मुख्‍यमन्त्री निवासमा थारु परिकार

मुख्यमन्त्री निवासमा घोँगी र ढिकरीका परिकार

बुटवल-मंगलबार बेलुका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको निवासमा फरक माहोल थियो। प्रदेश ५ मा अधिक बसोबास रहेका थारु र मगर समुदायका संस्कृति झल्किने नाच देखाइए।

थारु बडका नाच, लाखेनाच, कुमारी नाच, मारुनी नाच र झाँकीले प्रदेशको विविधताको प्रतिनिधित्व गरे।

माघीको अवसरमा मुख्यमन्त्रीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नाच र झाँकी मात्रै हैन, थारु समुदायका खास खास खानाको व्यवस्था गरिएको थियो।पाहुनाका लागि खिचडी, घोँगी, ढिकरी, तरुल, बटुक, माछा, बंगुरको मासु थियो।

प्रदेश ५ सरकारले प्रदेशमा माघ १ र २ गते माघे संक्रान्ति र माघीको बिदा दिएको छ।

शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सांस्कृतिक र समुदायका विविधताले प्रदेशलाई जोडेर राखेको बताए।

उनले सबै समुदायबीचमा सामाजिक सद्भाव कायम राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

सबै तस्बिर: सी‍.पी. खनाल/देश सञ्चार। 

 

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्