८० भन्दा बढीको स्पिडमा पोलमा गएर जोतिएको थियो निसानले चलाएको कार

काठमाडौँ: मंगलबार घाम नउदाउँदै सामाजिक सञ्जालमा एउटा समाचार भाइरल जसरी फैलिएको थियो- गायक निसान भट्टराई अस्ताए। सायद उनका गीतहरु सुनेर फर्किएको समूह ब्युँझिसकेको पनि थिएन। तर, उनीहरुलाई के थाहा! अबेरसम्म गाएका भट्टराईले घर पनि पुग्नै नपाई संसार छाडे।

राजधानीको दरबारमार्गको बान थाई रेस्टुरेन्टमा गाएर घर फर्कने क्रममा भट्टराई तीनकुनेमा दुर्घटनामा परेका थिए। उनले चलाएको बा १० च ३०४ नम्बरको निजी कार तीनकुनेको सिनामंगल र कोटेश्वर मोडिने ठाउँमा रहेको सोलार पोलमा ठोक्किएको थियो। कार यसरी ठोक्किएको थियो कि चेपिएका भट्टराईलाई आधा घन्टाभन्दा बढी समयसम्म त्यहाँबाट निकाल्न सकिएन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट र्‍याकर लगेपछि मात्र निसानलाई गाडीबाट बाहिर निकाल्न सम्भव भएको थियो। प्रहरीका अनुसार गाडी निकाल्दा पोल समेत ढलेको थियो। घटनास्थलमै भट्टराईको ज्यान गएको प्रहरी अधिकारी बताउँछन्। ट्रमा सेन्टरमा पुर्‍याइएको केही समयमा निसानलाई मृत घोषणा गरिएको थियो।

जाडो बढिरहे पनि काठमाडौंको रात्रिकालीन जीवन तात्न छाडेको छैन। हरेक रात अबेरसम्म दरबारमार्ग र ठमेल गीतसंगीत र मदिरामा झुमिरहन्छ। क्लब, दोहोरी साँझ र गजल रेस्टुरेन्ट चहारिरहने भीड यी क्षेत्रमा मध्यरातपछि पनि उस्तै हुन्छ।

गायकगायिकाहरु यहाँ आउने ग्राहकलाई मनोरन्जन दिन हौसिरहन्छन्। ग्राहकहरुको ‘फर्माइस’ले उनीहरु समय बितेको पत्तै पाउँदैनन्। यस्तै समूहले निशान भट्टराईलाई ४० को दशकको अन्त्यतिर दरबारमार्ग क्षेत्रमा चिनेको हो। भट्टराईले यो जीवन शैलीमा कहिले ‘बोर’ मानेनन्। त्यसैले त, राजधानीको यो रात्रिकालीन जीवनबाट बाहिर जान सकेनन् करिब तीन दशकसम्म पनि ।

हरेक रात उनले गजलहरु गाए। रेस्टुरेन्टका ग्राहकहरुलाई ‘वर्थ समय’को ‘फिल’ गराए। आफू पनि रमाए, अरुलाई पनि ‘झुमाए’। गाउँदा गाउँदै थाक्थे उनी। उनलाई सुनेर फर्कनेहरु मस्त निदाउँथे।

प्रहरीले ओभर स्पीडका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ। ‘सिसिटिभी फुटेज हेर्दा कम्तीमा पनि ८०/९० को स्पिडमा कार रहेको देखिन्छ। कार फिल्मी स्टाइलमा पोलमा गएर ठोक्किएको छ’, महानगरीय प्रहरी वृत बानेश्वरका एक प्रहरी अधिकारी भन्छन्। चालक बस्ने साइडमा बढी ठोकिएकाले गाडी ओभरस्पिडपछि अनियन्त्रित भएको हुन सक्ने प्रहरीको अनुमान छ।

‘सिधै गएर पोलमा हानेकाले यसलाई गम्भीर भएर अनुसन्धान गर्नुपर्ने अवस्था देखिँदैन’, घटनास्थल नजिकैको बानेश्वर वृतका प्रहरी अधिकारी बताउँछन्। निसानले तीनकुनेबाट कोटेश्वर हुँदै नरेफाँट जानुपर्ने थियो। धरान स्थायी घर भएका निसानका श्रीमती अनि एक छोरा र छोरी छन्। उनी गायिका लोचन भट्टराईका भाई हुन्।

 

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्