बारा र पर्सामा सुरु भयो छोरीका लागि शिक्षा बीमा शिविर

वीरगञ्ज– प्रदेश २ मा सञ्चालित ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत  बिहीबारदेखि बारा र पर्सा जिल्लामा छोरी शिक्षा बीमा शिविर सप्ताह शुरु भएको छ।

प्रदेश–२ को ८ वटै जिल्लामा बिहीबारदेखि शुरु भएको छोरी शिक्षा बीमा शिविर सप्ताह अन्तर्गत २०७५ माघ १ गतेपछि जन्मेका छोरीहरुको शिक्षा बिमा शुरु गरिएको हो।

पर्साको वीरगञ्ज महानगरपालिकाको त्रिजुद्ध उच्च माध्यमिक विद्यालयमा आयोजित छोरी शिक्षा बीमा शिविरको उदघाटन प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले गरेका छन्।

मुख्यमन्त्री राउतले आफ्ना छोरीको शिक्षा बीमा गराएका अभिभावकहरुलाई बीमाको प्रमाणपत्र प्रदान गरेर उक्त कार्यक्रमको शुरुवात गरेका हुन्।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले छोरी शिक्षा बीमा कार्यक्रमले प्रदेशका छोरीहरुको शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गरे।

उनले प्रदेश सरकारले ल्याएको यस कार्यक्रमबाट प्रदेशका आर्थिक अवस्था कमजोर भएका परिवारका छोरीहरुले शिक्षा पाउने बताए। छोरीलाई बोझको रुपमा लिने सोच बदल्न शिक्षा बीमा योजना ल्याइएको उनको भनाइ छ।

छोरीहरुको शिक्षाका लागि यही आर्थिक वर्षमा प्रदेश सरकारले गर्दै आएको एक लाखको बीमालाई ५ लाखसम्म पुर्‍याउने योजना रहेको मुख्यमन्त्री राउतले बताए।

यस्तै बाराको कलैयामा सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयमा आयोजित छोरी शिक्षा बीमा कार्यक्रमको नगरका प्रमुख राजेश राय यादवले उदघाटन गरेका छन्।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले छोरी बीमा कार्यक्रम अत्यन्तै राम्रो भएकोले यसमा सबैले सहयोग गर्नुेपर्नेमा जोड दिए।

कलैया उपमहानगरपालिकाको वडा नम्बर ३ मा आयोजित शिविरमा पहिलो दिन माघ २ गते बिहीबार वडा नम्बर १, ३, ४, ५, ६,७, ९, २६ र वडा नम्बर २७ मा २०७५ माघ १ गतेपछि जन्मेका बालिकाहरुको बीमा गरिने छोरी शिक्षा बीमा कार्यक्रम निर्देशन समितिकी सदस्य निभा सिंहले बताइन्।

बालिकाहरुको नाम शिविरमा दर्ता भएपछि तुरुन्तै प्रभु बैंकमा खाता खोलिने र त्यो खातामा प्रदेश सरकारले आफनोतर्फबाट १३ हजार ६ सय ४२ रुपैयाँ जम्मा गरीदिने उनले बताइन्।

सिंहले बिमा गरिएकी बालिका २० वर्षको भएपछि उच्च शिक्षाका लागि एक मुष्ठ १ लाख २५ हजार रुपैयाँ बैंकले उपलब्ध गराउने जानकारी दिइन्।

माघ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्