ग्यालरी बैठक भत्काउन विकास तथा प्रविधि समितिको निर्देशन

काठमाडौँ-संसदको विकास तथा प्रविधि समितिले सिंहदरबारस्थि पुरानो संसद भवनको रेट्रो फिटिङ गर्न नसकिने निष्कर्ष निकाल्दै भवनलाई भत्काउन निर्देशन दिएको छ।

मंगलबार बसेको समितिको बैठकमा सहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणको ब्रिफिङ सुनेपछि समितिले पुरानो भवनलाई भत्काएर मौलिक स्वरुपमै अर्को भवन बनाउन निर्देशन दिएको हो।

समितिमा मंगलबार सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारी र प्राधिकरणका सचिव शिवहरि शर्माले ग्यालरी बैठक भवनलाई रेट्रोफिटिङ गरेर पुनर्निर्माणनगर्न नसकिने बताएका थिए। प्राधिकरणले सिंहदरबारको मुख्य भवन रेट्रो फिटिङ गरिरहे पनि संसद भवन भने संभव नरहेको निष्कर्ष निकालेको थियो।

प्राधिकरणको अध्ययनलले ग्यालरी बैठकलाई संग्रालयको रुपमा राख्न सकिने तर दैनिक रुपमा प्रयोग गर्न नसकिने बताएको छ। २०७२ सालको भूकम्पका कारण क्षति पुगेपछि उक्त भवनलाई प्लास्टिकले छोपेर राखिएको छ।

२०१५ सालको पहिलो संसददेखि २०६२र६३ को अन्तरिम संसदसम्मका बैठकहरु उक्त भवनमा राखिएको थियो। राष्टिय पञ्चायतको बैठकसमेत उक्त भवनमा हुने गर्दथ्यो।

२०६४ मा भएको पहिलो संविधान सभा चुनावबाछ ६०१ सदस्य निर्वाचित आएपछि नअट्ने भएकाले नयाँ बानेश्वरको सम्मेलन केन्द्र भाडामा लिएर संसल भवन सञ्चालन भइरहेको छ।

समितिमा सांसद रंगमती शाहीले सांसदहरू हिँड्ने बाटोमा खतरा रहेकाले छिटो पुननिर्माण गर्न सुझाव दिइन्।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्