गर्भ तुहिएका महिलामा लामो समयसम्म पोस्ट–ट्रम्याटिक स्ट्रेस

गर्भावस्थाको सुरुवाति चरणमा शिशु गुमाएका अर्थात गर्भ तुहिने समस्या भोगेका महिलामा लामो समयसम्म पोस्ट–ट्रम्याटिक स्ट्रेसको समस्या कायम रहने एक अध्ययनले देखाएको छ ।

बेलायतमा भएको अध्ययन अनुसार गर्भ तुहिने समस्याबाट गुज्रिएका ६ मध्ये एक महिलामा लामो समयसम्म पोस्ट–ट्रम्याटिक स्ट्रेस डिसअडरका लक्षणहरु देखिन्छ ।

गर्भ तुहिएपछि महिलाहरुलाई अधिक सावधी र विशेष ख्याल गरिनु पर्ने अनुसन्धानकर्ताले बताएका छन् । यस्तै गर्भाशय भन्दा बाहिर शिशु बसेका गर्भवती महिलालाई पनि विशेष ख्याल चाहिने अनुसन्धानकर्ताले उल्लेख गरेका छन् । गर्भ तुहिएका महिलामा पेनिक अट्याक तथा एन्जाइटीसहितका समस्या देखिने गर्छ ।

इम्पेरियल कलेज लण्डन र बेल्जियमको केयु लेउवेनका अनुसन्धानकर्ताले ६५० महिलामा अनुसन्धान गरेका हुन् । गर्भ तुहिएको एक महिनापछि २९ प्रतिशतमा पोस्ट–ट्रम्याटिक स्ट्रेसको लक्षण देखिएको थियो । ९ महिनापछि त्यो १८ प्रतिशतमा घटेको देखियो ।

अनुसन्धानमा सहभागी भएका अधिकांश महिलाको गर्भ १२ हप्ता भन्दा पहिले नै तुहिएको थियो भने केही महिलाको गर्भ गर्भाशय भन्दा बाहिर बसेको थियो ।

गर्भ तुहिएको एक महिनापछि २४ प्रतिशतमा एन्जाइटी तथा ११ प्रतिशतमा डिप्रेसनको लक्षण देखिएको थियो । ९ महिनापछि त्यो क्रमशः १७ र ६ प्रतिशतमा आएको देखिएको छ ।

माघ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू