राजकीय जिम्मेवारीबाट मुक्त भए ह्यारी

राजकुमार ह्यारी र मेगन अब बेलायती राजपरिवारका सक्रिय सदस्य रेहनन्

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले अबदेखि हिज/हर रोयल हाइनेस (एचआरएच) सम्बोधन प्रयोग नगर्ने भएका छन् ।

यस्तै राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने बेलायती राजदरबार बकिङ्गहम प्यालेसले जानकारी दिएको छ । यस्तै ह्यारी र मेगनले अबदेखि औपचारिक रुपमा महारानीको प्रतिनिधित्व गर्ने छैनन् ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने जनाइएको छ ।

फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ । यो वर्षको बसन्तमा भएको प्रयासपछि नयाँ व्यवस्थापन निस्किएको राजदरबारले जनाएको छ ।

गएको सोमबार बेलायती राजपरिवारका उच्च सदस्यहरुको बैठक सान्ड्रिङ्घममा भएको थियो । सो बैठकमा ह्यारी र मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा छलफल भएपछि दरबारको यो वक्तव्य आएको हो । सोमबारको भेटमा महारानी एलिजाबेथ, राजकुमार ह्यारी ह्यारीका पिता राजकुमार चाल्र्स (प्रिन्स अफ वेल्स) तथा दाइ राकजुमार विललियम (ड्युक अफ क्याम्ब्रिज) पनि उपस्थित थिए ।

द ड्युक एण्ड डचेज अफ ससेक्स (राजकुरमा ह्यारी र उनकी पत्नि मेगन) ले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएका थिए ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले ‘सिनियर’ राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा जनवरी ८ मा गरेका हुन् । उनीहरुले वित्तिय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको पनि उल्लेख गरेका थिए ।

महारानी एलिजाबेथले शनिबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘विगत केही महिनादेखिको संवाद र पछिल्लो छलफलपछि हामीले मेरो नाती र उसको परिवारका लागि एकीकृत रुपमा रचनात्मक र सहयोगात्मक मार्ग फेला पारेका छौँ ।’

वक्तव्यमा भनिएको छ, ‘ह्यारी, मेगन र आर्ची जहिले पनि मेरो परिवारका अति प्रिय सदस्य रहने छन्।’

महारानीले वक्तव्यमा भनेकी छन्, ‘पछिल्लो दुई वर्षमा भएको उनीहरुमाथिको गम्भीर निगरानीबाट उनीहरुले भोग्नु परेको समस्या मैले बुझेकी छु र अधिक स्वतन्त्र जीवन बिताउने उनीहरुको चाहनालाई समर्थन गर्छु ।’

महारानीले वक्तव्यमा भनेकी छन्, ‘यो देशका लागि उनीहरुले पूर्ण लगनका साथ गरेको कामका लागि म धन्यबाद दिन चाहन्छु । र विशेष गरी मेगनप्रति मलाई गर्व छ कि उनी अति चाँडो एक परिवार बनिन् । मेरो पूरै परिवार आशा गर्छ कि आजको यो सहमतिले उनीहरुलाई खुशी र शान्तिपूर्ण नयाँ जीवनको निर्माणको सुरुवात गर्नेछ ।’

औपचारिक रुपमा ससेक्सले महारानीको प्रतिनिधित्व नगर्ने भए पनि उनीहरुले गर्ने सबै काम महारानीको मूल्य अनुसारकै हुने जनाइएको छ । उनीहरुले अब एचआरएच प्रयोग नगर्ने र राजपरिवारका सक्रिय सदस्य पनि नरहेको वक्तव्यमा उल्लेख छ ।

राजकुमार ह्यारी र मेगनका लाग सुरक्षाको व्यवस्था कस्तो गरिने छ भन्ने दरबारले खुलाएको छैन ।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्