अर्थतन्त्रको ग्राफ सकारात्मक छः अर्थमन्त्री खतिवडा

मोरङ– अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रको ग्राफ सकारात्मक हुँदै गएको दावी गरेका छन्।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा आयोजित छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंक ब्याजदरमा स्थिरता आउनु तथा विद्युत निरन्तर प्राप्त हुनु सकारात्मक संकेत भएको बताएका हुन्।

हाल देखिएको सकारात्मक संकेतसँगै अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी व्यवसायी थप सक्रिय भएर अघि आउनु पर्ने उनले बताए। उनले भने, ‘बलियो अर्थतन्त्रका लागि तपाईहरु अघि आउनुहोस्। सरकार सहयोगका लागि तयार रहेको छ।’

बैंकको ब्याज दर, विपन्न वर्गलाई उपलब्ध हुँदै आएको कर्जामा समस्या देखिएको भन्दै अर्थमन्त्री खतिवडाले त्यसलाई थप सुधार गर्दै अघि बढ्नेमा जोड दिए।

आन्तरिक उत्पादनलाई असर नपर्ने गरी वैदेशिक लगानीका लागि सरकार सकारात्मक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले निर्यातमूलक उद्योगलाई प्रोत्साहित गर्न सहुलियतका विषयमा छलफल भइरहेको जानकारी दिए।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले औद्योगिक लगानीमा बैंकको बढ्दो ब्याजदरलाई कम गराउन आग्रह गरेका थिए। त्यसैगरि उनले औद्योगिक क्षेत्रलाई दिँइदै आएको रिफाइनान्सको सुविधालाई सहज र सुवल बनाउनु पर्नेमा जोड दिएका थिए।

यस्तै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले आन्तरिक अर्थतन्त्रलाई सुदृढ बनाउन रुग्ण, नोक्सानमा रहेका उद्योगलाई संरक्षण गर्दै जिवन्तता प्रदान गर्नुपर्ने बताए। कार्यक्रममा उनले श्रमिकको ज्याला प्रदेशिक विषय हुने गरी श्रम ऐन संशोधन गर्नु पर्नेमा जोड दिए।

उद्योगीहरुले अर्थमन्त्री समक्ष भारतको विहारस्थित जिर्ण अवस्थामा रहेको पुलको विषयमा कुटनीतिक पहल आवश्यक रहेको बताएका थिए।

माघ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्