भुकम्प प्रतिराेधी घर बनाउन डकर्मीलाई विराटनगर महानगरकाे तालिम

मोरङ– विराटनगर महानगरपालिकाले भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि ३३ जना डकर्मीलाई तालिम तथा प्रशिक्षण दिएको छ।

मंगलबार महानगरपालिकामा आयोजित तालिमको समापनका क्रममा मेयर भीम पराजुलीले महानगर क्षेत्रमा भवनसंहिता अनुरुप भवन निर्माण हुने विश्वास व्यक्त गरे।

समापनका क्रममा आगामी दिनमा समेत डकर्मीहरुलाई आधुनिक तथा उपयोगी तालिम उपलब्ध गराउन महानगर उत्साहित रहेको बताए। तालिम फलदायी भएको दाबी गरेका मेयर पराजुलीले डकर्मीलाई सजग गराउँदै सिकेको सीपलाई सुरक्षित तवरबाट भौतिक पूर्वाधार निर्माणमा लागु गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा उपमेयर इन्दिरा कार्कीले यसप्रकारको तालिमबाट जनमानसमा सुरक्षित घर निर्माण गराउनतर्फ सबैलाई सजग गराउने विश्वास लिएको बताइन्।

महानगरपालिकाको आयोजनामा प्रत्येक वर्ष यसप्रकारको कार्यक्रम हुने गरेको छ। महानगरपालिका भवनसंहिता कार्यान्वयनमा टेवा पुग्ने उदेश्यसहित एक साताको कार्यक्रम राखिएको बताइएको छ।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्