निर्भयाः फासीअघि परिवारसँग अन्तिम पटक भेट्नेछन् दोषी

काठमाडौँ – भारतको तिहाड कारागारका अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरेका छन् ।

टाइम्स अफ इण्डियाले कारागार श्रोतलाई जनाउँदै आफ्नो रिपोर्टमा लेखेको छ, ‘२० जनवरी अर्थात फासी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग भेटघाटका लागि अनुमति दिइने छ ।’

कारागारका अधिकारीले भनेका छन् ‘फासीको मितित तय भएपछि अब उनीहरुलाई पालैपालो परिपवारका सदस्यसँग भेट्न अनुमति दिइने छ ।’

घटनाका चार दोषीहरु मुकेश कुमार, अक्षय सिंह, विनय शर्मा र पवन गुप्तालाई फासीभन्दा पहिले परिवारसँग भेट्न समय दिइने भएको हो ।

कारगारका अधिकारीका अनुसार फासी भन्दा पहिले त्यो पैसाको पनि हिसाब हुने छ जो उनीहरुले जेलमा रहेर कमाएका थिए । उक्त रकम परिवारका सदस्यहरुलाई दिइने छ ।

अक्षय सिंहले जेलमा रहेका बेला काम गरेर ६९,०००, विनय शर्माले ३९,००० र पवन गुप्ताले २९,००० रुपैयाँ कमाएका छन् । मुकेश कुमारले जेलमा काम गर्न इन्कार गरेका थिए ।

अदालतले विनय शर्मा र मुकेश कुमारको क्यूरिटिव पिटिशन खारेज गरिसकेको छ । तिहाड जेलका एक वरिष्ठ अधिकारीले भने, ‘क्यूरिटिव पिटिशन खारेज भएपछि विनयका बुवा उनलाई भेट्न आएका थिए र बुवासँग कुराकानीका क्रममा विनय पटक पटक रोएका थिए ।’

१६ डिसेम्बर २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कार घटनाका चार दोषीलाई डेथ वारेन्ट जारी भइसकेको छ । पटियाला हाउस अदालतले फासीका लागि २२ जनवरी २०२० बिहान सात बजेको समय तय गरेको छ ।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्