रियल मड्रिड पुग्यो शीर्ष स्थानमा, बार्सिलोना पछि पर्‍यो

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लालाई पराजित गरेर रियल मड्रिड बार्सिलोना भन्दा अघि पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सेभिल्लामाथि २–१ को जित दर्ता गरेको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । दोस्रो हाफमा दुई तर्फबाट गरी तीन गोल भएको हो ।

रियल मड्रिडका लागि दुवै गोल कासेमिरोले गरेका हुन् । उनले ५७ र ६९ औँ मिनेटमा गोल गरे । सेभिल्लाका लागि लुक डी जोङ्गले ६४ औँ मिनेटमा एक गोल फर्काएका हुन् । जितपछि शीर्ष स्थानमा पुगेको रियल मड्रिडको २० खेलबाट ४३ अंक भएको छ ।

बार्सिलोनाले आइतबार राति ग्रानाडासँग हुने खेलमा जित निकालेमा अंक बराबरी गर्न सक्ने छ । अहिले बार्सिलोनाको १९ खेलबाट ४० अंक रहेको छ ।

शनिबार राति नै भएको खेलमा तेस्रो स्थानको एथ्लेटिको मड्रिड एइबरसँग २–० ले पराजित भयो । पराजित भएको एथ्लेटिको मड्रिड २० खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ ।

अरु खेलमा एलाभेसले लेभान्टेलाई १–० ले हरायो भने ओसासुना र रियल भालाडोलिडले गोलरहित बराबरी खेले ।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्