थारु बस्तीमा ‘माघी’को हर्ष

दाङ– टेपरीभर ढिक्री
दोनाभर घोंगी
पट्टीया मे अचार
डोकिया मे जाँर
यहीबा माघी के
शुभकामना हमार

थारु कल्याणकारिणी सभा दाङकी उपाध्यक्ष रामपति चौधरीले माघ महोत्सवमा यसरी स्वागत गीत गाउँदा दर्शकदीर्घाबाट तालीले हर्ष बढाई भयो। थारु समुदायमा माघी पर्वलाइ नयाँ वर्षको रुपमा मनाउने चलन अनुसार अहिले थारु बस्तीमा चहलपहल बढेकाे छ।

थारु समुदायभित्र ‘पुस पकाइ, माघ खाइ’ उखान छ। यो उखानको सान्दर्भिकतासमेत रहेको छ। पुसको अन्तिम दिन थारु गाउँमा बंगुर काटेपछि माघी औपचारीक रुपमा सुरु हुने विश्वास छ। यही विश्वासले गर्दा थारु समुदायमा बंगुर काट्ने चलन अहिले पनि छ।

गढवा गाउँपालिका वडा नं. ६ धर्मपुर गाउँमा बंगुर काटेर माघी माउन सुरु गरिएको स्थानीय गुरिलाल चौधरीले बताए।

‘हाम्रो संस्कार अनुसार बंगुर मारेपछि बल्ल माघी सुरु हुन्छ’, उनले भने,‘माघीमा आउने पाहुनाको स्वागतको लागि बंगुर मार्ने चलन अहिले पनि कायम छ।’

दाङसहित पश्चिम नेपालका थारु समुदायले पुस मसान्तसँगै थारु गाउँहरुमा भव्यताका साथ माघी पर्व सुरु गरेका छन्।

पुस मसान्तमा बंगुरको मासु खाने र माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा नुहाई घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ (उपहार) छुट्याउने चलन थारु समुदायमा रहिआएको छ। मान्यजनहरुसँग आशीर्वाद थाप्दै ढिक्री, बंगुरको मासु, तरुल लगायतका परिकार खाँदै माघी मनाइने गरेको थारु अगुवा तथा पत्रकार छविलाल कोपिलाले बताए।

थारु समुदायले माघ १ गते खानपिन, ढोगभेट र रमाइलोमै बिताउने गरेका छन्। दिनभर आशीर्वाद थाप्ने र मिठो मसिनो खानुका साथै साँझबाट मघौटा नाच्ने र धमार गाउने गरिन्छ।

माघ महिनासँगै नयाँ आर्थिक वर्ष शुरु भएकाले थारु समुदायले माघ २ गतेदेखि अघिल्लो वर्षको समिक्षासँगै योजना तर्जुमा र नेतृत्व (भल्मन्सा, चिराकी/चौकीदार) को जिम्मेवारी हेरफेरमा जुट्ने गरेको छ। माघ २ गतेदेखि नयाँ भल्मन्सा (बड्घर), देशबन्ध्या (बर्का गुरुवा) चुन्ने वा पुरानैलाई निरन्तर जिम्मेवारी दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्ने गरिन्छ।

पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्दतिद्वारा अनुमोदन गर्ने चलनसमेत थारु समुदायमा रहिआएको छ। गाउँमा नयाँ वर्षभरिका लागि नयाँ नियम बनाउने गरिन्छ।

थारुहरुको घरभित्र भने छोराछोरीको बिहे गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनि छलफल हुने गरेको छ।

थारु समुदायले पुस मसान्तदेखि माघको पहिलो सातासम्म यी सबै काम गरिसक्छन्। माघको एक सातामा योजना तर्जुमा गरी उनीहरु काममा फर्किने गर्छन्।

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्