पुसमा मात्र १३ सय टन तरुल, २४२ टन सखरखण्ड र १७२ टन पिडालु भित्रियो

काठमाडौँ– माघे संक्रान्ति र तरुलको सम्बन्ध पुरानो हाे। यस पटकको माघे संक्रान्तिका लागि काठमाडौँमा तराईसहित नेपालका विभिन्न जिल्लाबाट तरुल भित्रिएको छ। गत वर्षको तुलनामा यस वर्ष तरुलको मागसमेत बढेको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार समितिका उपनिर्देशक विनय श्रेष्ठले माघे संक्रान्तिका लागि तरुलको माग बढी हुने बताए।

उनका अनुसार यस वर्षको पुस महिनामा १ हजार २ सय ९५ टन तरुल, २ सय ४२ टन सखरखण्ड र १ सय ७२ टन पिडालु भित्रिएको छ। उनले भने, ‘तराईका विभिन्न क्षेत्रबाट तरुल राजधानी भित्रिएको छ। सर्लाहीबाट मात्रै ५ सय ५२ टन आएको छ।’

गत वर्षको पुस महिनामा ९ सय ८२ टन तरुल, १ सय ३० पिडालु र १ सय ६३ टन सखरखण्ड भित्रिएको श्रेष्ठले जानकारी दिए। गत वर्षको पुस महिनाको तुलनामा यस वर्ष ३ सय १३ टन बढी तरुल भित्रिएको छ।

विशेषगरी माघे संक्रान्तिलाई लक्षित गरेर तराईबाट उपत्यकामा हरेक वर्ष तरुल भित्रिने गरेकाे उपनिर्देशक श्रेष्ठले बताए।

काठमाडौँमा यस वर्षको पुस महिनामा ७ करोड ४२ लाख ६८ हजार दुई सय ५० रुपैयाँ बराबरको तरुल भित्रिएको छ। गत वर्ष सोही अवधिमा तीन करोड ९० लाख ८३ हजार ६ सय रुपैयाँ बराबरको तरुल भित्रिएको थियो।

यस वर्ष तरुलको मागमा मात्रै होइन मूल्यमा पनि वृद्धि भएको छ। यतिबेला तरुल (औसत मूल्य) प्रतिकेजी ५७.३५ रुपैयाँ, पिडालु ४९.१९ रुपैयाँ र सखरखण्ड ५७.५० रुपैयाँमा विक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जानकारी दिएको छ।

गत वर्ष सोही अवधिमा तरुल (औसत मूल्य) प्रतिकेजी ३९.८० रुपैयाँ, पिडालु ४७.५९ रुपैयाँ र सखरखण्ड ५०.०४ रुपैयाँमा कारोबार भएको थियो। गत वर्षको तुलनामा यस वर्ष तरुलको औसत मूल्य १७.७७ रुपैयाँले वृद्धि भएको छ।

यस वर्ष पुस महिनामा भारतबाट ४२.२२ टन सखरखण्ड मात्रै आयात भएको छ। नेपालमा उत्पादन भएको तरुलले नेपाली बजारकाे माग धानेको श्रेष्ठले बताए।

काठमाडौँमा झापा, गोरखा, नवलपरासी, काभ्रे, दोलखा, धादिङ्ग, चितवन, सिन्धुली, रौतहट, उदयपुर, नुवाकोट, सर्लाही लगायतका जिल्लाबाट तरुल भित्रिने गर्छ।

यस्तै कालिमाटी बजारकी खुद्रा व्यापारी विमला ढकालले स्कुसको जरा, हात्तीपाइले, सिमल, वन तरुल लगायतकाे विक्री भइरहेको बताइन्।

उनले तरुलको नाम अनुसार मूल्य पनि फरक रहेको बताइन्। उनले भनिन्, ‘स्कुसको ३ सय रुपैयाँ, हात्तिपाइले तरुल एक सयदेखि एक सय २० रुपैयाँ, सिमल तरुलको एक सय रुपैयाँ, वन तरुल एक सय ५० देखि पाँच सय रुपैयाँ र सखरखण्ड एक सय रुपैयाँमा विक्री भइरहेको छ।’

तरुलको गुणस्तर हेरेर मूल्यको निर्धारण गरिएको ढकालकाे भनाइ छ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्