संसद सत्तापक्षको लाचार छायाँ बन्दा कहाँ छन् प्रतिपक्षी दलका नेता देउवा?

शेरबहादुर देउवा

काठमाडौँ– पुस ४ गते संसदको हिउँदे अधिवेशन सुरु भए पनि सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन।

नेकपाभित्र कुन गुटबाट सभामुखको उम्मेद्वार बनाउने भन्ने विवादका कारण जनप्रतिनिधिको सर्वोच्च थलो संसद बन्धक भइरहेको छ। तेस्रोपटक सूचना टाँसेर बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ।

जनजीविका र राष्ट्रिय महत्वका विषय संसदमा प्रवेश गर्न पाएका छैनन्। एक हिसाबले जनताकाे आवाज अवरुद्ध हुन पुगेको छ। सत्ता पक्षले बाटो बिराउँदा वा गल्ती गर्दा सजग गराउने संवैधानिक दायित्व प्रमुख प्रतिपक्षी दलको हो।

अर्कोतर्फ सरकारले गरेका गलत कार्यविरुद्ध आवाज उठाउन संसद प्रतिपक्षका लागि सबैभन्दा प्रभावकारी र वैधानिक थलो हो। तर एक महिनादेखि संसद नेकपाभित्रको गुटको छायाँमा परिणत हुँदा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा मौन छन्।

उनको पार्टीले पार्टी कार्यालयबाट प्रवक्तामार्फत ‘रेडिमेड’ विज्ञप्ति जारी गर्ने बाहेक संसदमाथि सत्ता पक्षले गरेको अशोभनीय व्यवाहारको विरोध हुन सकेको छैन।

विपक्षी दलका नेताले सार्वजनिक रुपमा वा प्रधानमन्त्री एवं नेकपाका अध्यक्षहरुलाई भेटेर संसदलाई गुटगत खिचातानीमा नपार्न आग्रह गरेको सुनिएको छैन।

प्रतिनिधिसभा बैठकको/फाइल फोटो।

केन्द्रीय सदस्यसमेत रहेका कांग्रेसका एक सांसद एक महिनादेखि संसदलाई सत्ता पक्षले छायाँको रुपमा प्रयोग गर्दासमेत आफ्ना नेताले गम्भीरतापूर्वक नलिएकोप्रति खिन्नता प्रकट गर्छन्।

नाम उल्लेख गर्न नचाहने ती सांसदले प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा देउवाले राज्य कोषबाट तलबभत्ता बुझ्ने बाहेक अरु कुनै पनि दायत्व पूरा नगरेको गुनासो गर्छन्।

उनले भने, ‘हाम्रा सभापति एवं संसदीय दलका नेता प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा मासिक झण्डै तीन लाख बराबरको सुविधा लिनुहुन्छ तर काम चाहीँ नेकपाकै नेताले जस्तो गरिरहनुभएको छ।’

कांग्रेसकै अर्का एक सांसदले देउवाले संवैधानिक दायित्व पूरा गर्नुभन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सानातिना भागवण्डामै रमाइरहेको बताए।

सभापति देउवा मात्र होइन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पनि संसदमाथि नेकपाले गरेको व्यवहारप्रति अन्देखा गरिरहेका छन्। सोमबार झापा पुगेका कोइरालाले देउवालाई पार्टी नेतृत्वबाट हटाउनु पर्ने भन्दै तिखो आलोचना गरे तर संसदमाथि सत्तापक्षले गरेको व्यवहारप्रति कुनै धारणा दिएनन्।

नेकपाले संसदमाथि गरिरहेको हेलचेक्र्याइबारे कांग्रेस शीर्ष नेतृत्वको धारणा किन आएन भन्ने प्रश्नबाट सकेसम्म ठूला नेताहरु पन्छिन चाहन्छन्। महामन्त्री पूर्णबहादुर खड्काले आफू मिटिङमा भएकाले यो विषयमा पछि कुरा गर्ने भन्दै फोन राखे।

तर प्रमुख सचेतक बालकृष्ण खाँड भने संसद अवरुद्ध भएको विषयबारे आफूहरुले विरोध जनाइरहेको दाबी गर्छन्।

‘यो विषयमा हाम्रो पार्टीको प्रवक्ता र मैले पनि विरोध जनाइरहेको छु। तीन वटा अंगहरुले स्वतन्त्र रुपमा काम गर्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ छ। नेकपाले संसदमाथि गरेको व्यवहार सच्चिनु पर्छ’, खाँडले भने।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रतिपक्षी दलको नेताका रुपमा देउवाको अयोग्यता फेरि पनि प्रर्दशन भएको बताउँछन्। उनी सभामुख चयन हुन नसक्नु र संसद बन्धक बन्नुमा सत्ता पक्ष जत्तिकै प्रतिपक्षको पनि भूमिका रहेको विश्लेषण गर्छन्।

उनले देश सञ्चारसँग भने, ‘विपक्षी दलको नेताका लागि देउवाजी अयोग्य भएको यो अर्को प्रमाण हो। यो दुर्भाग्यपूर्ण छ। संसद बन्धक बन्नुमा नेकपाको जत्तिकै दोष कांग्रेसको पनि छ। सरकार निरंकुश बन्दै जानुमा देउवाजीको पनि हात छ।’

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्