संरक्षण हुन नसक्दा सीताले शिक्षा हासिल गरेको स्थान ओझेलमा

जनकपुरधाम– मिथिला क्षेत्रकाे सभ्यतालाई विशेषगरी सीता तथा रामायणकालीन इतिहाससँग जोड्ने गरिन्छ। यद्यपि यस क्षेत्रमा रामायणकालीन इतिहासभन्दा पुरानो इतिहास पनि भेटिन्छ। तर संरक्षणको अभावमा यस्ता ऐतिहासिक तथा पौराणिक स्थल ओझेलमा परेका छन्।

त्यसकै नमूनाको रुपमा लिन सकिन्छ जनकपुधामको ज्ञानकुपमा रहेको सीताले अध्ययन गर्ने थलोलाई।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को आयोजना समेत गरेको छ। वर्षभरी पर्यटकीय सम्भावना बोकेका तथा ओझेलमा रहेका पर्यटकीय स्थलहरुलाई विश्वसामु चिनाउने उद्देश्यसमेत भ्रमण वर्षको रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बताउँदै आएका छन्।

हुन त नेपाल भ्रमण वर्ष २०२० को शुरुवात बडो तामझामका साथ देशैभरी जनवरी १ मा गरियो। तर त्यस पश्चात नेपालमा भ्रमण वर्ष चलिरहेको जस्तो नलागेको यहाँका पर्यटन व्यवसायीहरु बताउँछन्।

प्रदेश सरकारले भ्रमण वर्षलाई लक्षित गरेर बनाएको प्रदेशस्तरीय समन्वय समितिले प्रदेश दुईका प्रत्येक जिल्लामा ५/५ वटा गन्तव्यस्थलहरु निर्धारण गरेको छ। यसका साथै अन्य पर्यटकीय स्थलहरुलाई समेत उजागर गर्ने उद्देश्य भ्रमण वर्षको रहेको छ।

यद्यपि रामायणकालीन इतिहासभन्दा पुरानो इतिहास बोकेको ज्ञानकुप अझैसम्म ओझेलमै रहेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ मा रहेको याज्ञवल्क्य संस्कृत विद्यालय सीताको समयभन्दा पनि पुरानो इतिहास बोकेको ठाउँ भएको संस्कृतिविदहरुको भनाइ छ।

सीता आफ्नो बाल्यकालमा शिक्षादीक्षा प्राप्त गर्नका लागि सोही विद्यालयमा आउने गरेको मिथिला महात्म पुस्तकहरुमा उल्लेख गरिएको पाइन्छ।

शिष्यहरुका लागि लागि गुरुकुल परिसरमा विभिन्न तीन वटा कुप(इनार) को व्यवस्था गरिएको थियो। जसमा शतानन्द कुप, ज्ञानकुप र विद्याकुप रहेका छन्।

शतानन्द सीता र उनका बुवा राजा जनकका समेत गुरु थिए भने ज्ञान कुप यस भूमिको नाम थियो र विद्या कुपको जल अति नै शुद्ध रहेको विश्वास गरिन्छ। भारतबाट आउने पर्यटकहरुले यस कुपबाट पानी लग्ने गरेको ज्ञानकुपका प्रधानाध्यापक संजय कुमार झा बताउँछन्।

यस क्षेत्रमा रहेका तीन वटै कुपले सीताले आफ्नो शिक्षादीक्षा यसै स्थलमा हासिलको प्रमाणित हुने ज्ञानकुपका प्रधानाध्यापक झाकाे दावी छ।

यस ऐतिहासिक क्षेत्रको चर्चा मिथिला माहात्म्य पुस्तकमा समेत उल्लेख गरिएको छ। विद्या कुपको जलले चर्म रोग लगायत विभिन्न प्रकारको रोग निको हुने जनविश्वास रहिआएको छ।

सीतासँग मात्र नभई यसको इतिहास त्यसभन्दा पहिले याज्ञवल्क्य सँग समेत जोडिएको बताइन्छ। याज्ञवल्क्य आफ्नो वेद गुमाएपछि यस भूमिमै आएर वेद हासिल गरेका प्राधानाध्यापक झा बताउँछन्।

१५ दिने मिथिला मध्येमा परिक्रमाको क्रममा यहाँको जल ग्रहण नगरेसम्म अन्तरगृहको फल नहुने गरेको जनविश्वास छ।

धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको संरक्षणका लागि सरोकारवालाहरुले चासो नलिएपछि अहिले तीन वटै कुपको इतिहास मेटिने अवस्थामा पुगेको छ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्