतमा ‘तान्हाजी’ ३ हजार ८ सय ८० स्क्रीनमा रिलिज भएको थियो भने ‘छपाक’ केवल १ हजार सात सय स्क्रीनमा मात्रै रिलिज भएको थियो।

छपाकको व्यापार घट्दा त्यसको फाइदा ‘तान्हाजी’लाई हुने हुँदा अजयको ‘तान्हाजी’को व्यापार अझै वृद्धि हुने चलचित्र विश्लेषकहरुले बताएका छन्।

मेघना गुलजारको निर्देशनमा बनेको चलचित्र ‘छपाक’ करिब १४ वर्षअघि एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथामा आधारित छ। जसमा दीपिका लक्ष्मीको भूमिकामा देखिएकी छन्।

ओम राउतको निर्देशनमा बनेको चलचित्र ‘तान्हाजीः द अनसुङ वारियर’ एक जना मराठा योद्धा तानाजी मालुसुरेको वीरताको कथा हो। जसमा अजय देवगनका साथै सैफ अलि खान र काजोलको मुख्य अभिनय रहेको छ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू