निर्भयाकी आमाले भनिन् ‘भगवानले नै आएर भने पनि दोषीलाई माफ गर्दिनँ’

निर्भयाकी आमा आशा देवीले भारतीय सर्वोच्च अदालतकी वरिष्ठ अधिवक्ता इन्दिरा जयसिंहलाई कडा जवाफ फर्काएकी छन् ।

सर्वोच्चकी वरिष्ठ अधिवक्ता जयसिंहले आउँदो फेब्रुअरी १ मा फासी दिइने तय भएका निर्भया केसका दोषीलाई माफी दिन सुझाव दिँदै ट्वीट गरेकी थिइन् ।

निर्भया कि आमा आशा देवीले समाचार एजेन्सी एनएनआईसँग कुरा गर्दै भनेकी छन्, ‘इन्दिरा जयसिंह को हुन्, जसले मलाई सुझाव दिइरहेकी छन् ? पूरै देश चाहन्छ कि दोषीलाई फासी दिइयोस् । उनी जस्ता व्यक्तिका कारण बलात्कार पीडितले न्याय पाउँदैनन् ।’

वरिष्ठ अधिवक्ता इन्दिरा जयसिंहले ट्वीटमा लेखेकी थिइन्, ‘म आशा देवीको पीडा बुझ्छु, तर पनि अपिल गर्छु कि सोनिया गान्धीले देखाएको उदाहरणको मार्गमा तपाईँ पनि चल्नु होस्, सोनिया गान्धीले नलिनीलाई माफ गर्दै भनेकी थिइन् कि उनलाई मृत्युदण्ड नदिइयोस् । हामी तपाईँ (आशा देवी) को साथमा छौँ, तर मृत्युदण्डको पक्षमा होइन ।’

यसको जवाफमा निर्भयाकी आमाले भनेकी छन्, ‘विश्वास लाग्दैन कि इन्दिरा जयसिंहले यस्तो सुझाव दिने आँट गरिन् । सर्वोच्च अदालतमा जाँदा धेरै पटक उनीसँग मेरो भेट भएको छ । उनले मेरो अवस्था कस्तो छ भनेर कहिल्यै सोधिनन् । र आज उनी दोषीको हितका लागि बोल्दै छिन् । यस्ता व्यक्तिको जीविका नै बलात्कारीको समर्थन गरेर चल्छ, त्यसैले त बलात्कारका घटना रोकिँदैनन् ।’

भगवान नै आएर भने पनि आफूले दोषीलाई माफ नगर्ने आशा देवीले बताएकी छन् ।

सन् २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कार घटनामा निर्भयाको मृत्यु भएको थियो । सो घटनाका दोषीलाई आउँदो फेब्रअरी १ मा बिहान ६ बजे मृत्युदण्ड दिने समय निर्धारण भएको छ ।

माघ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्