तप्त कुण्डमा स्नान गर्न तिर्थयात्रीको घुइँचो

पाँच हजार वर्ष पुरानो इतिहास बोकेको रिहार धाम

दाङ – भारत बहराइच घर भएका चेतराम यादव रिहार धाममा स्नानका लागी आइपुगेका छन् । हरेक बर्ष माघे संक्रान्तीमा उनी यहाँ रहेको तप्त कुण्डमा स्नान गर्न आउँछन् ।

पारिवारिक सुःख र पशु चौपायालाई रोग व्याधीले नसताउने धार्मिक विश्वासका साथ उनी यहाँ पूजा आरधनाको साथै स्नान गर्न आउने गरेको बताए । ‘हरेक वर्ष आईरहन्छौँ । यहाँ पूजा गर्दा मनोकामना सिद्ध हुन्छ भन्ने विश्वास छ ।’ उनले भने, ‘गाउँका अन्य साथीहरु पनि सँगै छौँ ।’ भारत सरावस्ती निवासी मनिराम चौधरी पनि एक दिनअघि रिहार धाममा आइपुगेका हुन् । लमही नगरपालिका वडा नं. ९ रिहारमा हरेक वर्ष माघे संक्रान्तिको अवसारमा मेला लागेको छ ।

एक महिनाअघि देखिनै यहाँ चहलपहल सुरु भएको छ । मेला भर्ना विशेषगरी भारतीय तिर्थयात्रीहरु आउने गर्छन् । यस वर्ष पनि भारतीय तिर्थयात्रीको संख्या बढ्न सक्ने बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्र मेला व्यवस्थापन समितिका अम्बर कवरले जानकारी दिए । उनका अनुसार तीन लाख पर्यटकले मेला अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेला अवलोकन गर्न आउनेहरुको विशेष आकर्षण भौरी (ढुंगा) बोकेर मन्दिर परिक्रमा गर्नेमा रहेको छ ।

को बलियो भन्ने मान्यताका साथ ढुंगा बोकेर मन्दिर परिक्रमा गर्ने कार्य पहिलेदेखि नै चलिआएको छ । द्वापर युुगमा ऋषिमुनिहरुले बिहार गरेको स्थलको रुपमा रिहार परिचित छ । विगतका वर्षमा लाग्ने मेला भन्दा यसपटक व्यवस्थापन पक्ष बलियो देखिएको मेला अवलोकन गर्न आएकाहरुले प्रतिकृया दिएका छन् ।

बगारबाबासहित भैने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिर जस्ता तीर्थाटन पर्यटकहरुको लागि धार्मिक संरचना रहेका छन् । यो धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरुले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ ।

राजमार्गको दायाँ बाँयामा फैलिएको रिहार धाम एकसय हेक्टर क्षेत्रफलमा रहेको छ । रिहारमा तीर्थाटनका पर्यटकहरुले बगारबाबाको पूजा गर्दछन् । बगारबाबा खुशी भएमा सन्तान र धन सम्पत्ति लाभ हुुन विश्वास छ ।

रिहारलाई यदुवंशी अर्थात यादवहरुले  आफ्नो पुर्खाको  उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षे त्र यदुवंशीहरुको  सांस्कृतिक धरोहरका रुपमा लिने गरेका छन् । अर्काे तर्फ रिहारमा थारु जातीहरुको पनि सस्कृति जोडिएको छ । थारु जातीहरुले रिहार क्षेत्रमा परापुर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबावालाई पूजाआजा गर्दै आएका छन् ।

रिहार धाम यादव र थारु जाती दुवैको धरोहर हो । तर पनि आजभोलि सबै तीर्थाटन पर्यटकहरको लागि आस्थाको गन्तव्य बनेको छ । रिहारमा द्वापर युगमा दंगीशरण राजा र यदुवंशीको  बीचमा घोडीको  विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान रिहार आएको  किम्बदन्ती पनि छ  ।

माघेसंक्रान्तिको अवसरमा दाङको बाराह क्षेत्र (बाह्रकुने दह) क्षेत्रमा मेला लागेको छ । त्यहाँ रहेको मन्दिरमा पूजा आरधनाका साथै स्नान गर्नेहरुको बिहानैदेखि भिड लागेको छ । हरेक वर्ष माघेसंक्रान्तिको अवसरमा मेला लाग्ने गरेको छ ।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्