कालिका शरण उच्चमाविको आधुनिक भवन हस्तान्तरण

काठमाडौँ – शंखरापुर नगरपालिका- ३ स्थित कालिका शरण उच्च माध्यामिक विद्यालयको छात्रावास सहितको आधुनिक भवन हस्तारण भएको छ।

कोरियाको अम होङ गिल ह्युमन फाउण्डेशनको सहयोगमा निर्मित सुविधा सम्पन्न भवन मंगलबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शिक्षा तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल, पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरसहितका व्यक्तिहरुको उपस्थितिमा फाउण्डेशनले भवन समुदायलाई हस्तान्तरण गरेको हो।

नवनिर्मत विद्यालय भवनमा १० वटा कक्षाकोठा, १४ वटा सुविधा सम्पन्न छात्रावास कोठा, करिब पाँच सय क्षमताको हल र शौचालय निर्माण भएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन वाइबाका अनुसार निर्माण सुरु गरेको १५ महिनामै लक्की विल्डर्स निर्माण सेवा कम्पनीले सम्झौताअनुसार काम सम्पन्न गरेको हो।

भवन निर्माणमा करिब पाँच करोड रुपैयाँ खर्च भएको छ। जसमध्ये १६ प्रतिशत अर्थात् ६७ लाख विद्यालय आफैँले खर्चेको हो भने बाँकी रकम फाउण्डेशनले सहयोग गरेको हो।

विद्यालय हस्तान्तरण कार्यक्रममा त्यसै क्षेत्रका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले भौतिक व्यवस्थापनको काम सकिएकाले अब शैक्षिक गुणस्तरमा ध्यान दिन सुझाव दिए।नेपालले भने, ‘यो विद्यालयमा भौलिक व्यवस्थापनको काम सकिएको छ। सुविधा सम्पन्न भवन निर्माण भएको पाउँदा खुशी लागेको छ। अब कक्षाकोठाभित्र हुने शैक्षिक गुणस्तरको काममा लाग्नुहोसु।’

२०३० सालमा स्थापन भएको उक्त विद्यालय त्यस क्षेत्रकै अग्रेणी विद्यालयका रुपमा रहेको छ।

त्यस्तै शिक्षामन्त्री पोखरेलले नेपालमा विद्यालय क्षेत्रको पूर्वाधार निर्माणमा अम होङ गिल ह्युमन फाउण्डेशनको सहयोग उल्लेखनीय रहेको भन्दै प्रशंसा गरे।

फाउण्डेशनले सन् २००९ देखि नेपालमा विद्यालय निर्माणका लागि सहयोग गर्दै आएको छ। हालसम्म १२ जिल्लाका १५ भन्दा बढी विद्यालयमा फाउण्डेशनले आधुनिक भवन निर्माण गरिसकेको छ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्