यात्रुबाहक सवारी साधनमा आइतबारदेखि टाइम कार्ड

झापा– जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी दुर्घटना न्यूनीकरण गर्न आइतबारदेखि यात्रु बोक्ने सार्वसजनिक सवारी साधनमा टाइम कार्ड लागू गर्ने भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सरोकारवाला सबै पक्षको सहमतिमा टाइम कार्ड लागू गर्न लागिएको हो।
यातायात व्यवसायी तथा मजदुर पनि टाइम कार्ड लागू गर्न सहमत भएका झापाका ट्राफिक प्रहरी प्रमुख होम अधिकारीले जानकारी दिए।
उनले भने, ‘उहाँहरुले नै उक्त निर्णयको माइन्युट गर्नुभएको छ। यो नियम कडाईका साथ लागु हुन्छ।’
उक्त टाइम कार्ड झापा जिल्लाभरका लागि हुनेछ। पूर्वीद्वार काँकरभिट्टाबाट छुटेको यात्रुवाहक सवारी साधनले विर्तामोडसम्म आइपुग्नका लागि न्यूनतम ३० मिनेट लगाउनु पर्नेछ। त्यसको चेकिङ विर्तामोडमा हुनेछ। त्यसपछि विर्तामोडदेखि झापाको पश्चिम क्षेत्र दमक पुग्न न्यूनतम ५५ मिनेट लगाउनु पर्नेछ।
ट्राफिक प्रहरी प्रमुख अधिकारीले भने, ‘तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुगे कारवाही गर्छौं। जरिमान लगायत अन्य कारवाही पनि गर्छौं।’
टाइम कार्ड लागू गरिएसँगै तीव्र गतिमा हुइँकिने सवारी आफैं नियन्त्रित हुने अधिकारीको भनाइ छ। दुर्घटना न्यूनीकरणका लागि राडरगनको प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी चलाउन पूर्णरुपमा रोक, सवारी चालक अनुमति पत्र नहुनेलाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाए पनि त्यसले मात्र पर्याप्त नभएपछि सवारी दुर्घटनाका लागि टाइम कार्ड लागू गर्न लागिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ।
चालू आर्थिक वर्षको साउन महिना यता सवारी दुर्घटनामा परी झापामा ३९ जनाले ज्यान गुमाएका छन्। पूर्वको सीमाना काँकरभिट्टादेखि पश्चिमको सीमाना मावा खोलासम्मको ५५ किलोमिटर क्षेत्रफल र सहायक सडक–खण्डमा भएका सवारी दुर्घटनामा परी दुई सय जनाभन्दा बढी घाइते भए। घाइतेमध्ये केही घर फर्किए। अहिले पनि धेरै दुर्घटनाका घाइते अस्पतालमा उपचाररत छन्। उपचारमा रहेकामध्ये अधिकांशको अवस्था गम्भीर छ।
यो अवधिमा जिल्लामा १४ वटा बस, २७ वटा ट्रक, २५ वटा जिपकार, ७९ वटा मोटरसाइकल, २ वटा टेक्टर, १६ वटा टेम्पो, २१ वटा साना सवारी, र एउटा अन्य गरी २ सय ३ वटा सवारी दुर्घटनामा परेका छन्। दुर्घटनामा परेका मध्ये २८ जना पुरुषको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सबै ठूला सवारी साधनका अगाडिपट्टि क्यामेरा जडानका लागि यातायात व्यवसायीसंग कुरा गरिसकिएको छ। त्यो पनि चाँडै लागू गरिने ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए।