आर्मीलाई संकटाको संकट, अग्रता लिने अवसर गुमायो

काठमाडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा उपाधि होडको नेपाल आर्मी क्लब, संकटासँग १-१ गोलको बराबरीमा रोकिएको छ।

यो नतिजापछि आर्मीले शीर्षस्थानमा उक्लने अवसर गुमायो। आर्मी ६ खेलमा चार जित, एक बराबरी र एक हारको नतिजासहित १३ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको मच्छिन्द्रको ६ खेलबाट १३ अंक छ। साविक विजेता मनाङ मर्स्याङ्दीको ६ खेलबाट १२ अंक छ।

दशरथ रंगशालामा भएको खेलमा आर्मी ५२ औँ मिनेटपछि १० खेलाडीमा सिमित भएको थियो। आर्मीका युद्ध शाहीले सोझै रातो कार्ड पाएका थिए। त्यसपछि संकटाले खेल बराबरीमा ल्याएको थियो।

संकटाका अमित तामाङले ५५ औँ मिनेटमा गोल गरेका हुन्। आर्मीले २९ औँ मिनेटमा अग्रता लिएको थियो। स्ट्राइकर नवयुग श्रेष्ठले गोल गरेका थिए। पछिल्लो खेलमा मनाङले बराबरी र थ्रीस्टारले पराजय ब्यहोरेको अवस्थामा आर्मीले जित हात पारेर उपाधि होडमा अझ बलियो हुने मौका गुमाएको हो।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्