अमेजनका संरक्षक आदिबासी सम्मेलनमा ब्राजिलका राष्ट्रपतिको योजनाविरुद्ध रणनीतिक छलफल

ब्राजिलका आदिबासी नेताहरुको चार दिने सम्मेलन अमेजनमा सुरु भएको छ । आदिबासी समुदायका नेताहरु राष्ट्रपति जायर बोल्सोनारोको योजनाको विरोधका लागि एकताबद्ध हुने विषयमा छलफल गर्न आदिबासी नेताहरु भेला भएका हुन् ।

राष्ट्रपति बोल्सोनारोले अमेजन रेन फरेस्ट र त्यस आसपासमा आदिबासी समुदायको संरक्षित क्षेत्रका रुपमा रहेका स्थानहरुलाई व्यवासायिक माइनिङ्ग तथा कृषिका लागि खुल्ला गर्ने योजना बनाएका छन् । तर आदिबासी समुदायले भने वर्षौँदेखि आफूहरु बस्दै आएको र आफूहरुले संरक्षण गर्दै आएको क्षेत्रमा व्यवासायीक गतिविधि हुन नहुने बताएका छन् ।

बोल्सोनारो राष्ट्रपति बनेयता आदिबासी समुदायको संरक्षणमा रहेका क्षेत्रहरु काठ तस्कर तथा माइनरहरुको निशाना बनेका छन् । यसले गर्दा वन फडानी तीव्र बनेको छ । यस्तै अमेजनमा डढेलो तथा विभिन्न संरक्षित क्षेत्रमा तनाव र भिडन्तको अवस्था आएका छन् । बोल्सोनारो गएको वर्ष ब्राजिलको सत्तामा आएका हुन् ।

बोल्सोनारोले भने झण्डै ९ लाखको हाराहारीमा रहेका आदिबासी समुदायलाई ब्राजिलको बिस्तारित अर्थतन्त्र र समुदायमा समाहित गराउनका लागि योजना ल्याएको बताएका छन् । ब्राजिलमा ४६२ आदिबासी संरक्षित क्षेत्र रहेका छन् । ती क्षेत्र मिनिरल्स सम्पन्न तथा कृषि सम्भाव्यता युक्त छन् ।

वातावरणसंरक्षणविद तथा संरक्षणपक्षपातीहरुले बोल्सोनारोको योजनाले अमेजन जंगललाई बिनास गर्ने क्रम तीव्र पार्ने बताएका छन् । अमेजन विश्वको सबैभन्दा ठूलो ट्रोपिकल रेनफरेस्ट हो र यसलाई विश्वव्यापी रुपमा गम्भीर चुनौति बन्दै गएको जवलायु परिवर्तनको असर कम गर्नका लागि सबै भन्दा महत्वपूर्ण क्षेत्रका रुपमा लिइन्छ ।

बायापो आदिबासी नेता मेगारोनले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘धनी बोल्सोनारोले गोरो धनीहरुका लागि बोलिरहेका छन्, उनीहरुलाई कार तथा विमान किन्न सक्ने बनाउन चाहेका छन् र उनीहरुलाई थप धनी बनाउने उनको योजना हो ।’

आदिबासीहरुको भेला जिन्गु पार्कको गाउँमा भइरहेको छ । यो भेलामा अमेजनको संरक्षण तथा त्यसमाथि उत्पन्न भएको चुनौतिको समाना गर्ने सम्बन्धमा रणनीतिक छलफल हुने गर्छ । आदिबासी समुदायलाई अमेजन जंगलका संरक्षक तथा गार्डका रुपमा लिने गरिएको छ । तर बोल्सोनारो भने आदिबासीको विपक्षमा देखिएका छन् ।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्