चीनमा रहस्यमयी भाइरसको संक्रमण

रहस्यमयी भाइरसका कारण चीनमा धेरै मानिस संक्रमित भएका छन् । पहिचान नभएको भाइरसका कारण संक्रमित हुनेको संख्या चीन सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांक भन्दा निकै धेरै रहेको वैज्ञानिकहरुले बताएका छन् ।

चीन सरकारले अहिलेसम्म प्रयोगशालामा भएका परीक्षणहरुबाट ४५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । तर बेलायती वैज्ञानिकहरुले भने पहिचान नभएको भाइरसका कारण संक्रमित हुनेको संख्या झण्डै १७ सय रहेको अनुमान गरेका छन् ।

गएको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक देखिको सो संक्रमणका कारण अहिलेसम्म दुईजनाको मृत्यु भएको थाहा भएको छ । सिंगापुर र हङकङले वुहान हुँदै आउने हवाई यात्रुको स्क्रिनिङ गर्ने गरेको छ ।

यस्तै अमेरिकाले शुक्रबारदेखि यस्तै प्रक्रिया सुरुगरेको छ । सन फ्रान्सेस्को, लस एन्जलस र न्यूयोर्कका प्रमुख विमानस्थलमा वुहान हुँदै आएका यात्रुको स्क्रिनिङ्ग सुरु भएको हो ।

चीनको वुहानमा संक्रमण बढी फैलिएको भए पनि थाइल्याण्डमा दुई तथा जापानमा एकजनामा संक्रमण पुष्टि भएको छ । चिनियाँ अधिकारीले सो भाइरस मानिसबाट मानिसका सरेको नपाइएको दाबी गरेका छन् । संक्रमित पशु तथा समुद्री परिकार तथा वुहानका जंगली जनावरका बजारबाट संक्रमण भएको चिनियाँ दाबी छ ।

संक्रमित व्यक्तिबाट लिएको नमूना परीक्षण गरी चीनको स्वास्थ्य संगठनले सो भाइरस कोरोना भाइरस रहेको बताएको छ । अहिलेसम्म कोरोना भाइरसको समूहमा विभिन्न ६ प्रकारका भाइरस छन् । नयाँ भाइरस आएसँगै सो समूहमा सात भाइरस भएका छन् । यो भाइरसका कारण रुघा लाग्ने, स्वासप्रस्वासमा समस्या हुने गर्छ ।

माघ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्