गोल्डमेडलिस्ट सन्तोषीको कीर्तिमानी यात्रा– अन्तिम भाग

‘मेरो मन पनि तीव्र गतिमा हुइँकिरहेको थियो, खुट्टाजस्तै’

‘मेरो मन पनि तीव्र गतिमा हुइँकिरहेको थियो, खुट्टाजस्तै’

‘तिमीले के सोचिराको छौ, जिन्दगीका बारेमा? तिमीले आफ्नो अनुहार कहिले हेरेकी छौ? कागती निचोरेको जस्तो भएको छ। अनुहार चाउरीसकेको छ। हेल्थको विद्यार्थी हेल्थ बिगारेर के गर्न खोज्दै छौ? ७० हजार तलबको अफर पनि रिजेक्ट गर्छौ भने  तिमीले करियरका बारेमा के सोचेकी छौ?’

ब्याचलर पढिरहेको भए पनि रिसर्च अफिसरको जागिर थियो। तलब राम्रो थियो। मेरै उमेरका अरु साथीहरु भन्दा म ‘एक्स्ट्रा’ थिएँ। अफिसको सरहरुले पनि माया गर्नु हुन्थ्यो। रनिङ भएका बेला सहभागी हुन इनकरेज गर्नु हुन्थ्यो। तर अब जागिर छाडेर खेल्ने मात्र मेरो निर्णय सुनेपछि सँधै खेल्न प्रोत्साहित गरिरहने सरले त्यसो भन्दा तत्काल त के भनेको होला नी भन्ने भयो। तर ठण्डा भएर सोँचे- कुरा ठिकै थियो।

‘हेर, तिमीसँगै र तिम्रो अण्डरमा काम गर्ने साथीहरु यो फिल्डमा भोलि माथि पुगेको देख्दा तिमीलाई पश्चाताप हुने छ। तिमीलाई दौडिएर खान पुग्छ?

खेलाडीको अनुहार अन्यको भन्दा फरक हुन्छ। खेल्न थालेपछि मेरै शरीर र अनुहार नै मेरो साथीहरुको जस्तो थिएन। कहिलेकाहीँ त मलाई पनि यो अनुहार मेरो हैन भन्ने लाग्थ्यो।

जागिर छाडेर खेल्ने मात्र निर्णय साथीहरुलाई पनि मन परेको  थिएन। यति राम्रो जागिर किन छाडेको भन्थे।

प्लस टु पढ्दाताका मैले रनिङ अलिक कम गरेको पनि थिएँ। तर जब आफैले हराउने दिदीहरुले पुरस्कार जितेको समाचार तस्बिरसहित आउँथ्यो डाहा लाग्थ्यो।

‘मैले पनि खेलेको थिएँ भने त !’

यस्ता लोभ त मलाई धेरैपटक लागेकै हुन्। त्यसैले जागिर छाडेर अब खेल्छु भनेर संकल्प गरेकी थिएँ।

तर आठौँ राष्ट्रिय खेलकुदपछि भने म साँच्चिकै निराश भएँ। मैले जागिर त छाडेकै थिएँ, पढाइमा पनि राम्रो ध्यान पुग्न सकेको थिएन। परिवार अनि साथीहरुको सुझाव लत्याएर अब खेलकुदमा केही गर्छु भन्ने मेरो प्रण, आठौँ राष्ट्रिय खेलकुदमा जे भयो त्यसले धर्मराएको थियो। म दुनियासँग झगडा गरेर खेल्न आएको बेकारजस्तो लाग्यो। राष्ट्रिय प्रतियोगितामा पहिलोपटक पहिलो भएको र कहिले हराउन नसकेको खेलाडीलाई पछाडि पारेको त्यो क्षण फिक्का भयो।

मेरो सफलताको सम्मान हुन सकेन। मैले गोल्ड मेडल जितेर पनि सेलिब्रेट गर्न सकिनँ।

जित्दा पनि सुख छैन नजित्दा पनि सुख छैन !

बुबाआमाका साथमा स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ । तस्बिर : बर्षा शाह/देश सञ्चार

मान्छेलाई धेरै  राम्रो कुराले भन्दा पनि थोरै नराम्रो कुराले बढी दु:खी बनाउने रैछ। धेरैले तैलेँ राम्रो गरिस् भनिरहँदा पनि केहीले अनेक शंका र प्रश्न गर्दा मन असाध्यै कुँडियो। बाहिर आएर कुरा गर्दा मन दुख्ने रहेछ।

उनीहरुलाई लागेको थियो होला, ‘ सन्तोषी पुरानै छे। यसले सामान्य प्रशिक्षण गरेर आएकी छे।’ तर मैले त यसपटक निकै मिहेनत गरेको थिएँ।

मलाई लाग्यो- यो मेरो क्षेत्र हुँदै हैन।

मैले गुरुलाई अब कुनैपनि हालतमा खेल्दिनँ भनेँ।

मलाई अब खेल्नु थिएन।

तर गुरुले सम्झाउन थाल्नु भयो।

‘तेरो अगाडि आएर भनेको छ र ? अरुको कुरा सुनेर किन दु:खी हुनु।’

गुरुको आशय थियो- साग हुने कुरा छ, गोल्ड जितेकाले तिमी राष्ट्रिय टोलीमा पर्छौ। सामान्य ट्रेनिङ गर्दा त यति राम्रो नतिजा आयो भने अझ सिरियस भएर ट्रेनिङ गर्‍यो भने सागसम्म राम्रो नतिजा आउन सक्छ। अहिले तिमीले छाड्यौ भने साग हुँदा तिमीलाई रिग्रेट हुनेछ।

गुरुको कुरा पनि ठिकै थियो। हामीले सिरियस र नियमित ट्रेनिङ गरिरहेका थिएनौँ। तर पनि राष्ट्रिय खेलकुदमा नतिजा राम्रै आयो।

गुरुले गरेको कुरा बुबालाई सुनाएँ। उहाँले ‘हुन्छ नी त सागसम्म समय देउ’ भन्नु भयो।

मैले पनि अन्तिमपटकलाई ‘हुन्छ’ भनिदिएँ।

साथीहरुलाई भनेँ- राम्रो जागिरका अफर र नोटिफिकेसन मलाई नपठाउनु। म सम्पूर्ण शक्ति सागका लागि केन्द्रित गर्न चाहन्थेँ।

अब मेरो समय ट्रेनिङमा बित्न थाल्यो। कहिले के समस्या कहिले के तर ट्रेनिङ चलिरहेकै थियो। विस्तारै क्लोज क्याम्प पनि सुरु भयो। प्रशिक्षणमा मैले समय सुधार गर्दै लगेँ। सेकेण्ड सेकेण्डको हिसाब हुन्थ्यो।

समय यस्तो आयो कि, गुरुहरुले ठोकुवा गरेर भन्न थाल्नु भयो-तिमीले यहि समयमा दौडियौ भने एउटा मेडल आउँछ।

आठौँ राष्ट्रिय खेलकुदमा मैले १० हजार मिटर दूरी ३७ मिनेट ५० सेकेण्डमा पुरा गरेको थिएँ। १३ औँ साग खेल्न आउने भारत र श्रीलंकाको टाइमिङ लगभग ३५ मिनेटको थियो।

पोहोरसम्म राष्ट्रिय प्रतियोगितामा नै तेस्रो भएको खेलाडीमाथि एकाएक सागमा पदकको आश गर्नु चानचुने कुरा थिएन। गुरुहरुको कुराले जहिल्यै पनि मलाई प्रोत्साहन गरिरह्यो।

‘ यो दक्षिण एसियाको समय हो। मेडल त पक्का।’

ट्रेनिङमा हरेकपटक समय सुधार हुँदै थियो। मैले प्रशिक्षण के रहेछ दिनप्रतिदिन महसुस हुँदै थियो। हरेकपटक समय सुधार हुँदाको आनन्द नै बेग्लै।

तर मेरा प्रतिद्वन्द्वीहरुको टाइमिङ सम्झिँदा ‘ह्या, केही हुने वाला छैन’ भन्ने लाग्थ्यो।  विश्व च्याम्पियनसिप खेलेका र एसियामै टप-१० भित्र रहेका खेलाडीसँग प्रतिस्पर्धा गर्नु र मेडलको अपेक्षा गर्नु कम्ता साहसिलो कुरा थिएन। मैले सबैलाई भनेको थिएँ- म आफ्नो बेस्ट दिने छु।

अब समय आएको थियो, मैले गरेको मिहेनतको परिणाम देखाउने दिन।

होटलबाट निस्कँदा नै ‘हार्ट बिट फास्ट’ थियो। माइन्ड एकदमै स्ट्रेस थियो।  भारत र श्रीलंकाका खेलाडीको टाइमिङले प्रेसर दिँदै थियो।  म वार्मअप गरिरहेको थिएँ, सुनेँ- नेपालले एथलेटिक्समा मेडल लगाइसकेको छ। मन हलुका भयो, आत्मविश्वास बढेजस्तो भयो। लाग्यो – म चाहीँ किन सक्दिनँ ? एक मनले भन्यो- तैँले पनि मेडल जित्न सक्छेस्, ल्याउनुपर्छ।

गुरुले भन्नु भएको थियो- फलो गरेर दौडनुपर्छ अनि अन्तिममा ‘किक’ गर्नुपर्छ। जब दौड्न लाइन् लाग्यौँ, मैले सबै कुरा बिर्सिएँ। आफू कुद्ने हो, बेस्ट दिने हो भनेर आफूलाई बलियो बनाएँ। लाग्यो- मैले प्रतियोगिता हैन, प्रशिक्षण सम्झिएर दौड्नुपर्छ।

मेरो समस्या के थियो भने म एउटै पेशमा दौड्न सकिरहेको थिइनँ। हरेक ल्यापमा प्रशिक्षणमा जसरी पेस मेन्टन गर्नु मेरो चुनौती थियो। अब मेरो दिमागले विपक्षी खेलाडीको स्पीड र स्टामिनामा ध्यान दिन छाडिसकेको थियो। नत हार नत जितको तनाव थियो।

एक हिसाबले भन्ने हो भने मेरो दिमाग स्वतन्त्र थियो। मलाई अघिपछि, छेउछाउ को को दौडिरहेका छन् पनि मतलब थिएन। पेस चाहीँ घटाउनु हुन्न भन्ने थियो।  मत सबैभन्दा अघि अघि दौडिरहेको रहेछु। तर म सचेत थिएँ- म जतिबेला पनि पछाडि पर्न सक्छु। दर्शक दिर्घाबाट चियर अप भइरहेको थियो। गुरुहरु कराईरहनु भएको थियो। मेरो खेल हेर्न पहिलोपटक मम्मी पनि आउनु भएको थियो।

स्वर्ण पदकका साथमा सन्तोषी श्रेष्ठ । तस्बिर : बर्षा शाह/देश सञ्चार

यतिबेला मेरो मनमा अनेक कुराहरु खेले। मैले खेल्न थालेका दिनहरु, काठमाडौँका गरेका संघर्षहरु, अभिभावकले गरेको सहयोग, गुरुले गरेको मिहनेत फिल्म जसरी मेरो दिमागमा घुमिरह्यो। बेला बेला दर्शकदिर्घाबाट सुनिन्थ्यो- अब तिम्रो पछाडि एक जना मात्र छ, यू क्यान सन्तोषी। देशले पनि त मलाई धेरै दिएको थियो।

ममाथि लगानी गरेको थियो क्षमताअनुसार। जब स्कर्टिङ गरेर हामीलाई होटलसम्म लगिन्थ्यो, त्यतिबेला लाग्थ्यो- राज्यले ठूलो स्रोत ममाथि खर्च गरेको छ, यो के का लागि त ? मेरो दिमाग अन्तै कतै घुमिरहे पनि खुट्टाको गति भने कम भएको थिएन।

म एक हिसाबले अचम्मित पनि हुँदै थिए। अन्तिम ल्याप बाँकी हुँदासम्म पनि पछाडि आइरहेको खेलाडीले स्पिड बढाइरहेको थिएन।

सोच्थेँ- हैन यसले के गर्न लागिरहेकी छे ?

म जतिबेला पनि पछाडि पर्न सक्छु भन्नेमा सचेत थिएँ।

थाहा थियो- मेडल जित्न आफू बेस्ट भएर हुँदैन अरुभन्दा बेस्ट हुनुपर्छ। अन्तिम १ सय मिटर बाँकी रहँदा पछाडिको खेलाडीले स्पीड बढाएको फिल भयो। तर मैले नियन्त्रण गुमाइनँ।

उनी यसरी दौडिएर आइन् की फिनिसिङ लाइनमा पुग्दा को अगाडि भयो भन्ने दुवैलाई पत्तो हुन सकेन। सामान्यतया फिनिसिङ लाइनमा टेक्दा नै आफूलाई के भएको छु भन्ने थाहा हुन्थ्यो तर यसपटक दुवैजना अक्क न बक्क थियौँ।

फिनिसिङ लाइन पार गर्न लाग्दा दुवैको हात उठेको थियो।

तर मैले फर्स्ट भएँ भनेर सेलिब्रेट गरेको थिइनँ।  मैले त बेस्ट दिएको थिएँ। पेस मिलाएर कुदेँ, आँट गरेर कुँदे, अन्तिम समयसम्म चलाख अनि सचेत भएर दौडिएँ।

को पहिलो भयो भन्ने त तत्काल भन्न सकिने अवस्था पनि थिएन। तर सबैले तिमी नै पहिलो भयौ भनिरहनु भएको थियो। इलेक्ट्रिक सिस्टमबाट टाइमिङ पत्ता लाग्ने हुँदा विवाद आउन्न भन्ने थियो। एकछिनपछि थाहा भयो- म मिलि सेकेण्डको अन्तरले पहिलो भएको रहेछु।

म पहिलो नै हुन्छु भनेर दौडिएको थिइनँ। आफ्नो वेस्ट दिन्छु भनेर सोचेको थिएँ। बेस्ट टाइम पनि निस्कियो अनि सबैभन्दा अगाडि भइयो भने सन्तुष्टी र खुशीको कुनै सिमा नहुने रहेछ। पश्चाताप हुने कुनै ठाउँ नबन्ने रहेछ।

लाग्यो-  मभन्दा पछाडि रहेको खेलाडीले पनि त जितेकै हो। उसले पनि त आफ्नो बेस्ट दिएकै हो। यति ठूलो स्टेजमा सबैले आफ्नो बेस्ट दिने प्रयास गर्छ। आफूले बेस्ट गर्दागर्दै पनि मेडल आएन भने त्यसको मुल्यांकन म मात्र गर्छु, अरुले गर्दैन। तर आफूले बेस्ट नगरेको होस् तर मेडल आयो भने त्यसको मुल्यांकन अरुले गर्छ। यो हाम्रो स्वभाव हो। तर मैले आफूसँग दौड्ने सबै खेलाडीलाई कन्ग्राचुलेशन भनेँ।

सबैले राम्रो गर्ने प्रयास गरेकै हुन्। मेरो समय यसरी बित्यो कि लगाएको कपडा राती ९ बजेमात्र फेर्ने समय पाएको थिएँ। राती ११ बजेतिर फेसबुक हेरेको, मेरो मात्र समाचार देखेँ। त्यतिबेलै साथीको फोन गरेर भनिन्- फेसबुक पनि के खोल्नु, न्यूज फिडमा तिमी मात्र छौ। मैले जितेर पनि अरुले भ्याल्यु नदिएको भए त्यो जितको के भ्याल्यु हुन्थ्यो र ! सम्मानित महसुस भयो। यी कुराहरु शब्दमा लेख्न सकिन्न। सन्तुष्टिको कुनै सिमा हुन्न।

भोलिपल्ट अभ्यास गरिरहेको थिएँ, दोस्रो भएकी भारतीय खेलाडी नजिकै आएर ‘यू आर लक्की’ भनिन्। मेरो अर्को स्पर्धा बाँकी नै थियो पाँच हजार मिटरको। पहिला पाँच हजार भएर १० हजार हुन्थ्यो भने मलाई निकै सजिलो हुन्थ्यो। लामो दौडिएर छोटो दौडिन गाह्रो हुन्छ नै। दुई दिनको आराम त थियो तर मैले तयारीमा कन्सन्ट्रेट हुने अवसर नै पाइनँ।

१० हजार मिटरमा मसँग दौडिएका कोही पनि प्रतिस्पर्धी पाँच हजार मिटर खेलेका थिएनन्। स्वर्ण जितिसकेकाले सबैको नजरमा म थिएँ। मेरो आत्मविश्वास पनि बढेको थियो। योजना थियो- प्रतिस्पर्धीलाई फलो गरेर दौड्ने। तर उनीहरु यति सुस्त दौडिए की पाँच हजार मिटरको मान नराखेजस्तो भयो। म अघि अघि बढेँ। प्रतिस्पर्धीहरु पछि रहे।  १० हजार मिटरकै पेसमा दौडिरहेको थिएँ।  तर अन्तिम समयमा म पछि परेँ। मेडल जित्न सकिनँ।

तीन दिन अघि स्वर्ण पदक जितेको खेलाडीले मेडल नै जित्न नसक्दा आलोचनाको विषय त बन्यो होला तर मलाई ती कुराको पर्वाह थिएन र वास्ता पनि गरिनँ। किनभने मैले सक्ने प्रयास गरेको हुँ। मसँग खुशी हुनुपर्ने धेरै कारणहरु थिए। एउटा गल्ती चाहीँ भएकै हो- प्रतिस्पर्धीहरु सुस्त दौडिरहँदा म उनीहरु सँगसँगै जानुपर्थ्यो कि !

मेडल जित्नेलाई सरकारले पुरस्कार दिने घोषणा गरेको छ, त्यो राम्रो कुरा हो। तर एकपटक पाएको पुरस्कारले मलाई जिन्दगीभर पुग्दैन। भोलि मेडल नजिते को दिन के त ?  म कहिल्यै पनि पुरस्कार पाइन्छ भनेर दौडिएको त होइन।

यो त मैले खेल्दै जाँदा पाएको हो। सरकारले पदक जित्नेलाई मात्र होइन, पदक जित्ने तयारी गरिरहेका र मिहेनत गरिरहेका सबैलाई ध्यान दिएर योजना बनाउनुपर्छ।

मलाई अहिले एउटै कुराको डर छ : अहिलेको लय खस्केला की भन्ने। म त १३ औँ साग नसकिँदै नियमित प्रशिक्षणमा फर्किसकेको थिएँ। मान्छेलाई अझ माथि पुग्ने आकांक्षा हुने रहेछ।

सायद म दौडमा नलागेको भए स्कलरसिपमा बाहिर पढ्न जान्थेँ होला। पढाईमा अझ राम्रो हुन्थ्यो कि ! तर समय बित्दै जाँदै ‘एक्ज्याम्पल सेट’ गर्ने हुटहुटी पनि बढ्दै गयो।

ममा एउटा गहिरो छाप सँधै रह्यो- अफ्रिकामा भोकमरी भएका देशका मान्छे पनि त बलिया हुन्छन् नी।

दुनियामा ‘विल पावर’जस्तो ठूलाे कुरा केही छैन। भित्रैदेखि जाँगर र मिहेनत हुनुपर्छ।

तर सपोर्ट भने चाहिन्छ सबैतिरबाट।

भविष्य ‘सेक्युर’ छैन भनेर सोच्नु हुँदैन।

सन्तुष्टी भन्ने कुरा त कसैलाई तँलाई जिन्दगीभर पालिदिन्छु भन्दा पनि मान्छे पूर्ण सन्तुष्टी हुन सक्दैन। आ-आफ्नो मिहेनत अनुसार सुधार हुँदै गयो र त्यो नतिजामा देखियो भने त्यही नै हो सन्तुष्टी अनि खुशी पनि।

म आफ्ना लागि दौडिएँ। खुशीका लागि, सन्तुष्टीका लागि। आँखिर म हिजो स्कुलमा दौडिएर पहिलो हुँदा पनि त खुशी थिएँ !  मेरो यो खुशीयालीसँग, सन्तुष्टीसँग देश जोडिँदा त्यसको आयतन अझ फराकिलो हुने रहेछ।

म अहिले ढुक्क छु- बुढेसकालमा मेरा यी सम्झनाहरु र अनुभवहरुले साथ दिनेछन्। आँखिर त्यतिबेला साथ दिने भनेकै बितेका पलहरुले न हो। म चाहन्छु- विगत सम्झँदा मेरो मन मुस्कुराउन सकोस् अरुलाई सुनाउँदा खुशी अझ बढोस्।

माघ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू