दिल्लीमा चाेरिएकाे ६५ लाख भारुसहित नेपाली दम्पती कैलालीमा समातिए

धनगढी– कैलाली प्रहरीले ६५ लाख भारतीय रुपैँयासहित तीन जनालाई पक्राउ गरेको छ। चोरीमा संलग्न श्रीमान–श्रीमतीसहित तीन जनालाई पक्राउ गरिएको हो।

भारतको राजधानी दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट नगद र गरगहना चोरी भएको जानकारी पाएपछि खटिएको कैलाली प्रहरीले जिल्लाको गौरीगंगा–२ की बिन्दा थापालाई सुरुमा पक्राउ गरिएकोमा पछि थप दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

बाजुराको बुढिगंगा–१ घर भएका २९ वर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई पक्राउ गरिएको उनले बताए।

बिन्दा थापाको कच्ची घरमा रहेको कोठाभित्र खटियामुनी खाल्टो खनेर टिनको बाकसभित्र प्लाष्टिक र कपडामा बेरी लुकाएर राखिएकाे अवस्थामा ६५ लाख नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चोरीपछि कैलाली पुगेका अग्रवालले एक करोड ४ लाखभन्दा बढी चोरी भएको दावी गरेका छन्।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्