सिद्धबाबा कृष्णदासजीको मुद्दाको सुनुवाइ स्थगित

मोरङ-सुनसरीस्थित चतरामा आश्रममा रहदै आएका सिद्धबाबा कृष्णदासजी महाराज कृष्णबहादुर गिरीविरुद्धको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई स्थागित भएको छ।

विराटनगरस्थित उच्च अदालतमा विहीबारको लागि तय भएको मुद्दा पीडित पक्षबाट निवेदन गरिएपछि अर्को विहीबारका लागि सरेको हो।

अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाका अनुसार पीडित पक्षकै निवेदनको आधारमा मुद्धाको सुनुवाई आगामी विहीबारसम्मका लागि स्थगित भएको हो।

मुलुकी फौजदारी कार्यविधिसंहिताको दफा ७३ अनुसार परेको निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ।

अदालतमा कायम मुकायम मुख्यन्यायाधीश प्रेमराज कार्की र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा सुनुवाईका लागि मुद्दाको पेसी तोकिएको थियो।

एक २९ वर्षीया आफ्नै महिला अनुयायीलाई गत कात्तिक पहिलोसाता बलात्कार गरेको किटानी जाहेरीसहित गिरीलाई प्रहरीले मंसिर १६ गते पक्राउ गरेको थियो।

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई गत पुस १४ गते तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सोही मुद्दा हाल उच्च अदालतमा रहेको छ।

जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो।

यता बलात्कारका अभियुक्त सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका छन्।

अर्कोतर्फ, सिद्धबाबालाई थुनामै राखेर मुद्धाको पूर्पक्ष गरिनु पर्ने माग गर्दै उच्च अदालत विराटनगर अगाडि पीडित पक्षधरसहित अधिकारकर्मीहरुले मौन धर्ना प्रदर्शन गरेका थिए।

माघ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्