यौन दुर्व्यवहारको आरोपमा पशु प्राविधिक पक्राउ

फाइल तस्बिर

खोटाङ – यौन दुर्व्यवहारको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिक पक्राउ परेका छन् । भेटेरिनरी विषयको ओजेटी गरिरहेकी छात्रालाई यौन दुर्व्यहार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि नगरपालिकाका पशु प्राविधिक गणेश आचार्य पक्राउ परेका हुन् ।

आचार्यमाथि आफ्नै कार्यकक्षमा ओजेटीमा आएकी छात्रालाई यौन दुर्व्यहार गरेको अभियोगसहित उजुरी परेपछि मङ्गलबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।

जबरजस्ती करणी प्रयास उद्योग महलअन्तर्गत मुद्दा दर्ता गरेर कारवाही थालिएको आचार्यलाई बिहीबार जिल्ला अदालतमा लगेर म्याद थप्ने तयारी गरिएको प्रहरीले जनाएको छ । बुधबार सार्वजनिक बिदा भएकाले बिहीबार मात्र आचार्यलाई अदालत हाजिर गराउने तयारी गरिएको प्रनाउ गौतमले बताए ।

प्रहरीमा उजुरी दिएर पीडक पक्राउ परेपछि उनका आफन्तले मिल्नका लागि फोन र भेटघाटमा दवाव दिइरहेको पीडित छात्राले गुनासो गरेकी छन् ।

स्रोतका अनुसार अध्ययनरत विद्यालयबाट ओजेटीमा नगरपालिका पठाइएका तीन जना विद्यार्थीमध्ये उनलाई यथास्थानमा राखेर दुई जनालाई भने पशु चिकित्सालय तथा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलमा पठाइएको छ ।

माघ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू