द्वन्द्वमा मारिएकामध्ये पाँच हजारको मात्र जिम्मा लिन्छु, रेशम चौधरीलाई चाँडै छुटाउँछु: प्रचण्ड

काठमाडौंको टुँडिखेलमा आयोजित राष्ट्रिय थारु माघी (माघ) महोत्सवमा बोल्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'। थारु समुदायले काठमाडौं लगायत देशभर माघी मनाएका छन्। तस्बिर-देश सञ्‍चार

काठमाडौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको मात्र आफूले जिम्मेवारी लिन सक्ने बताएका छन्।

बुधबार टुँडिखेलमा आयोजित माघी महोत्सवमा तत्कालीन माओवादीका सुप्रिमो रहेका दाहालले राज्यतर्फबाट धेरै व्यक्ति मारिएकाले आफूलाई मात्र एक पक्षीय रुपमा दोषारोपण नगर्न आग्रह गरे।

अरुले गरेको गल्तीको दोषसमेत आफूमाथि लगाउँदा न्याय नहुने उनेको जिकिर थियो।

दाहालले भने, ‘म तथ्यांक सच्याउन चाहन्छु। मलाई १७ हजार मान्छे मारेर आएको अरोप लगाइएको छ। सत्य त्यो होइन, सत्य के हो, हिजोका सामन्ती शासकहरुले १२ हजार मारेका हुन्, म पाँच हजारको जिम्मा लिन्छु। राज्यले मारेको १२ हजारको चाहिँ कुरा नहुने? राज्यले मारेका पनि मेरै टाउकामा हाल्ने गरियो भने यो न्याय हुँदैन।’

२०५२ साल फागुन १ देखि २०६३ मंसिर ५ गतेसम्म चलेको सशस्त्र विद्रोहको नेतृत्वमा दाहालले गरेका थिए। थारु समुदायका लागि सबैभन्दा बढी योगदान आफूले गरेको दाबीसमेत गरे।

टिकापुर घटनाका कारण निलम्बनमा परेर थुनामा रहेका सांसद रेशम चौधरीलाई छिट्टै जेलबाट छुटाउने दाहालले घोषणा गरे।

‘डिल्ली बजारको खोरमा पुगेर अफिसमा बोलाएर रेशमलाई भेट्ने पनि मैं हुँ भन्ने सम्झिनु होला,’ प्रचण्डले भने, ‘सभामुख, पार्टी र सरकारलाई भनेर रेशमलाई शपथ ग्रहण गराएर माननीय दर्ता दिलाउने व्यक्ति पनि मैं हुँ। टिकापुरको घटनामा केही व्यक्ति छुट्न बाँकी छन्। रेशमलाई पनि छुटाइन्छ, केही समय हेर्नुहोला।’

यस्तो छ दाहालले टुँडिखेलमा गरेको भाषणको सम्पादित अंश


राजनीतिक भाषण गर्न यहाँ आएको होइन। विचार भावना बुझ्न आएको हुँ। मौलिक पर्वका रुपमा माघी मनाइँदै आएको छ। आजको दिन वर्ष दिनका लागि योजना बनाउने दिन हो। मलाई ताकेर, हिजो सबैको अधिकार र पहिचनाको लडाइँ गरेको नेतृत्व गरेकाले होला, मलाई ताकेर भनियो।

म तथ्यांक सच्याउन चाहन्छु। मलाई १७ हजार मान्छे मारेर आएको अरोपा लगाइएको छ। सत्य के हो, सत्य हिजोका सामन्ती शासकहरुले १२ हजार मारेका हुन्, म पाँच हजारको जिम्मा लिन्छु। हिजो राज्यले मारेको १२ हजारको चाहिँ कुरा नहुने ? राज्यले मारेका पनि मेरैं टाउँका हाल्ने गरियो भने न्याय हुँदैन।

मैंले सधैं भनेको छु, युद्धमा भएका राम्रा नराम्रा कुराको जिम्मा लिन्छु। त्यसबाट भाग्ने कुरै हुँदैन। तर नगरेको कामको दोष पनि मलाई नै थुपारियो भने राम्रो हुँदैन। प्रधानमन्त्री भएको बेला रेशमलाई भारतमै भेटेर तपाईंको समस्या के के हुन् भनेर भेट्ने प्रधानमन्त्री प्रचण्ड थियो भन्ने नबिसिर्नु होला।

मैं हुँ, त्यसलाई ख्याल गर्नुहोला। डिल्ला बजारको खोरमा पुगेर अफिसमा बोलाएर रेशमलाई भेट्ने पनि मैं हुँ भन्ने पनि सम्झिनु होला। सभामुख, पार्टी र सरकारलाई भनेर रेशमलाई शपथ ग्रहण गराएर माननीय दर्ता दिलाउने व्यक्ति पनि मैं हुँ। टिकापुरको घटनामा केही व्यक्ति छुट्न बाँकी छन्। रेशमलाई पनि छुटाइन्छ, केही समय हेर्नुहोला। उनलाई छुटाउने संघर्षमा म लागेको छु।

आन्दोलन भनेको कसैले नचढको हिमाल चढे जस्तो हो। नाकको सिधा चढ्न सकिँदैन, कहिले तल, कहिले माथि, दायाँ बायाँ गर्नुपर्छ। चौतरीमा बिसाउनु पर्ने हुन्छ। यो कुरा नबुझी आरोपित गर्न लाग्नुभयो भने यसले भलो गर्दैन।

संविधान जारी हुनुभन्दा पहिला थारुहरुको छुट्टै पहिचान थिएन। मधेसीभित्र राखिएको थियो। हामीले छुट्टै पहिचान हुँनैपर्छ भनेर अडान राखेका कारण, अलग पहिचना कामय भएको छ। के त्यसो गर्नु हुँदैनथ्यो ? गल्ती भएको हो?

थारु आयोग बनाउनु पनि गल्ती थियो। संविधान बनाउने बेलामा आदिवासी जनजातिका लागि अधिकारले पुग्दैन भनेर फरक मत राख्ने पार्टीको नेता मैं हुँ भन्ने हेक्का राख्नुपर्छ। हामीले आन्दोनमा विश्राम लिएका छौं। चौतारीमा बसेका छौं। संविधान निरन्तर संशोधन गर्दै लैजाने विषय हो। हिजो संविधानले राजतन्त्र अपरिवर्तनीय भनेको थियो।

अहिले सार्वभामैसत्ता, भौगोलिक अखण्डता मात्र अपरिवर्तनीय छ। अहिले आन्दोलन जारी भइरहेको छ। तर, पोल्टाको खस्ने हातको पनि गुम्न सक्ने अवस्थालाई हेक्का राख्नुपर्छ।

एकैपटक सबै चीज कसैले पाएको छैन। प्राप्त उपलब्धिलाई रक्षा गरेर थप उपलब्धिका लागि संघर्ष गर्नु मानव इतिहास हो। मैंले सञ्चालन गरेको आन्दोलनमा सबैभन्दा धेरै बलिदान थारु युवाको थियो। देशका सबै क्षेत्र वर्ग, समुदाय मुल प्रवाहमा नआउन्जेल तपाईंहरुको जिम्मेवारी मैंले बहन गरेको छु। हामीले आवेगमा होइन, बुद्धि लगाएर अघि बढ्न आवश्यक छ।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्