विराटनगरमा ‘विराट सडक महाेत्सव’ सुरु

मोरङ– विराटनगरमा बुधबारदेखि सडक खाना महोत्सव सुरु भएको छ। महानगरपालिकास्थित महेन्द्र चाेकदेखि ट्राफिक चाेकसम्म आयोजित महोत्सवमा स्थानीय संस्कृति र जातीय खानाको प्रवर्द्धन गरिने आयोजक मञ्जिना मूभि क्रिएसनका प्रवन्धक निर्देशक जतिन ताम्राकारले बताए।

महानगरका मेयर भीम पराजुलीले सडक महोत्वसको उद्घाटन गर्दै विराटनगर र आसपासका सर्वसाधारणलाई सडक महोत्सवले फरक स्वाद पस्कने विश्वास लिएको बताए।

पर्यटकीय क्षेत्रमा यसप्रकारका कार्यक्रम हुँदै आएको बताएका मेयर पराजुलीले विराटनगरमा पनि खानाका पारखीका लागि विविध जातजातीको खानपानका साथै सर्वसाधारणमा मनोरञ्जन दिने बताएका थिए।

आयोजक ताम्राकारले बेलुका ३ बजेबाट राती आठ बजेको समयमा विभिन्न गायक गायिकाको प्रस्तुति र सडक महोत्सव क्षेत्रभित्र आकर्षक रुपमा सिंगारिएको रिक्सामा सवार हुन सकिने व्यवस्था गरिएको बताए।

उनका अनुसार, सडक महोत्सवमा सीमावर्ती क्षेत्र विहार, मोरङका विभिन्न पालिका तथा सुनसरी धरानबाट सर्वसाधारणको उपस्थिति रहने विश्वास व्यक्त गरे। यसक्रममा महोत्सवमा १ करोड रुपैयाँ बराबरको कारोबार हुने आयाेजककाे अनुमान छ।

चार दिनसम्म हुने महोत्सवमा ५० वटा व्यापारिक स्टल रहेका छन्। विराटनगर महानगरपालिकाको मुख्य प्रवर्द्धन र मञ्जिना मुभिज क्रिएसनको आयोजनामा सुरु भएको महोत्सवमा नेवारी, थारु, मारवाडी, थकालीसहित स्थानीय विभिन्न जातिका खानाका परिकार राखिएका छन्। महोत्सवमा फुड ट्रक आकर्षणका रूपमा रहेको छ।

महोत्सवमा खानाबाहेक स्थानीय उत्पादन र व्यावसायिक स्टल पनि रहेका छन्। बालबालिकाका लागि गेमजोन, हरेक साँझ स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुति पनि रहने छ।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्