बाचेका विनय भन्छन् ‘अनलाइन विजनेसमा घाटा भएपछि छोराहरुसँगै मर्ने निर्णय लिएका थियौँ’

फाइल तस्बिर

काठमाडौँ – श्रीमती र दुई छोरासहित त्रिशुलीमा हाम फाल्ने विनय लामिछानेले व्यापारमा घाटा लागेपछि मर्ने निर्णय लिएको बयान प्रहरीलाई दिएका छन् । छोराहरुसहित मर्ने निर्णय श्रीमतीसँगको सहमतिमै लिएको बयान विनयले दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले बताए ।

‘प्रारम्भिक सोधपुछमा अनलाइन बिजनेसमा घाटा भएपछि मर्ने निर्णय लिएको बयान आएको छ, घटनाको थप अनुसन्धान गर्दैछौँ’, एसपी रेग्मीले भने । विनयले गर्ने व्यापारका बारेमा भने खुलिसकेको छैन ।  ‘अनलाइन बिजनेसको कुरो आएको छ, के रहेछ हामी बुझ्दैछौँ’, एसपी रेग्मीले भने ।

‘आफूहरु मात्रै मरेपछि छोराहरुको बिचल्ली हुने भो, त्यसैले सबै सँगै मर्ने निर्णय लिएका हौँ’, विनयले बयानमा भनेको एसपी रेग्मीले बताए ।

चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मीले दुई बच्चासहित त्रिशूलीमा हाम फालेका थिए ।

घटनापछि श्रीमतीको शव भेटिएको छ भने विनयलाई शकुशल उद्धार गरिएको थियो । उनीहरुका दुई छोरा नदीमा बेपत्ता छन् ।
पानी परिरहेकाले खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

माघ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू