अब संसदसहित १४ कार्यालयमा ५० घण्टा अतिरिक्त काम गरे ३० प्रतिशत भत्ता

काठमाडौं – सरकारले विभिन्न १४ वटा निकायमा अतिरिक्त मासिक ५० घण्टा काम गर्नेलाई तलबको ३० प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ।

कामको बढी चाप हुने सरकारी कार्यालयमा अतिरिक्त काम गरे बापत ५० प्रतिशत भत्ता पाउनुपर्ने दाबी गर्दै आएका सरकारी कर्मचारीहरुलाई यसअघिको व्यवस्थामा परिमार्जन गर्दै ३० प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो।

गत साउनसम्म सरकारले मासिक ८० घण्टा अतिरिक्त काम गर्नेलाई ५० प्रतिशत भत्ता दिएको थियो। त्यसयता उक्त निर्णयलाई निरन्तरता नदिएको सरकारले पुस ७ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट नयाँ निर्णय गरेको हो।

यो निर्णय असार मसान्तसम्म मात्र लागू हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। त्यसअघि मासिक ५० घण्टा काम गर्ने कर्मचारीलाई कार्यालय अनुसार १२० प्रतिशतसम्म अतिरिक्त भत्ता दिइँदै आएको थियो।

भत्ताका लागि कम्तिमा दिनको एक घण्टा अतिरिक्त समय काम गरेको र विद्युतीय हाजिरलाई मान्यता दिनुपर्ने मापदण्ड पनि मन्त्रिपरिषद्ले तोकेको छ।

सरकारले संघीय संसद, राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पुननिर्माण प्राधिकरण, महालेखापरीक्षककाे कार्यालय, महान्यायाधीवक्ता कार्यालय लगायतका कार्यालयमा अतिरिक्त भत्ताको व्यवस्था लागू हुनेछ।

 

माघ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्