दिलीपको हत्यापछि मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न निर्देशन

जनकपुरधाम– मापदण्ड विपरित सञ्चालनमा रहेका जिल्लाका सम्पूर्ण क्रसर उद्योगहरु बन्द गर्न जिल्ला समन्वय समिति धनुषाले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

नदीजन्य तथा ढुंगा, गिट्टी, बालुवा, खानीजन्य पदार्थको उत्खनन् संकलन र बिक्री सम्बन्धी अनुगमन तथा समन्वय समितिको मंगलबार बसेको बैठकले मापदण्ड विपरीत रहेका क्रसर उद्योग बन्द गर्न ७ बुँदे निर्णय गरेको हो।

जिससले विगतको मापदण्ड अनुसार दर्ता भएका र राजश्व समेत बुझाएका तर नविकरण हुन बाँकी र हाल रीत नपुगेका क्रसर तथा प्रशोधन उद्योग बन्द गर्न निर्देशन दिने निर्णय गरेको जिल्ला समन्वय समितिका उपसभापति दिपक झाले जानकारी दिए।

शुक्रबार धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका २४ वर्षीय युवा दिलीप महतोको टिपरले किचेर हत्या गरिएको थियो। दिलीपको हत्या पश्चात मंगलबार जिससको बैठकले अवैध रुपमा सञ्चालनमा रहेको सम्पूर्ण क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको हाे।

जिससले विगतमा दर्ता भएका, आन्तरिक राजश्व कार्यालयमा नियमित कर बुझाउँदै आएका तर हालको मापदण्ड अनुसार अन्यत्र सार्नुपर्ने अवस्थाका क्रसर एवं प्रशोधन उद्योगलाई मापदण्ड पुग्ने स्थानमा तत्काल सार्न सूचित गरिने र त्यहाँको पदार्थको परिमाण र किसिम खुल्ने गरी लागत राख्न लगाउने, वैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगलाई सूर्योदयदेखि सुर्यास्तसम्म मात्र उत्खनन् गर्न दिने लगायतको निर्णय गरेको उपसभापति झाले जानकारी दिए।

अहिले धनुषामा धेरै क्रसर उद्योगहरु अवैध रुपमा सञ्चालन भइरहेको पाइएको छ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्