नेपाल भ्रमण वर्ष २०२०

यस्ता छन्, प्रदेश–२ का घुम्नैपर्ने १० ठाउँ

सप्तरीकाे छिन्नमस्ता मन्दिर।तस्बिर: राजा झा/देश सञ्चार।

जनकपुरधाम– केही दिनअघि विश्व प्रसिद्ध म्यागजिन फोर्ब्सले २०२० मा घुम्नै पर्ने १० देशको सूची सार्वजनिक गर्‍यो जसमा नेपाल पहिलो नम्बरमा छ।

नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेको छ। भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ। फोर्ब्सले सार्वजनिक गरेको उक्त सूचीले अन्तराष्ट्रियस्तरमा नेपालको प्रचार–प्रसारमा पक्कै पनि सघाउ पुग्नेछ।

संघीय सरकारका साथै प्रदेश सरकार पनि भ्रमण वर्षमा आफ्नो क्षेत्रमा पर्यटक भित्र्याउन लागिपरेका छन्। सातै प्रदेशका आआफ्नै विशेषता रहेका छन्।

प्रदेश दुईमा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ। यहाँ हिन्दु, मुस्लिम, बौद्ध तथा जैन धर्मका धार्मिकस्थलहरु छन्। प्रदेश सरकारले समेत प्रदेश दुईमा धार्मिक पर्यटनको विकास गर्ने नीति लिएको छ।

हामीले यहाँ प्रदेश दुईमा रहेका घुम्नै पर्ने १० प्रमुख धार्मिक तथा साँस्कृतिक स्थलहरुको बारेमा जानकारी दिने कोशिस गरेका छौँ।

१. जानकी मन्दिर


जानकी मन्दिर प्रदेश–२ को प्रमुख धार्मिक तथा पर्यटकीय स्थल हो। यो विशाल मन्दिर नेपालीका लागि मात्रै नभई विश्वभरिकै हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको छ। पर्यटकीय दृष्टिकोणले जानकी मन्दिर प्रदेश–२ मै सबैभन्दा बढी पर्यटक आउने ठाउँ हाे।

सन् १९११ मा जानकी मन्दिरको निर्माण गरिएता पनि मध्य भारत लोहागढका सन्त शुरकिशोर दासले १५औँ शताब्दिमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएका थिए। शुरकिशोर दास जानकीका अनन्य भक्त थिए।

एक पटक उनलाई मिथिलाधाम दर्शन गर्न मन लाग्यो। तर मिथिलाधाम कुन ठाउँमा छ भन्ने उनलाई थाहा थिएन। एक दिन जानकी नै उनको सपनामा आएर जनकपुरधामको बाटो देखाएकाे भन्ने किम्बदन्ती रहेको छ।

वि.सं. १४१७ मा भारतको राजस्थानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ शुरकिशोर दास वैष्णवले राम जानकीको प्रतिमा फेलापारेको बताइन्छ। १७८४ मा मकवानपुरका राजा माणिक सेनले जानकी मन्दिरको नाममा १४ सय बिघा दान दिएको लिखत अझै छ।

पछि निःसन्तान टिकमगढकी रानी वृषभानु कुमारीले जानकी समक्ष पुत्र प्राप्तिको इच्छा व्यक्त गरिन्। उनको मनोकामना पूरा भएपछि विशाल मन्दिरको निर्माण गरेको बताइन्छ।

त्यतिबेला ९ लाख असर्फी खर्चेर मन्दिरको निर्माण गरिएकोले जानकी मन्दिरलाई नौलाखा मन्दिरसमेत भन्ने गरिन्छ। मन्दिर निर्माणका लागि सन् १८९४ मा शिलान्यास गरिएको थियो। सन् १९११ मा मन्दिर निर्माण कार्य सम्पन्न भएको मानिन्छ।

जनकपुरधामको मध्य भागमा रहेको सो मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमूना मानिन्छ। मन्दिरको वास्तुकला लोभलाग्दो छ। मन्दिर ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको छ।

मन्दिरमा ६० वटा कोठाहरु रहेका छन्। भारतको वैशालीमा लिच्छवी गणराज्यको विकास भएको बेला नेपालमा मिथिला सभ्यताले उचाई पाएको थियो। जनकपुरधाम जनक र सीता बाहेक याज्ञवल्क्य, गार्गी र मैत्रीय जस्ता विद्वानको थलो भएको इतिहासमा उल्लेख छ।

बुर्जा, गुम्बज, गर्भगृह, सुनौला गजूर, फराकिलो सफा परिसर र कलात्मक प्रवेशद्वार भएको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि आवाज उठ्दै आएको छ।

२. धनुष मन्दिर


धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा रहेको धनुष मन्दिर पनि प्रदेश–२ का लागि महत्वपूर्ण पर्यटकीय स्थलमध्ये एक हो। त्रेता युगमा भगवान रामले सीता स्वयम्बरमा भगवान शिवको धनुष तोडेका थिए।

भगवान शिवको पिनाक धनुषमा भगवान रामले प्रत्यंचा चढाउन खोजेपछि तीन टुक्रा भएको थियो। एक टुक्रा आकाशमा, एक टुक्रा पातालमा र एक टुक्रा पृथ्वीमा झरेको वाल्मिकी रामायणमा उल्लेख छ। पृथ्वीमा पिनाक धनुषको टुक्रा झरेको स्थल नै धनुषाधाम भएको विश्वास रहिआएको छ।

धनुष मन्दिर प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामबाट १५ किलोमिटरको दूरीमा रहेको छ। सोही स्थानकाे नामबाट यस क्षेत्रको नाम धनुषाधाम र जिल्लाको नाम धनुषा राखिएको भन्ने भनाइ छ।

त्रेता युगको इतिहास बोकेको सो स्थानको दर्शनका लागि नेपाल तथा  भारतको विभिन्न स्थानबाट दर्शनार्थीहरु पुग्ने गर्छन्। धनुषाधाम क्षेत्रमा धनुष मन्दिर बाहेक धनुषाधाम वन, धनुषाधाम वन भित्रै रहेको वाण गंगा नदी जस्ता पर्यटकीय स्थलहरु पनि छन्।

३. जलेश्वरनाथ मन्दिर


प्रदेश–२ को पर्यटकीय स्थलहरुमा महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको जलेश्वरनाथ महादेव मन्दिरको पनि विशिष्ट महत्व रहेको छ।

भारतको सिमावर्ती क्षेत्रमा रहेको जलेश्वर नगरपालिकामा रहेको जलेश्वरनाथ मन्दिर पर्यटकलाई आकर्षित गर्ने प्रमुख स्थल मध्ये एक हो।

यहाँ शिव लिङ्ग पानी भित्रै रहेकोले यहाँ रहेको महादेवको नाम जलेश्वरनाथ महादेव नामाकरण गरिएको विश्वास छ। मन्दिरको मध्य भागमा रहेको पानीले भरिएको गुफाको तल एउटा चतुष्कोण आकारको जलकुण्डमा शिव लिङ्ग रहेको छ। जलकुण्डमा रहेका यिनै शिजवीलाई जलेश्वरनाथ भनिएको हो।

शिवरात्रीका दिन यहाँ पूजा गर्नका लागि ठूलो संख्यामा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ।

प्राचिन जलेश्वरनाथ महादेवको व्यवस्थित रुपमा पूजा अर्चनाका लागि विसं १८६९ मा तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा नित्य साविकका गाविसका मौजेहरु वहेडा जव्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपट्टीको २७५ बिघा जग्गा तत्कालीन महन्थलाई लालमोहरसहित प्रदान गरिएको थियो।

४. रौजा मजार


महोत्तरी जिल्लाको बलवा नगरपालिकामा रहेको रौजा मजार पनि पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण स्थल हो। उक्त स्थल प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट १५ किलो मिटर पश्चिम महोत्तरीको धमौरामा छ। इस्लाम धर्माबलम्बीहरुका लागि रौजा मजार सरिफ आस्थाको केन्द्र हो।

विग्ही नदीको पश्चिम किनारमा रहेको सो मजारको इतिहास तीन सय वर्ष पुरानो रहेको स्थानीयवासीहरु बताउँछन्।

इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिकस्थल भए पनि हिन्दु धर्म मान्नेहरू पनि यहाँ ठूलो संख्यामा पुग्ने गर्छन्। दैनिक रूपमा भाकल गर्ने र भाकल पूरा भएपछि चादर चढाउने श्रद्धालुमा कुनै एक धर्मको मात्र नभई सबै धर्म मान्नेको संख्या उल्लेख्य रहने गर्छ।

नेपाल बाइसे तथा चौविसे राज्यमा विभाजित भएको समयमा भारतको राजस्थानमा पर्ने अजमेरबाट तीन जना वली अर्थात अल्लाहका भक्तहरु बाबा गदाअली शाह, बाबा रहम अली शाह र बाबा वहार अली शाह फकिरको रुपमा त्यहाँ आएको बताइन्छ।

मिथिला क्षेत्रमा बसोबास गर्ने मुस्लिम सुमदायलाई धार्मिक शिक्षा तथा धर्म सम्बन्धी जानकारी दिने उदेश्यले भारतको राजस्थानस्थित बाबा खाजा अजमेरीले उनीहरुलाई पठाएको हुनसक्ने ईस्लाम धर्माबलम्बीहरुको मान्यता छ।

यहाँ नेपाल तथा भारतका विभिन्न स्थानबाट दैनिक सयौँको संख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन्। खासगरि सोमबार र बिहिबार भक्जतन पुग्ने गर्छन्। श्रद्धालु भक्तजनहरुले कुखुरा, बोकासमेतको बली दिने गर्छन्।

हरेक प्रत्येक वर्ष चैत महिनामा बाबाको मजारमा उर्ष जलसा (धार्मिक प्रवचन) भव्य रुपमा मनाइने गरिन्छ। जसमा दुई लाखभन्दा बढी भक्तजनहरुको सहभागि हुने गरेको मजार समितिको भनाइ छ। उक्त अवसरमा श्रद्धालु भक्तजनहरुले करिब १० हजार बोका, १५ हजारभन्दा बढी कुखुराको बली दिने गरिन्छ।

५. सलहेश फूलबारी


सिरहा जिल्लामा रहेको सलहेश फूलबारी पर्यटकका लागि महत्वपूर्ण स्थल हो। यो स्थान लोक नायक सलहेश र वर्षको एक दिन मात्रै फूल्ने हारमको फूलका कारण प्रख्यात रहेको छ।

सलहेश फूलबारीको मध्यभागमा रहेको हारम नाउँको रुखमा प्रत्येक वर्ष नयाँ वर्षको पहिलो दिन सेतो रंगको माला आकारको फूल एक दिनका लागि फूल्ने गर्छ।

अच्चमको कुरा के छ भने नयाँ वर्षको पहिलो दिन फूल्ने उक्त फूल सोही दिन बेलुकीपख ओइलाएर जान्छ। सोही फूल हेर्नलाई प्रत्येक वर्ष वैशाख १ गतेका दिन त्यहाँ ठूलै मेला लाग्ने गर्छ।

सिरहा जिल्लाको लहान बजारदेखि ४ किलोमिटर पश्चिम पडरिया चोक नजिक रहेको सो फूलबारी नौ विघा क्षेत्रमा फैलिएको छ। उक्त फूलबारी दुसाध र दनुवार जातिका इष्ट देवता सहलेशको फूलबारीको रूपमा प्रसिद्ध रहेको छ।

फूलबारीको मध्यभागमा रहेको हारमको बोटमा छैठौँ सातौँ शताब्दीदेखि सो फूल फूल्दै आएको विश्वास गरिन्छ।

हरामको बोटमुनि लोकदेवता सहलेस तथा मालिनीको गहबर रहेको छ। गहबरमा सहलेस र मालिनीको भव्य मूर्ति छ। मन्दिरको पछाडी इनार र बालीगंगा नदी बग्ने गरेको छ। मन्दिर पछाडी रहेको इनार कहिलेकाँही मात्रै देखिने गरेको त्यहाँका स्थानीयवासीहरु बताउँछन्।

त्यहाँ गरेको भाकल पूरा हुने जनविश्वास रहँदै आएको छ। युवा युवतीहरु सो स्थानलाई प्रेमको प्रतिकको रुपमा लिँदै आएका छन्। जसले सो फूललाई साक्षी राखेर बिहे गर्छन् उनीहरुको दाम्पत्य जीवन सुखमय हुन्छ भन्ने मान्यता छ।

राजा सलहेस लोकनायकको रुपमा परिचित थिए। आफ्नो वीरता तथा पुरुषार्थका कारण पूजनीय बनेका सलहेशसँग सम्बन्धित धेरै ऐतिहासिक स्थलहरू रहेका छन्, जसमध्ये सलहेश फूलबारी पनि एक हो। सलहेस एकैदिनमा मानिकदहमा स्नान गर्ने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा जनताको दुःख पीडा सुन्ने गर्थे भन्ने किम्बदन्ती रहेको छ।

सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो। पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर सामैरले थाहा पाएपछि पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् भन्ने विश्वास छ।

सलहेशलाई मनमनै मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको वैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किम्वदन्ती रहिआएको छ।

६. पारसनाथ मन्दिर


पारसनाथ मन्दिर पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ मा रहेको छ। पर्यटकलाई भित्र्याउन सम्भावना बोकेको मन्दिर भने अहिले आफ्नो पहिचान गुमाउने अवस्थामा रहेको छ।

पर्सा जिल्लाको नामाकरण पनि यसै ऐतिहासिक मन्दिरको नामबाट गरिएको विश्वास गरिन्छ। करिब चार सय वर्ष पुरानो मानिएको यस मन्दिरको उचित संरक्षण र मर्मतसम्भार अभावमा मन्दिर परिसरको बिजोग हुँदै गएको छ।

७. सिम्राैनगढ


बारा जिल्लाको सदरमुकाम कलैयाबाट पूर्वी भेगमा करिब २० कि.मि. टाढा रहेको सिम्रौनगढ ऐतिहासिक पृष्ठभूमी बोकेको नेपालको सांस्कृतिक सम्पदा मध्ये एक हो। मिथिलाको उत्कर्षदेखि अवसानसम्म १२ वटा दुर्गहरुको माझमा रहेकाले यस क्षेत्रलाई बारागढी भनिन्थ्यो।

बारागढीबाटै बारा जिल्लाको नामाकरण गरिएको मानिन्छ। बाराका १२ दुर्गहरुमध्ये सिम्रौनगढ पनि एक हो। मिथिला गणराज्यको यो क्षेत्रमा ११ औँ शताब्दीमा डोय राजाहरुको आगमनपछि सिम्रौणगढ राजधानी बनेको थियो।

कर्णाटकबाट आएका निर्वासित राजकुमार नान्यदेवले सन् १०९७ मा तिरहुतलाई स्वतन्त्र राज्य घोषणा गर्दै आफ्नो राज्य कायम गरे। नान्यपुरी नामक राज्यबाट मुस्लिम शासकहरुको डरका कारण भागेका नान्यदेवले सिम्रौनगढलाई आफ्नो राजधानी बनाए।

डोय राजाहरुमध्ये राजा शिव सिंहले राज्य विस्तार गर्दा मिथिला गणराज्यले शासन गरेको सम्पूर्ण भुभाग समेत मकवानपुर, पाल्पादेखि गोरखपुरसम्म राज्य विस्तार गरी लोक आख्यानहरुमा नायक सबई सिंहका नामले प्रसिद्धि प्राप्त गरे।

१३औं शताब्दीको अन्त्यमा दिल्लीका मुसलमान बादशाह बलवनको राज्य लिप्साको चपेटामा परी सम्सुद्दिन भन्ने सेनापतीद्वारा अन्तिम डोय राजा हरिसिंह देवका पालामा सिम्रौनगढ ध्वस्त भएको थियाे।

राजा नान्यदेवले यस क्षेत्रको सिमरावन भन्ने ठाउँमा राजधानीको लागि शिलान्यास गरी सिम्रौनगढ नामको विशाल दुर्गको निर्माण गरी एउटा स्वतन्त्र राज्य कायम गरे। यस क्षेत्रमा १०९७ देखि नान्यदेव र त्यसपछि तिनका सन्तानहरूले २३० वर्ष शासन गरे। नान्यदेवका सन्तानमध्येका हरिदेव त्यहाँका अन्तिम राजा भए ।

राजा हरिदेव सिंह ई.स‍ं. १३२७ मा केही नागरिक र सेनाहरू लिएर उत्तरतर्फबाट नेपालको पहाडी खण्डतिर भागे।

प्रदेश–२ मा रहेको यो ऐतिहासिक सिम्राैनगढको टुटे फुटेको सम्पदाहरुलाई संरक्षण सम्बर्द्धन गर्न सकियो भने पर्यटकीय दृष्टिकोणले निक्कै लाभ उठाउन सकिने सम्भावना देखिन्छ।

८. गढीमाई


बारा जिल्लाको गढीमाई नगरपालिका वडा नं. १ मा रहेको गढीमाई मन्दिर विश्व प्रसिद्ध छ। बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट आठ किलोमिटर पूर्व बरियारपुरमा रहेको गढीमाईको मन्दिरमा प्रत्येक पाँच–पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि मेला लाग्ने गर्दछ।

यहाँ पाँच वर्षमा मेला लाग्ने गरेकोले लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन्। यहाँ नेपाल र भारतसहित अन्य देशबाट समेत श्रद्धालु भक्तजनहरु आउने गरेका छन्।

गढीमाई भगवतीको स्थापनका सम्बन्धमा विभिन्न खाले किम्वदन्ती प्रचलनमा रहेका छन्। एक किम्वदन्तीका अनुसार मन्दिरको स्थापना ८ सय वर्ष पहिले बरियारपुरका भगवान चौधरीले गरेका थिए।

बरियारपुरको खुल्ला चौरमा एउटा त्रिशूल स्थापित गरिएको छ। त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ।

मन्दिरबाट पूर्व–दक्षिणतिर पीपलको बोटसँगै ब्रहृमस्थान समेत हेर्नलायक छ। पूर्वपट्टी रहेको ब्रहृमास्थलबाट मंसिर शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गरिन्छ।

पाँच दिनसम्म माताको पूजा गरेपछि मात्रै सर्वसाधारणको दर्शनका लागि मन्दिर खुला गरिन्छ। यस मन्दिरमा मेला लाग्दा महिनाभरिमा दुई दिन मात्रै बलि प्रदान हुन्छ। जसमा हजारौँको संख्यामा श्रद्धालुहरु विभिन्न भाकल पूरा भएपछि पशु बलि दिने गर्छन्।

९. मूर्तिया


सर्लाही जिल्लामा रहेको मूर्तियाको ऐतिहासिक महत्व रहेको छ। कर्णाट वंशीय राजाको राजधानी सिमरौनगढसग यसको सम्बन्ध रहेको छ। यो स्थलमा केही वर्षअघि पुरातत्व विभागले उत्खनन गर्दा धेरै मूर्तिहरु प्राप्त भएको थियो। ऐतिहासिक मूर्तिहरु भेटिएका कारण यो स्थानको नाउँ मूर्तिया राखिएको जानकारी इतिहासवि्द डा. रामदयाल राकेशले बताउँछन्।

यो स्थानमा भेटेका मूर्तिहरुलाई सुरक्षित स्थानमा राखिएको छ। सो मन्दिरमा माघ १ गते विशेष मेला लाग्ने गर्छ। सर्लाही जिल्लाको ठूलो बजार मध्येका बरहथवा नजिक रहेका कारण पनि व्यापारिक कामले बरहथवा पुग्नेहरु पनि मूर्तिया एक पटक पुग्ने नै गर्छन्।

१०. छिन्नमस्ता


सप्तरीको छिन्नमस्ता नगरपालिकाको सखडा गाउँमा छिन्नमस्ता भगवतीको मन्दिर छ। विभिन्न भाकलसहित छिन्नमस्ता भगवतीमा पुग्दा भाकलहरु पूरा हुने गरेको मान्यता रहेकोले यहाँ नेपाल र भारतका श्रद्धालुहरुमा ठुलो संख्यामा आउने गर्दछन्।

छिन्नमस्तामा दशैँको समय ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको छिन्नमस्ता भगवतीको मन्दिरको इतिहास सिम्रौनगढको इतिहाससँग जोडिएको छ।

किम्वदन्ती अनुसार सन् १०९७ मा मुस्लिम शासकहरुले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव ज्यान बचाएर पाटलीपुत्र (पटना) हुँदै मिथिला आइपुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरेका थिए।

नान्यदेव वंशको पाँचौँ पुस्तामा शक्र सिंह देव राजा भए। शक्र सिंह आफ्नो नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी पुगे। त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवतीको प्रतिमालाई आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नै नामबाट देवीको नाउँ शक्रेश्वरी राखेको मान्यता छ।

पछि अपभ्रंस भएर सो स्थानको नाउँ नै सखडा रहन गयो। केही वर्ष पहिलासम्म सखडेश्वरी भगवतीकै नामले नै त्यहाँ त्यहाँ पूजा गरिन्थ्यो। भगवतीको प्रतिमामा शीर नभएकोले पछि छिन्नमस्ता भगवती नामाकरण गरियो।

सखडा भगवतीको मूर्तिलाई सूक्ष्म रूपले हेर्दा तीन वटा टुक्रा मिलाएर स्थापित गरिएको जस्ताे देखिन्छ। सन् १३२८ मा गयासुद्धिन तुगलकले तिरहुतमाथि आक्रमण गरेका थिए। जसको फलस्वरूप सिम्रौनगढ ध्वस्त भयो।

सिम्रौगढका मूर्तिहरू समेत अहिले पनि फुटेकै अवस्थामा छन्। यस प्रकार सखडा भगवतीको मूर्ति पनि त्यहीबेलाको आक्रमणमा फुटेको हुनसक्ने इतिहासकारहरु भनाइ छ।

छिन्नमस्ता भगवतीको मन्दिर हिन्दुहरु झैँ मुस्लिम समुदायका लागि पनि त्यतिकै आस्थाको केन्द्रको रुपमा रहेको छ।

माघ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्