रोनाल्डोलाई साइनस इन्फेक्सन, डिबालाको उत्कृष्ट प्रदर्शनमा युभेन्टस विजयी

पाउलो डिबालाको उत्कृष्ट प्रदर्शनमा इटालियन क्लब युभेन्टस कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा युभेन्टसले युडिनेसलाई ४–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि डिबालाले दुई तथा गोन्जालो हेगुइन र डुग्लस कोस्टाले एक–एक गोल गरे । १६ औँ मिनेटमा हेगुइनको गोलबाट युभेन्टसले सुरुवाति अग्रता लियो।
२६ औँ मिनेटमा पाएको पेनाल्टीमा डिबालाले गोल गरेपछि पहिलो हाफमा युभेन्टस २–० ले अघि रह्यो । ५७ औँ मिनेटमा डिबालाले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै ६१ औँ मिनेटमा पाएको पेनाल्टीमा कोस्टाले गोल गरेपछि युभेन्टसले ४–० को जित पक्का गरेको हो ।
यो खेलमा क्रिष्टियानो रोनाल्डो थिएनन् । बुधबार नै उनी बिरामी भएपछि टिमबाट निकालिएका हुन्। ३४ वर्षका रोनाल्डोलाई साइनस इन्फेक्सन भएको हो ।
बुधबार राति नै भएका खेलमा एसपिएएललाई ३–० ले पराजित गरेको एसी मिलान तथा एट्लान्टालाई २–१ ले निराश पारेको फियोरेन्टिना पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।